ad ad

कारोबार


मर्जरले सीमित घरानाको नियन्त्रणबाहिर गएकै हुन् त बैंक? कुन घराना कता?

मर्जरले सीमित घरानाको नियन्त्रणबाहिर गएकै हुन् त बैंक? कुन घराना कता?

दीपक भट्ट
माघ १४, २०७९ शनिबार १८:४९, काठमाडौँ

यो वर्ष ठूला बैंकहरूबीचको मर्जरले तीव्रता पायो। १२ वाणिज्य बैंक यही वर्ष मर्जरमा गए। 

चालू आर्थिक वर्ष सुरु हुनै लाग्दा नबिल र नेपाल बंगलादेश (एनबी) बैंकले मर्जरको सुरुवात गरे। दुई बैंकले गत असार २८ बाट एकीकृत कारोबार नै थालेका थिए। 

त्यस्तै यो वर्ष दोस्रो मर्जरमा जानेमा कुमारी र एनसीसी बैंक रहे। गत असोजमा मर्जर सम्झौता गरेका यी बैंकले गत पुस १७ देखि एकीकृत कारोबार सुरु गरिसकेका छन् भने ग्लोबल आईएमई र बैंक अफ काठमाण्डुले पनि पुस २५ बाट एकीकृत कारोबार गरेका छन्। 

यता गत जेठ २७ मै आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता गरेका नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले पनि पुस २७ बाट एकीकृत कारोबार सुरु गरिसकेका छन्।

त्यसैगरी सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंक पनि गत पुस २६ देखि एक भएका छन् भने इन्भेष्टमेन्ट बैंकसँग मर्जर तोडिएपछि हिमालयन बैंकले नयाँ जोडीको रुपमा सिभिल बैंकलाई लिएको छ। दुई बैंकले गत असार २९ गते मर्जरको प्रारम्भिक सम्झौता गरेका थिए। मर्जरको सम्झौताअनुसार हिमालयन र सिभिल १००ः८१ को सेयर स्वाप रेसियोमा गाभिँदै छन्। यी दुई बैंकबीच यही माघ १८ मा एकीकृत कारोबार हुँदै छ। 

त्यस्तै लक्ष्मी र सनराइज बैंकले पनि मर्जरमा जाने समझदारी गरेका छन्। योसँगै बैंकिङ क्षेत्र अब विस्तारै सीमित घरानाको नियन्त्रणबाट बाहिर जानलागेको रुपमा हेरिनथालेको छ। 

यतिधेरै बैंक परस्पर गाभिँदा बैंकहरुमा रहेको सीमित समूहको नियन्त्रण छरिने राष्ट्र बैंकको दाबी छ। 

गभर्नर महाप्रसाद अधिकारी पनि यी मर्जरले बैंकहरूलाई अब सीमित घरानाको नियन्त्रणबाट थोरै भए पनि बाहिर निकाल्ने बताउँछन्। 

उनले भने, ‘मर्जरको नीति राष्ट्र बैंकले धेरै मिहिनेत र रणनीतिक हिसाबले बनाएको अवस्था हो। मर्जरले कुनै एउटा निश्चित बैंकमा कुनै एउटा व्यावसायिक घरानाको कन्ट्रोल थियो भने अब अर्को बैंक मर्जर हुँदा एउटा व्यावसायिक घरानाको एकल नियन्त्रण घटेर गएको छ। त्यो थोरै भए पनि छरियो। राष्ट्र बैंकको उद्देश्य बैंकिङ प्रणाली वा बैंकहरूमा सुशासन कायम गर्न थप सहयोग पु¥याउँछ भन्ने हो।’

यसबाहेक गभर्नर अधिकारी संस्थाहरू धेरै भएर एक्सेस (पहुँच) धेरै हुने भन्ने नहुने बताउँछन्। तथ्यांकमा जाने हो भने संस्था कम हुँदा बढी एक्सेस भएको पाइने उनको भनाइ छ। 

‘मर्जर नीतिले एक्जिस्टिङ सेयर होल्डर गुम्ने पनि होइन। उहाँहरू त्यहीभित्र नै छन्’, उनले भने। 

त्यसो त मर्जरपछि बैंकहरूको पुँजी क्षमता पनि स्वतः बढ्दै गएको छ। समग्रमा वित्तीय स्थायित्वको लागि ठूलो योगदान गरेका बैंकहरू मर्जरमा जानुको खराब पक्ष कमै रहेको गभर्नर अधिकारीको भनाइ छ। 

मर्जरका फाइदा धेरै
गभर्नर अधिकारी मर्जरको विभिन्न फाइदामध्ये कुनै १÷२ घरानाको नियन्त्रणमा रहेको बैंकमा धेरै घराना मिसिनु पनि एक भएको बताउँछन्। 

बैंक सीमित वर्गको नियन्त्रणबाहिर मर्जरको कारण पनि गएको उनको तर्क छ। अर्थात् धेरै घराना मिसिँदा एउटाले चाहेजसरी निर्णय गराउन नसक्ने र उनीहरूको मात्रै निर्णयमा एकल पहुँच नहुने उनको आशय हो। 

बैंक आफैँमा पब्लिकको समेत लगानी रहने क्षेत्र हो। यसमा आधा लगानी सर्वसाधारणको हुन्छ भने आधा मात्रै संस्थापक लगानी हुन्छ। 

बैंक तथा वित्तीय संस्था संस्थापना एवं वित्तीय कारोबार गर्ने इजाजतपत्रसम्बन्धी नीतिगत एवं प्रक्रियागत व्यवस्था २०६३  अनुसार बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने संस्थापक समूहले कम्तीमा ५१ प्रतिशत सेयर लगानी गर्नुपर्ने व्यवस्था छ।

बैंक÷वित्तीय संस्थाले आफ्नो कुल चुक्ता पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्रीवितरणको लागि छुट्याउनुपर्नेछ। 
यसरी छुट्याइएको सेयरमध्ये ५ प्रतिशतसम्म सेयर बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीको लागि छुट्याउनुपर्ने व्यवस्था समेत गरिदिएको छ। 

यसअनुसार लगानी गर्ने ठूला घरानाहरूको आधा स्वामित्वचाहिँ संस्थापक सेयर हुनसक्नेछ। 

कुन बैंकमा कुन–कुन घराना मिसिए? 
नबिल 

यो वर्ष बैंकहरु एकपछि अर्को गरी मर्जरमा सामेल हुँदा घरानाहरु पनि परस्परमा जोडिनपुगेका छन्। एनबी र नबिल बैंक मर्ज हुँदा बंगलादेशको एनबी इन्टरनेशनल मुख्य घराना अर्थात् लगानीकर्ताको रुपमा थप भएको छ। बैंकमा यसको ४० प्रतिशत स्वामित्व छ। 

त्यस्तै मर्जरपछि बनेको नबिल बैंकमा बंगलादेशकै अर्कोे लगानीकर्ता आईएफआईसी बैंक जोडिन पुगेको छ। उसको ८ प्रतिशत हाराहारीमा लगानी थपिएको छ। यो नेपाल बंगलादेश बैंक मर्ज हुँदा आएको लगानीकर्ता हो। 

यसबाहेक नबिलमा अन्य ठूला लगानीकर्ता चौधरी ग्रुपका सदस्य छन्। उनीहरुमध्ये पनि निर्वाणकुमार चौधरी, वरुण चौधरीको बढी सेयर स्वामित्व छ। 

प्रभु बैंक
त्यस्तै सेन्चुरी र प्रभु बैंक पनि यही वर्ष मर्ज भएका थिए। प्रभु बैंकमा सबैभन्दा ठूलो लगानी एमएस ग्रुपको छ। ग्रुप अध्यक्ष शशीकान्त अग्रवालका छोरा गौरव अग्रवालको ४ दशमलव ७१ प्रतिशत र प्रभु ग्रुपको ४ दशमलव ३१ प्रतिशत स्वामित्व छ। त्यसका अलवा सुदीप आचार्य, लक्की ग्रुप, नेपाल इनभेष्टमेन्ट प्रालि, शशिकुमार श्रेष्ठको पनि मुख्य लगानी छ। 

यता सेन्चुरीतर्फ भाटभटेनी सुपरमार्केट, सुचित्रा सिजापति, मनिकरत्न शाक्य, शारदा केसी, कर्मचारी सञ्चय कोष मुख्य लगानीकर्ता रहेका छन्। अब मर्जर भएसँगै प्रभु बैंकमा नयाँ घराना अर्थात् निर्णयमा फरक पार्न सक्ने व्यक्तिको रुपमा मीनबहादुर श्रेष्ठ आएका छन्। उनी भाटभटेनीका मालिक हुन्। 

नेपाल इन्भेष्टमेन्ट मेगा
त्यस्तै मेगा र इन्भेष्टमेन्ट बैंक मर्ज भएसँगै दुई बैंकका लगानीकर्ता एक ठाउँमा आएका छन्। 

मेगा बैंकमा रुपन्देहीको भुसाल ग्रुप, नागरिक लगानी कोष, गौरी श्रेष्ठ, शान्तकुमारी कंडेल, कमलराज उदय आदि मुख्य लगानीकर्ता छन्। त्यस्तै इन्भेष्टमेन्ट बैंकमा राष्ट्रिय बीमा कम्पनी, महालक्ष्मी इन्भेष्टमेन्ट, छायाँ इन्भेष्टमेन्ट, सोफिया इन्भेष्टमेन्ट, हिमालयन शमशेर राणा, पृथ्वीबहादुर पाँडे, खेतान ग्रुपलगायत मुख्य लगानीकर्ता छन्। मर्जरपछि बैंकमा भुसाल ग्रुपको प्रवेश भएको छ। 

ग्लोबल आईएमई
यता ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डु एक हुँदा लगानीकर्ता पनि थप भएका छन्। ग्लोबल आईएमई बैंकको मुख्य लगानीकर्तामा आईएमई होल्डिङ्स, आईमएई इन्भेष्टमेन्ट, सुमित कुमार अग्रवाल, विष्णु प्रसाद न्यौपाने, हेमराज ढकाल छन् भने बैंक अफ काठमाण्डुमा भने रणबहादुर शाह, डम्बरबहादुर मल्ल, कर्मचारी सञ्चय कोष, रिता मल्लको मुख्य लगानी छ। शाह र मल्ललगायतलाई ग्लोबल आईएमई बैंकको निर्णयमा प्रभावित पार्न सक्ने व्यक्तिको रुपमा लिइएको छ। 

कुमारी 
त्यस्तै कुमारी र एनसीसी मर्जरपछि पनि बैंकको नामचाहिँ कुमारी नै रहेको छ। कुमारी बैंकको मुख्य लगानीकर्ता अमिर प्रताव जबरा हुन्। बैंकमा उनको ३ दशमलव ६० प्रतिशत सेयर छ। त्यस्तै कर्मचारी सञ्चय कोष, भाटभटेनी सुपरमार्केट, एमएस ग्रुपकै विमलादेवी अग्रवाल, मुरारका ग्रुपलगायतको मुख्य लगानी छ। यता एनसीसी बैंकमा एनबी ग्रुप अर्थात् लक्ष्मीबहादुर श्रेष्ठको परिवारको मुख्य लगानी छ। यसबाहेक हरिभक्त शर्मा, भेषराज लोहनीलगायतको समेत मुख्य लगानी छ। अब कुमारी बैंकमा एनबी ग्रुप, हरिभक्त शर्माको आगमनले राणा परिवारको निर्णयमा केही फरक पर्नसक्नेछ।  

सिभिल–हिमालयन
मर्जरको अन्तिम तयारीमा रहेका अन्य बैंकहरुमा सिभिल र हिमालयन छन्। हिमालयन बैंकमा पाकिस्तानी बैंक हबिबको धेरै सेयर छ। हबिब बैंकले सेयर बिक्री गर्न चाहे पनि बिक्री भएको छैन। त्यसका अलावा कर्मचारी सञ्चय कोष, आभा इन्भेष्टमेन्ट, शशिकान्त अग्रवाल, अन्जु खेतान, छायाँ इन्भेष्टमेन्टलगायतको लगानी छ। 

यता सिभिल बैंकमा कर्मचारी सञ्चय कोषसँगै व्यवसायीहरु प्रदीपजंग पाण्डे, इच्छाराज तामाङलगायतको मुख्य लगानी छ। यसरी हेर्दा प्रदीपजंग पाण्डे, इच्छाराज तामाङलगायतका व्यवसायी हिमालयन बैंकमा प्रवेश हुँदै छन्। योसँगै बैंकबारे हुने महत्वपूर्ण निर्णयमा उनीहरुको बलियो उपस्थिति हुने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .