कारोबार


चीनसँगको आर्थिक सम्बन्ध पुनर्स्थापित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

चीनसँगको आर्थिक सम्बन्ध पुनर्स्थापित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

नेपालखबर
माघ ५, २०७९ बिहिबार १३:५५, काठमाडौँ

नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरको अध्यक्षतामा गएको संघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार बालुवाटारमा भेट गरी बधाई तथा शुभकामना प्रकट गरेको छ।

भेटमा संघको प्रतिनिधिमण्डलले नेपाल र चीनबीचको आर्थिक सम्बन्ध विस्तार गर्नुपर्ने तथा यसका लागि सरकारले पहल गर्नुपर्ने विषयमा विभिन्न सुझाव दिएको छ। संघका अध्यक्ष तुलाधरले चीनसँगको स्थल नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याइनुपर्ने तथा वस्तु आयातसँगै पर्यटकका लागि पनि नाका खुला गर्ने सम्बन्धमा सरकारले चिनियाँ पक्षलाई सहमत गराउनुपर्ने सुझाव दिए।

द्विपक्षीय व्यापार अभिवृद्धिमा भुक्तानीको समस्या भइरहेका कारण नेपालमा चिनियाँ बैंकको शाखा स्थापना गर्नुपर्ने तथा यसबाट व्यापार र लगानी वृद्धिमा सहयोग पुग्ने अध्यक्ष तुलाधरले प्रधानमन्त्रीसमक्ष उल्लेख गरे।

चिनियाँ नागरिक नेपाल भ्रमण गर्न इच्छुक भए पनि पर्याप्त संख्यामा हवाइ उडान नभएकाले चीनका विभिन्न सहरबाट काठमाडौं, पोखरा र भैरहवा विमानस्थलमा उडानको व्यवस्था गर्न संघले माग गरेको छ। यस्तै, चीनमा बढ्दो बुद्धमार्गीहरुको संख्यालाई लक्षित गरी लुम्बिनी भ्रमणका निमित्त सहजीकरणका कार्यक्रम ल्याउन तथा चिनियाँहरुको भ्रमण गन्तव्यका रुपमा नेपाललाई अघि सार्न सरकारले कार्यक्रम ल्याउनुपर्ने संघको माग रहेको छ ।

नेपाली वस्तुको चीनतर्फ निकासी वृद्धिका लागि भन्सार नाकामा क्वारेन्टाइन तथा दुवै मुलुकको मान्यताप्राप्त ल्याब स्थापना गर्नुपर्ने एवं भन्सार नाकामा रहेको कोटा प्रणाली हटाई पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने संघले प्रधानमन्त्रीसमक्ष माग राखेको छ ।

प्रधानमन्त्री प्रचण्डले कोभिड महामारीपछि चीनले बाह्य मुलुकसँगको सिधा उडान र व्यापारिक सम्बन्ध सुचारु गरिसकेको उल्लेख गर्नुहुँदै त्यसबाट नेपालले लाभ लिनसक्ने वातावरण निर्माणका लागि पहल गर्ने उल्लेख गरे।

प्रधानमन्त्रीले कोभिडयता कमजोर बन्दै गइरहेको चीनसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई पुनर्स्थापित गर्ने प्रतिबद्धता समेत जनाएका छन्। चीनबाट नेपालमा अधिक संख्यामा पर्यटक भित्र्याउने तथा लगानी र व्यापारिक सम्बन्ध समेत विस्तार सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ।

प्रधानमन्त्रीसँगको भेटमा संघका अध्यक्ष तुलाधरसहित निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ तथा कार्यकारी समितिका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad