ad ad

कारोबार


मन्त्री बने हङकङे लाहुरेका छोरा सुदन किराँती

मन्त्री बने हङकङे लाहुरेका छोरा सुदन किराँती

वसन्त अर्याल
माघ ३, २०७९ मंगलबार १४:८, काठमाडौँ

तीनपटक सांसद बनेपछि सुदन किराँती मन्त्री बनेका छन्। 

२०६४ मा पहिलोपटक सांसद बनेका किराँती हाल प्रचण्ड नेतृत्वको सरकारका मन्त्री बनेका हुन्। 

४३ वर्षका किराँती भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचित हुँदै आएका छन्। नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य उनी राजकाजमा अवसर नपाउने नेताको रुपमा चिनिँदै आएका थिए। 

सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका हुन्। 

यो मन्त्रालय बेलाबखत विभिन्न कारणले विवादमा तानिँदै आएको छ। यस्तोमा मन्त्री बनेका किराँतीलाई भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाउनु चुनौतीपूर्ण हुनेछ। 

भारतसँग संवाद गरी भैरहवा र नेपालगन्जबाट हवाइ प्रवेश विन्दुमा सहमति गराउन उनले महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ। 

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) सञ्चालन गर्न समेत भारतसँग अनुमति लिनुपर्नेछ। 

यी काममा चलाखी नेतृत्व गर्नसके उनले उड्डयनमन्त्रीको रुपमा महत्वपूर्ण सफलता हात पार्नेछन्। 

उनको अर्को चुनौती भनेको कोभिड महामारीको कारण नकारात्मक प्रभाव परेको पर्यटन क्षेत्रलाई उठाउने र सम्बद्ध निजी क्षेत्रसँग समन्वय गरी काम गर्ने हो। 

पुनरुत्थान हुँदै गएको पर्यटन क्षेत्रमा विदेशी पर्यटक बढाउन उनको महत्वपूर्ण नेतृत्वशैली काममा देखिनुपर्नेछ।

सुदनले शपथग्रहण गरेसँगै पेरिस डाँडा केन्द्रीय कार्यालयमा सहिदलाई सम्मानपछि मात्रै मन्त्रालयमा जिम्मेवारी सम्हालेका छन्।

मन्त्री बन्नासाथ सुनाए बुबालाई खबर 
किराँतीले मन्त्री पक्का भएसँगै आफ्ना बाबुलाई सबैभन्दा खबर सुनाएका थिए। बुबासँगको संवाद सामाजिक सञ्जालमा समेत राखेका छन्। 

‘बुबा म मन्त्री हुने भएछु’, छोराको भनाइमा बुबाले अचम्म मान्दै भने, ‘हँ? होइन, कुन मन्त्री? होइन सपना हो कि विपना ?’

उनले भने, ‘हो बुबा साँच्चै विपना नै हो।’

बाबुले भने, ‘राम राम! म उहिले फोक्लेण्डको लडाइँमा मरेको भए यो दिन देख्न र सुन्न पाउँदिनथेँ।’

सुदनले भने, ‘म पनि जनयुद्धमा मरेको भए पनि त्यस्तै त हो।’

को हुन् सुदन किराँती?
पहिलोपटक मन्त्री बनेका किराँती २०३५ मा भोजपुरको ओख्रेमा हर्कबहादुर साई र आमा रक्षा कुमारीको कोखबाट जन्मिएका हुन्। बेलायती लाहुरेका छोरा किराँती हङकङमा जन्मेर ब्रुनाईमा हुर्किएका हुन्।

उनी परिवारसँगै भोजपुर फर्किएर राजनीतिमा क्रियाशील भएका थिए। उनले एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए। 

५ कक्षामा पढ्दादेखि नै अखिलको राजनीति सुरु गरेको सुदन बताउँछन्। ८ कक्षामा पढ्दा उनी अखिलकै प्रारम्भिक कमिटीको अध्यक्ष भइसकेका थिए।

किराँतीले एमाले भ्रातृ संगठन छाड्नु रोचक रहेको छ। २०५४ सालमा भोजपुर क्याम्पस पढ्न गएको पहिलो दिन नै नेविसंघका कार्यकर्ताले हातपात गरेसँगै उनले अखिल छाडेका थिए।

त्यसपछि उनी गोपाल किराँती नेतृत्वको खम्बुवान मुक्ति मोर्चामा लागे। खम्बुवानमा लागेर उनी भूमिगत भएका थिए। २०६० मा मुक्ति मोर्चा माओवादीसँग एक भएसँगै सुदन फेरि माओवादी बने। 

२०६१ सालमा सगरमाथा–जनकपुर क्षेत्रीय ब्युरो सदस्य भएका सुदन त्यही वर्ष सिरहामा पक्राउ परेपछि जेलमा थुनिए। उनी २३ महिनापछि अर्थात् जनआन्दोलनपछि मात्रै छुटे।

२०६३ मा धनकुटा जिल्ला अध्यक्ष बनेका सुदन त्यही वर्षको ७ महिनापछि किराँत राष्ट्रिय मुक्ति मोर्चाको महासचिव भए। २०६९ सालमा सोही मोर्चाको अध्यक्ष बनेका सुदन २०७० मा भोजपुर जिल्ला अध्यक्ष, २०७२ सालमा एमाओवादीको पोलिटब्युरो सदस्य र भोजपुर इन्चार्ज बने।

सुदनले २०६४ सालको संविधानसभा निर्वाचनमा शेरधन राईलाई हराएका थिए। २०७० मा शेरधनसँग हारेका उनी २०७४ मा भोजपुरबाटै संघीय संसदमा निर्वाचित भए। 

२०७४ मा वाम गठबन्धन हुँदा राई प्रदेश १ बाट सांसद बनी मुख्यमन्त्री बनेका थिए। २०७९ मा पूर्वमुख्यमन्त्री शेरधन राईलाई हराएर सांसद बने। सुदनको घर भोजपुरको रामप्रसाद राई गाउँपालिकास्थित ओख्रेमा छ। उनले भोजपुरबाट २०७४ मा भएको संघीय संसदको निर्वाचन जिते।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .