कारोबार


टेलिकमले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने

टेलिकमले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने

नेपालखबर
पुस २९, २०७९ शुक्रबार ६:२२, काठमाडौँ

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८÷७९ को मुनाफा रकममध्येबाट प्रति सेयर ४० रुपैयाँका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ। बिहीबार सम्पन्न कम्पनीको पन्ध्रौँ वार्षिक साधारणसभाले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। 

उक्त सभाले आर्थिक वर्ष २०७८/०७९ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ। 

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव २०७९/८० का लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट महेशकुमार गुरागाईं र पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिकसमेत तोकेको छ। 

सोही अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले प्रतिवेदन प्रस्तुत गर्दै कोभिड–१९ को महामारी तथा त्यसको प्रभाव र असरकाबीच कम्पनीले सापेक्षित सफलता पाएको उल्लेख गरे। 

उनले भने, “आर्थिक वर्ष २०७८/७९ मा आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कूल रु ४४ अर्ब ३७ करोड राजस्व आम्दानी गरी रु आठ अर्ब ४७ करोड खुद नाफा गर्न सफल भएको छ। यो नाफा गत वर्षकोभन्दा रु एक अर्ब ३५ करोडले बढी हो, यसै आवमा कम्पनीले कर तथा शुल्कबापत आफ्नो कूल आयको ५९.५२ प्रतिशत अर्थात् रु २६ अर्ब ४१ करोड राजस्वका रुपमा नेपाल सरकारलाई बुझाएको छ।”

अध्यक्ष अर्यालले प्रत्येक नागरिक, उद्योग व्यवसाय तथा सरकारी क्षेत्रका लागि आधारभूत आवश्यकताका रुपमा स्थापित हुँदै गरेको सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीई प्रविधिमा आधारित भोल्टे सेवा तथा एफटीटीएच सेवा विस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणमा तीव्रता दिएकाले २०७९ असारसम्ममा देशका ७३५ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएको उल्लेख गरे। साधारणसभाले पारित गरेको लाभांश रकम एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad