कारोबार


पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’

पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’

तिलाचन ताल


डम्मर बुढामगर
पुस २२, २०७९ शुक्रबार २०:१४, ढोरपाटन

बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ - तिलाचन ताल। चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो। उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भूभाग छ। तलतिर घना जङ्गल। यहाँबाट देखिने मनमोहक दृश्य साँच्चिकै मन लोभ्याउने छन्। 

दुई जिल्लाको सङ्गमस्थलमा रहेको तिलाचन ताल आधा दशक अगाडिसम्म ओझेलमा थियो । ताल उच्च पहाडको शिरमा हुँदा बागलुङ र रोल्पाका सीमा क्षेत्रका स्थानीयबाहेक बाहिरी मान्छे यहाँ पुग्न सकेका थिएनन्। खासगरी यो ठाउँलाई गोठालाको बसोबास गर्ने र चरन क्षेत्रका रूपमा लिइन्छ। तीन वर्ष अगाडि मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि मात्रै तिलाचन ताल चर्चामा आएको हो। 

तालमा बागलुङ, पूर्वीरुकुम र रोल्पाको सिमाना पातिहाल्नेबाट आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने हुँदा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढेको हो। ताल रोल्पामा परे पनि बागलुङबाट नजिक पर्छ। ताल सुनछहारी गाउँपालिका–१ मा पर्छ तर त्यतापट्टितिरबाट सडक सञ्जालले नजोडिँदा रोल्पालाई अपायक पर्छ। तालसँग बागलुङको निसीखोला गाउँपालिका–६ जोडिएको छ। बागलुङतिरबाट राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पुगेको हुँदा तालमा पुग्न सहज छ। 

लोकमार्गका कारण दैनिक पर्यटक निसीखोला हुँदै जाने हुँदा पातीहाल्नेमा व्यापार व्यवसायसमेत बढ्न थालेको छ। यस ताललाई पहिले गोठालाले ‘तिलाचन दह’ भन्ने गरेको निसीखोला गाउँपालिका–६ का भेडापालक टीकाराम घर्तीमगरले बताए। उनले लोकमार्गको स्तरोन्नतिपछि यस ठाउँमा बाहिरी मान्छे आउन थालेको जानकारी दिँदै पछिल्लो समय यहाँ आउनेको सङ्ख्या बढेको बताए। 

टीकाराम भन्छन्, ‘तिलाचन क्षेत्र भेडाबाख्रा चराउने ठाउँ हो, बर्खाको चार महिना पूरै यहीँ बिताउँथ्यौँ, अहिले पनि असार साउनतिर यतै बस्छौँ, हामी यही तालको पानी खान्छौँ।’ उनी सडकका कारण गोठालाको बसोबास गर्ने ठाउँ र पानी भर्ने दह पर्यटकीय गन्तव्य बन्दै गएको बताउँछन्। अहिले पनि यहाँ दुई जिल्लाका गोठालाले वस्तुभाउ चराउने घर्तीमगरको भनाइ छ। उनले विकासले गति लिँदै गएपछि यस ठाउँले मुहार फेर्दै गएको बताए। अहिले गोठालाको दिनचर्यासमेत फेरिँदै गएको घर्तीमगर बताउँछन्। 

‘जमाना फेरिए, मोटर गाडी आउन थाले, पहिले हामी घरबाट खर्चपर्च लिएर तालसम्म आउन चार घण्टा पूरै लाग्यो, अहिले पातीहाल्नेसम्म आधा घण्टामा, त्यहाँबाट तालसम्म हिँडेर आधा घण्टा लाग्छ’, उनले भने, ‘ताललाई व्यवस्थित बनाइएको छ,  तालको छेउमा पहिले ढुङ्गा राखेर पूजा गर्थे, अहिले मन्दिर निर्माण गरिएको छ।’

स्थानीय देवीकुमारी बुढामगरले पछिल्लो तालमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको बताइन्। बुढामगर बिदाको दिन अझ बढी मान्छे घुम्न आउने गरेको बताउँछिन्। केही दिनयता चिसो बढेका कारण आगन्तुक घटेको बुढामगरको भनाइ छ। चैतदेखि भदौसम्म पातीहाल्ने र तिलाचन तालमा आन्तरिक पर्यटकको भीडभाड हुने उनले बताइन्। 

‘केही दिनभयो चिसो धेरै बढेको छ, त्यही भएर होला मान्छे कम भएको, पानी परेर हिउँ पर्‍यो भने तालसम्म त मान्छे पुग्न सक्दैनन्, पातीहाल्नेसम्म हिउँ खेल्न आउँछन्, बाटो सजिलो छ, अहिले त बर्खामा पनि धेरै मान्छे तालमा पुगे, ताल वरपर त्रिपाल लगाएर एक–दुई दिन बास पनि बस्ने गर्थे’, उनले भने, ‘यहाँ त बाह्रै महिना मान्छे आउन थालेका छन्।’ 

तालको छेउमा तिलाचन ताल बरहा मन्दिर छ। यस मन्दिरमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ। सुनछहारी गाउँपालिका रोल्पाका सूचना अधिकारी रमेश गिरीले तिलाचन ताललाई पर्यटकीय गन्तव्य बनाउन काम गरिरहेको बताए। अघिल्लो वर्ष लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको रु १० लाखबाट ताल सरसफाई र मन्दिर निर्माण गरेको बताए। गाउँपालिकाले यो ताललाई पालिकाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा राखेको गिरीको भनाइ छ। 

‘तालको छेउमा अहिले मन्दिर निर्माण भएको छ, मन्दिर निर्माण र ताल संरक्षणका लागि गत वर्ष रु १० लाखको काम भएको छ, पालिकाले यसको संरक्षणका लागि जुटिरहेको छ’, सूचना अधिकारी गिरीले भने, ‘ताल पहिलेदेखि नै चर्चित थियो, गाउँपालिकाले पनि प्रचार–प्रसार र प्रवर्द्धन गरिराखेको छ, यहाँ बागलुङबाट लोकमार्ग हुँदै धेरै पर्यटक आएको पाइएको छ।’

निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढामगरले तिलाचन तालमा जाने आगन्तुकलाई लोकमार्गले सहज बनाइदिएको बताए। उनले केही वर्ष अगाडिसम्म स्थानीयबाहेक बाहिरी मान्छे तिलाचन तालमा नपुगेको भन्दै प्रचार–प्रसारले गर्दा टाढा–टाढाबाट यहाँ घुम्न र फोटो खिच्न आउने गरेको बताए। 

अध्यक्ष बुढामगरले हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्नमा लागि मान्छे घुम्न आउने गरेको बताउँछन्। उनी भन्छन्, ‘तिलाचन ताल निकै सुन्दर छ, अग्लो पहाडको टुप्पोमा यति राम्रो तालमा पुग्न जोकोही चाहन्छन्, पहिले त माथिल्लो गाउँबाहेक बाहिरी मान्छे त्यहाँ आउँदैनथे, पुग्ने सम्भावना पनि थिएन, अहिले प्रचारप्रसारले घुम्न आउनेको सङ्ख्या बढेको छ।’

ताल क्षेत्रबाट धौलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खालको सहज रूपमा अवलोकन गर्न सकिन्छ। यहँबाट बागलुङ, रोल्पा, पूर्वीरुकुम, प्युठान, गुल्मीलगायतका ठाउँ देखिन्छन् । तालमा पर्यटक बढे पनि यहाँसम्म पुग्ने पदमार्ग भने अव्यवस्थित छ। आगन्तु पशुचौपाया हिँड्ने साँघुरो गोरेटोमार्फत तालमा पुग्ने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad