ad ad

कारोबार


कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ

कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ

नेपालखबर
पुस २०, २०७९ बुधबार ७:४४, काठमाडौँ

म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्‍याफ्टिङ  सञ्चालन गरिएको छ। जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल भएर मिर्मी पुग्न सकिने गरी र्‍याफ्टिङ  सञ्चालन गरिएको हो।

कालीपुलमा गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले मङ्गलबारदेखि औपचारिक रूपमा नियमित र्‍याफ्टिङ  सञ्चालन गरेको हो। पहिलो दिन गलेश्वरबाट बेनीसम्मको करिब तीन किलोमिटर दूरीमा गरिएको जलयात्रा सफल भएको व्यवसायी पुनले बताए। 

‘‘हिउँदयाममा नियमित रूपमै सञ्चालन गर्ने गरी र्‍याफ्टिङ  सुरुआत गरेका छौँ, निकट भविष्यमा बेनीमा सञ्चालन हुने म्याग्दी महोत्सवले यसलाई थप प्रवर्द्धन गर्ने हाम्रो अपेक्षा छ, कम्तीमा गलेश्वरबाट बेनीसम्म नियमित रूपमै र्‍याफ्टिङ  सञ्चालन गर्ने हाम्रो जमर्को छ”, उनले भने। 

कालीगण्डकी नदीमा र्‍याफ्टिङ  सञ्चालनमा आएसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलको भ्रमणमा आएका र बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई समेत आकर्षण गरेको छ। र्‍याफ्टिङ का लागि उत्तम मानिने कालीगण्डकी नदीको जलयात्राका साथै पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीको अवलोकनले थप रोमाञ्चक गराउने भएकाले पर्यटकको आगमन बढ्ने स्पलास नेपाल एडभान्चरका गाइड सन्तोष गिरीले बताए।

कालीगण्डकी नदीमा राम्रो सम्भावना भएकाले आगामी जेठसम्म जलयात्रा सञ्चालनलाई निरन्तरता दिने तयारी गरिएको छ। पर्वतको नयाँ पुलबाट १४ वर्षदेखि र्‍याफ्टिङ  गरिरहेका स्पलास नेपाल एडभान्चरका गाइड होम पुनले गलेश्वरबाट बेनीसम्मको करिब तीन किलोमिटर दूरीको जलयात्रामा पनि जोखिम कम र रोमाञ्चक बढी हुने भएकाले नियमित र्‍याफ्टिङ  सञ्चालनको सम्भावना बढिरहेको बताए। 

गलेश्वरबाट सुरु भई बेनी, पर्वतको मालढुङ्गा हुँदै नयाँ पुलसम्म जलयात्राको सम्भावना उजागर गर्न कालीगण्डकीमा जलयात्रा सञ्चालन गरिएको उनले जानकारी दिए। गलेश्वरबाट बेनीको खुलामञ्चसम्म करिब तीन किलोमिटरको जलयात्राका लागि रु एक हजार दुई सय शुल्क तोकिएको छ। यसमा यात्रुहरूलाई खाजाको समेत बन्दोबस्त मिलाइएको छ। 

अहिले तत्कालका लागि दुईवटा आठ–आठ जना यात्रु क्षमताको बोट सञ्चालनमा ल्याइएको छ। गलेश्वर–बेनीलाई प्राथमिकता दिइएको भए पनि यात्रु र पर्यटकको चाहनाबमोजिम मालढुङगाबाट नयाँ पुल हुँदै मिर्मीसम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ। बेनीबाट मिर्मी तीन दिनको यात्रामा पुग्न सकिन्छ। म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस २८ गतेदेखि सञ्चालन हुने सातौँ म्याग्दी महोत्सवमा जलयात्रालाई समेत आकर्षणका रूपमा प्रचार–प्रसार गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .