कारोबार


नाफिजको नयाँ कार्यसमितिलाई परिसंघको स्वागत

अग्रवालले भने– सरकारको पहिलो प्राथमिकता ब्याजदर घटाउने हुनुपर्छ
नाफिजको नयाँ कार्यसमितिलाई परिसंघको स्वागत

नेपालखबर
पुस १२, २०७९ मंगलबार १३:३६, काठमाडौँ

नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि नवगठित सरकारले पहिलो प्राथमिकतामा बैंक ब्याजदरलाई राख्नुपर्ने बताएको छ। 

संकटमा रहेको अहिलेको अर्थतन्त्रलाई सुधारात्मक बाटोतर्फ अघि बढाउन सरकारले न्यूनतम २ प्रतिशत ब्याजदर घटाउन राष्ट्र बैंकसँग समन्वय गर्नुपर्ने परिसंघका अध्यक्ष बिष्णु अग्रवालले बताएका हुन्।  

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्ष बिष्णु अग्रवालले तरलता संकुचन हुँदै जाँदा अर्थतन्त्रका गतिविधिहरु रोकिन थालेको बताएका छन्। तरलता संकुचन हुँदा बैंकिङ क्षेत्रले माग अनुसार कर्जा प्रवाह गर्न नसक्दा ब्याजदर उच्च भएको उनको भनाइ छ। 

बैंक ब्याजदर कारण नै अर्थतन्त्र चलायमान हुन नसकेकाले नयाँ सरकारलाई २ प्रतिशत विन्दुले ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाउन सुझाव दिएका हुन्। 

‘नेपालकोअर्थतन्त्रले चुनौतीपूर्ण अवस्थाको सामना गरिरहेको छ’, उनले भने, ‘नयाँ सरकारले पहिलो चरणमा २ प्रतिशत व्याजदर घटाइदियो भने अर्थतन्त्र चलायमान हुन सक्छ।’

पछिल्लो समय अर्थतन्त्रमा चिन्ता फैलिएको र व्यवसाय धराशयी बन्दै गएको अवस्थामा परिसंघले चिन्ता व्यक्त गरेको छ। विशेषगरी लगानी योग्य रकमको अभावका कारण अर्थतन्त्र खुम्चिरहेको उनले बताए।  उनकाअनुसार हाल बजारमा सबै किसिमका उत्पादनको समग्र माग घटेको छ।

उद्योगहरुको माग ३० प्रतिशतले घटेको अध्यक्ष अग्रवालले बताए। त्यस्तै एफएमसीजी, पर्यटन र सूचना प्रविधि बाहेकका सबै क्षेत्रमा तरलता अभावका कारणले माग घटेसँगै व्यवसाय नै धराशय बनेको उनको भनाइ छ। उद्योगी र व्यापारीका लागि यो ठुलो समस्या र चिन्ताको विषय रहेको उनले बताए। यही कारण हाल मुलुकभरका कतिपय उद्योग कलकारखाना बन्द भईरहेका छन्।

‘त्यसकारण पनि अर्थतन्त्र चलायमान बनाउनका लागि व्याज घटाउनुपर्छ’ उनी भन्छन्, ‘यसका लागि परिसंघले सरकारसँग पहल गरिरहेको छ।’

अध्यक्ष अग्रवालले पुनर्कर्जाबापतको ६० अर्ब हाराहारी रकम पुस मसान्तमा प्रणालीबाट बाहिरिन सक्नेतर्फ बताए। स्थानीय तहको बचतलाई निक्षेपमा गणना गर्न दिइएको अवधि पनि पुसमै सकिने भएकाले तरलता झनै असहज बन्न सक्नेमा परिसंघले चासो देखाएको छ। 

नयाँ ग्राहकलाई अहिलेको निर्देशिकाअनुसार अगाडि बढ्न र पुरानालाई समयसीमा दिएर क्रमश अघि बढाउँदै लैजानुपर्ने परिसंघको माग छ। पुराना ग्राहकका लागि चालु पुँजी कर्जा मार्ग निर्देशन २ वर्षका लागि स्थगन गर्नुपर्नेमा परिसंघले जोड दिएको छ।

स्वागत कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले असल व्यवसाय विकासका लागि सरकार, मिडिया र निजी क्षेत्रसँगै बढ्ने बताए। 

त्यस्तै परिसंघका उपाध्यक्ष कृष्ण शर्माले अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रका समस्याहरू सरकार समक्ष पुर्‍याउन मिडियाको भूमिका रहेको बताए। सरकारसँग सहकार्य गर्दै अर्थतन्त्र र उत्पादन क्षेत्रसँग एकता गरेर अघि बढ्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .