कारोबार


अर्थतन्त्र सुधार हुँदै गएको सरकारको दाबी, निजी क्षेत्र भन्छ : समस्या बाँकी

अर्थतन्त्र सुधार हुँदै गएको सरकारको दाबी, निजी क्षेत्र भन्छ : समस्या बाँकी

नेपालखबर
मंसिर २८, २०७९ बुधबार ११:१६, काठमाडौँ

सरकारले अर्थतन्त्र सुधारउन्मुख भएको दाबी गरिरहँदा निजी क्षेत्रले भने समस्या बाँकी रहेको बताएको छ। 

बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३औँ वार्षिक साधारण सभामा अर्थमन्त्री र गभर्नरले अर्थतन्त्र सुधार हुँदै गएको बताए। 

तर उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, उद्योग परिसंघका प्रतिनिधि ले निजी क्षेत्रलाई सरकारले फरक नजरले हेरेको आरोप लगाए। र, निजी क्षेत्रका समस्या सबैका समस्या रहेको बताए। 

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सकरात्मक दिशातर्फ अघि बढेको दाबी गरे। उनले भने, ‘उत्पादन र आयातबीचको फरक छुट्याई उत्पादनतर्फ ध्यान दिनुपर्छ। पछिल्लो आर्थिक परिस्थिति हेर्दा निर्यात गर्ने वस्तु सूचीकृत गर्दै अघि बढ्नुपर्छ।’ 

जलविद्युत क्षेत्रले इन्धन आयातलाई प्रतिस्थापन गर्न सकिने उनले बताए। 

यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र अप्ठ्यारोमा पर्दा ब्याजदर बढ्नु स्वाभाविक भएको बताए। 

अधिकारीले तरलता केही सहज बन्दै गएको दाबी गर्दै पुसमा केही असहज हुने बताएका छन्।

निजी क्षेत्र प्रताडित भएको उल्लेख गर्दै सबैले समस्या भोग्नुपरेको उनले बताए। केही विकृति सच्याउँदै अघि बढ्नुपर्ने उनको भनाइ छ। 
निजी क्षेत्रले राष्ट्र बैंकका नीतिमा हस्तक्षेप गर्न माग गरेकोमा भने उनले असन्तुष्टि जनाएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारी निकायबीचको समन्वय नहुँदा ठुलो समस्या हुने गरेको बताए। 

ढकालले निजी क्षेत्रले उठाएका मुद्दा निजी क्षेत्रका मात्रै नभई समग्र अर्थतन्त्रसँग जोडिएको जिकिर गरे। निजी क्षेत्रमा समस्या आउँदा सर्वसाधारणलाई अप्ठेरो हुने उनले बताए। 

अर्थमन्त्री शर्माले निजी क्षेत्रलाई फरक रूपमा नसोचेको बताए। निजी क्षेत्र र सरकार एकै रथका दुई पांग्रा भएको उनले बताए। 

नेपाल उद्योग परिसंघका महानिर्देशक दीपकराज जोशीले विभिन्न क्षेत्रगत रूपमा समस्या पहिचान गरी अर्थतन्त्र सुधार गर्न सकिने बताए।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले   तरलता र उच्च ब्याजदर अहिले मुख्य समस्या रहेको बताए। उनले निजी क्षेत्रले पारदर्शी अर्थतन्त्र चाहेकाले सबैको सम्पत्ति अभिलेख गर्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad