कारोबार


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बतास फाउन्डेसनले दियो अक्सिजन प्लान्ट

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बतास फाउन्डेसनले दियो अक्सिजन प्लान्ट

नेपालखबर
मंसिर २१, २०७९ बुधबार १८:१२, काठमाडौँ

बतास अर्गनाइजेसनअन्तर्गतको गैरनाफामूलक संस्था बतास फाउन्डेसनको पहल र अगुवाइमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) लाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ। 

गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पतालमा हस्तान्तरण गरिएको उक्त प्लान्टले दैनिक १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालद्वारा आवश्यक पूर्वाधार निर्माण भएपश्चात् उक्त प्लान्ट जडान गरिने जनाइएको छ। 

अक्सिजन अभावका कारण कोभिड महामारीमा सङ्क्रमितले उपचार पाउन नसकेको तितो यथार्थलाई हृदयङ्गम गर्दै बतास फाउन्डेसनले गत वर्षको सुरुवाती महिनामा उच्च क्षमताको अत्याधुनिक अक्सिजन प्लान्ट स्थापनाका लागि रकम सङ्कलन महाअभियान सुरु गरेको थियो। 

बतास फाउन्डेसन र  बतास अर्गनाइजेसनबाट गरी कुल ५५ लाख रुपैयाँ बीउ पुँजी राखेर ‘रु. १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ चलाइएको अभियान अन्तर्गत कर्पोरेट हाउसहरू र पोखरेली जनसमुदायको सहभागितामार्फत ३ करोड ४५ लाख १७ हजार ५५५ रुपैयाँ सङ्कलन भएको थियो । 

निर्धारित समय भन्दा निकै ढिलो मात्र प्लान्ट हस्तान्तरण गर्न सकेकोमा भने फाउन्डेसनले क्षमा मागेको छ। फाउन्डेसनले २०७८ जेठ ६ गते नै फ्रान्समा प्लान्ट खरिद गरिसकेको भए पनि अघिल्लो सरकार कार्गो कम्पनी र आयातकर्ताबीचको असमझदारीका कारण प्लान्ट ल्याउन ढिलाइ भएको थियो। 

पछिल्लो समयमा भने रुस–युक्रेन युद्धका कारण कार्गो ढुवानीमा समस्या आउँदा थप विलम्ब भएको थियो। परिणामतः प्लान्ट एयर कार्गोबाट ढुवानी गर्ने सम्झौता भए पनि सो सम्भव नभएपछि जल तथा स्थल मार्गमार्फत ढुवानी गरी हस्तान्तरण गर्न सफल भएको फाउन्डेसनले जनाएको छ। 

अक्सिजन प्लान्ट हस्तान्तरण समेत भइसकेको अवस्थामा यसको सम्पूर्ण आयव्यय विवरण निकट भविष्यमा नै सार्वजनिक गर्ने फाउन्डेसनले प्रतिबद्धता जनाएको छ। 

यो अभियानका लागि सहयोग रकम जुटाउने तथा प्लान्ट स्थापनासम्बन्धी कार्य अघि बढाउने लक्ष्यसहित गठित तदर्थ समितिको संरक्षकमा पोखरा महानगरपालिकाका तत्कालीन मेयर मानबहादुर जिसी रहेका थिए। 

त्यस्तै, संयोजकमा बतास अर्गनाइजेसन तथा फाउन्डेसनका अध्यक्ष आनन्दराज बतास, कोषाध्यक्षमा अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेल तथा सदस्यहरुमा केसी ग्रुपका किरण केसी, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विश्व पालिखे, एभरेष्ट एफएमका प्रबन्ध सञ्चालक दीपेन्द्र श्रेष्ठ, सुपरमादी हाइड्रो प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गाना तथा सेलवेज डिपार्टमेन्टल प्रालिका अध्यक्ष सुशील मान प्रधानाङ्ग रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad