कारोबार


ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच ‘मर्जर’ सम्झौतामा हस्ताक्षर, कूल पुँजी ५७ अर्ब

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच ‘मर्जर’ सम्झौतामा हस्ताक्षर, कूल पुँजी ५७ अर्ब

नेपालखबर
कात्तिक २८, २०७९ सोमबार २०:४४, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभ्न गाभिनको लागि सोमबार अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ।

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

यसअघि ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।

मर्जर पश्चात् बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पूँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु. ४०० अर्ब, कूल कर्जा रु. ३७९ अर्ब भन्दा बढि पुग्नेछ। मर्जर पछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ। 
नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन्। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन्।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन्।

साथै, दुवै बैंकले असोज मसान्तसम्म १ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन्। 

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३९६ शाखा कार्यालय, ३६८ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठूलो बैंक हुनेछ। 

दुवै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने विश्वास बैंकले लिएको छ। 

हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका अध्यक्षहरुले बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरु ल्याई ग्राहक, शेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्नुहुने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने सयुंक्त प्रतिवद्धता ब्यक्त गरे।

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले मुलुकको आवश्यकताअनुसार बैंकिङ क्षेत्रको विकास हुने बताउदै, ठूला पूर्वाधारमा लगानी गर्न, मुलुकभर वित्तीय पहुच पुर्याउन र बैंकिङ लागत घटाउन ठूला र सबल बैंकको आवश्यकता रहने र मर्जरपछि बन्ने बैंकले त्यसको सम्बोधन गर्ने बताए।

ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधैं पहिलो हुने गरेको बताउँदै उनले तदअनुरुप यो मर्जरको अन्तिम समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए।

उनले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सम्पूर्ण हिसाबले सर्वोत्कृष्ट बैंक बनाउने प्रतिवद्धता समेत व्यक्त गरे।

मर्जरपछि बन्ने नयाँ बैंक सबै प्यारामिटरमा पहिलो नम्बरमा रहने बताउँदै उनले पहिलो नम्बरमा आउने उद्देश्यले भन्दा पनि नियमन निकाय र बैंकको हितमा काम गर्दै जाँदा बैंक अहिलेको अवस्थामा पुगेको बताए।

बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक विकास र सम्मृद्धिमा बैैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहने बताए।

‘मुलुकको आर्थिक रुपान्तरण र आर्थिक सम्मृद्धिको लागि ठूलो, सक्षम र राम्रो बैंकको आवश्यकता पर्छ। त्यसको सम्बोधन मर्जरपछि बन्ने ग्लोबल आइएमई बिओकेले गर्नेछ,’ उनले भने।

उनले मर्जरपछि बन्ने नयाँ बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा ठूलो सफलता हासिल गर्ने विश्वास प्रकट गरे।

साथै, उक्त कार्यक्रममा दुवै बैंकका अध्यक्षहरुले गाभ्ने/गाभिने प्रकृयामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंकका सञ्चालकहरु, शेयरधनी, कर्मचारीवर्ग, सञ्चार क्षेत्र लगायत सम्बन्धित सम्पूर्ण शुभेच्छुकहरु प्रति हार्दिक आभार व्यक्त गरेका छन्।

संयुक्त मर्जर समितिका संयोजक राधेश पन्तले मर्जर समितिले बैंकका लगानीकर्ता, कर्मचारी तथा समग्र बैंकलाई केन्द्रमा राखेर मर्जर समितिले काम गरेको बताउँदै दिगो र उच्च प्रतिफल दिन ठूलो बैंकले मात्र सक्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad