बैंकहरुको ब्याजदर बढेसँगै जनकपुरधामका व्यवसायीहरु पनि आन्दोलित भएका छन्।
वर्ष दिनमै ब्याजदर दोब्बरले उक्लिएपछि धान्नै नसक्ने अवस्थामा पुगेको भन्दै उनीहरुले विरोध जनाएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघले अघिल्लो दिनमात्रै चुनाव सफल पार्ने भन्दै चुनावसम्म आन्दोलन नगर्ने सार्वजनिक वक्तज्य निकालेको थियो।
तर बिहीबार महासंघअन्तर्गतकै जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा बैंक तथा वित्तीय समस्या समाधानका लागि विरोध प्रदर्शन गरेका हुन्।
महासंघले लोकतान्त्रिक व्यवस्था र खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण भएकाले मातहतका संगठनलाई आन्दोलन स्थगित गर्न भने पनि जनकपुरका व्यवसायीहरुले बिहीबार पनि प्रदर्शन गरेका हुन्।
उनीहरुले ब्याजसँगै चालू पुँजी कर्जा नीतिको पनि चर्को विरोध गरेका छन्। ब्याजदर वृद्धिको विरोध गर्दै संघका पदाधिकारीहरु सार्वजनिक रूपमा प्रदर्शनमा उत्रिएका छन् ।

व्यापार व्यवसाय छाडेर व्यवसायीहरु पर्चा/पम्प्लेट बोकेर जनकपुरधाममा विरोध प्रदर्शन गरेका हुन्। पम्प्लेटमा ‘बैंकिङ आतंक बन्द गर’, ‘ब्याजदरमा स्थिरता कायम गर’, ‘चालू पुँजी निर्देशिका स्थगित गर’, ‘ब्याजदर एक अंकमा कायम गर’, ‘कर्जा ब्याजदर घटाऊ’ लगायतका मागहरु लेखिएको थियो।
व्यवसायीहरुले व्यापार गर्ने भएकाले बैंकहरुविरुद्ध ढुंगामुढा गर्न नसकिने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए।
उनले भने, ‘हामी व्यवसायी व्यापार गर्ने हौं, बैंकविरुद्ध ढुंगामुढा गर्न सकिँदैन । त्यसैले शान्तिपूर्ण आन्दोलन गरेका हौँ।’
ब्याजदर वृद्धिले व्यवसायीहरुलाई व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको अध्यक्ष महासेठले बताए।
जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा मधेश प्रदेश सरकारको अर्थमन्त्रालयमा ज्ञापनपत्रसमेत बुझाइएको छ।
Shares

प्रतिक्रिया