ad ad

कारोबार


महंगी ६ प्रतिशत, मारमा उपत्यका : राष्ट्र बैंक

महंगी ६ प्रतिशत, मारमा उपत्यका : राष्ट्र बैंक

नेपालखबर
पुस २, २०७६ बुधबार १२:२५,

चालू आर्थिक वर्षमा झण्डै ६ प्रतिशत मूल्यवृद्धि भएको छ। चालू आर्थिक वर्षको ४ महिनाको तथ्याङ्कअनुसार ५.७६ प्रतिशतले वस्तु मूल्य बढेको हो।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१५ प्रतिशत रहेको थियो।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.९६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.०७ प्रतिशत रहेको छ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ।

गैर–खाद्य तथा सेवा समूहतर्फ घरायसी उपयोगिताका वस्तु एवम् सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि केही बढी छ।

महिनामा काठमाडौं उपत्यकामा ६.५० प्रतिशत, तराईमा ६.०४ प्रतिशत, पहाडमा ४.५६ प्रतिशत र हिमालमा ४.०१ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७५ कात्तिकमा यी क्षेत्रहरुमा क्रमशः ४.५० प्रतिशत, ३.७९ प्रतिशत, ४.३१ प्रतिशत र ४.६२ प्रतिशत मुद्रास्फीति रहेको थियो।

४ महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७६ प्रतिशत रहेकोमा भारतमा यस्तो (नोभेम्बर महिना) मुद्रास्फीति ५.५४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.१५ प्रतिशत र २.३३ प्रतिशत रहेको थियो।

२०७६ कात्तिकमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.९४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.९३ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा प्राथमिक वस्तु समूहअन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूहअन्तर्गत खाद्य, पेय तथा सुर्तीजन्य पदार्थको थोक मूल्य वृद्धि उच्च रहेको छ ।
बृहत् आर्थिक वर्गीकरणको आधारमा हेर्दा, समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २५.२० प्रतिशत, १.२१ प्रतिशत र २.२१ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य ३.१९ प्रतिशतले घटेको छ। यस्तै, २०७६ कात्तिकमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १०.४५ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ८.९० प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क १३.५६ प्रतिशत र ज्यालादर सूचकाङ्क ९.६१ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .