अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्।
अर्थ मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सहयोग र हितबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
मन्त्री शर्माले नेपालमा रहँदा सफल र सुखद् कार्यकालका लागि नवनियुक्त राजदूत थम्प्सनलाई शुभकामना दिएका थिए।
भेटमा अर्थमन्त्री शर्माले राजदूत थम्प्सनमार्फत नेपाललाई संकटका बेला गरेको सहयोगप्रति अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन गरे।
‘अमेरिकाले नेपाललाई संकट परेका बेला महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ’, उनले भने, ‘महाभूकम्प, कोरोना महामारीलगायतका संकटमा अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद छ ।’
उनले नेपाललाई अहिले ठूला पूर्वाधारहरू आवश्यक भएकाले त्यसमा समेत अमेरिकी सहयोगको अपेक्षा रहेको बताए। यूएसएडलगायतका अमेरिकी नियोगहरूमार्फत नेपालमा निर्माण भइरहेका आयोजनाहरू सफलतापूर्वक सम्पन्न हुनेमा पनि मन्त्री शर्माले विश्वास व्यक्त गरे।
त्यस्तै नेपालले पर्यावरण सम्बन्धी समस्याहरू भोग्दै आइरहेको तर पनि ‘क्लाइमेट फन्ड’ को रकम प्रयोग गर्न नपाइरहेको बताउँदै त्यसमा अमेरिकाले सहजीकरण गरिदिन आग्रह पनि गरे।
राजदूत थम्प्सनले अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यातलगायतका क्षेत्रमा समेत सहयोग गर्न तयार रहेको बताए। उनले नेपाल र अमेरिकाको द्विपक्षीय हितका लागि अमेरिका कटिबद्ध रहेको बताए।
‘नेपालको सामाजिक, आर्थिकलगायतका क्षेत्रमा सहयोग गर्न अमेरिका सदैव कटिबद्ध छ’, उनले भने । भेटका अवसरमा उनले नेपालसँग जोडिएर आफू काम गर्न सधैँ उत्सुक रहेको बताए।
प्रतिक्रिया