ad ad

कारोबार


नेपालबाट ५० मेगावाट विद्युत खरिद गर्ने बंगलादेशको तयारी

नेपालबाट ५० मेगावाट विद्युत खरिद गर्ने बंगलादेशको तयारी

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार २०:५५, काठमाडौँ

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसीले मित्रराष्ट्र बंगलादेश सरकारका उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका छन्।

हाल बंगलादेशको व्यवसायिक भ्रमणमा रहेका उपाध्यक्ष सुनिल केसी र बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद सरकारमा निजीक्षेत्रको उद्योगसम्बन्धी राष्ट्रिय सल्लाहकार एवं उद्यमीसलमान एफ रहमानबीच भेटवार्ता भएको छ। 

सल्लाहकार रहमानकै कार्यकक्षमा भएको भेटवार्तामा जलविद्युत विकासको क्षेत्रमा नेपाल तथा बंगलादेशको संयुक्त लगानीको विषयमा वार्ता केन्द्रित रहेको नेपाल–भारत उद्योग वाणिज्य संघले जनाएको छ। 

भेटमा नेपालबाट बंगलादेशमा विद्युत प्रसारण विस्तार गर्ने लगायतका विषयमा पनि छलफल भएको थियो।  

यस्तै, नेपालको जलविद्युत परियोजनाहरुमा लगानी प्रवर्द्धन गर्न र उत्पादित विद्युत खरिद गर्न केसीले आग्रह गरेका थिए।

नेपालका विभिन्न जलविद्युत परियोजनाहरुमा भारतीय सरकार तथा लगानीकर्ताहरुलाई समेत समाबेश गरी सरकारी लगानी अभिवृद्धि लगायत निजी क्षेत्रबीचको लगानी प्रवर्द्धनका विषयमासमेत वार्ता केन्द्रित रहेको संघले जनाएको छ। 

भेटमा बंगलादेश सरकारका राष्ट्रिय सल्लाहकार एवं उद्यमीसलमान एफ रहमान भारतीय सरकारी पक्षलाई पनि अन्तरदेशीय विद्युत ब्यापारमा सहभागी बनाई बंगलादेश सरकार नेपालको जलविद्युत क्षेत्रमा लगानी तथा सहयोग बिस्तार गर्नुका साथै नेपाली जलबिद्युत खरिद गर्न तत्पर रहेको जानकारी गराए।

नेपालबाट तत्कालै ५० मेगावाट विद्युत खरिद गर्ने विषयमा कुरा चल्दै गरेको र यदि यो सफल भएको खण्डमा यो नेपाल तथा बंगलादेशबीच एक गेम चेन्जर प्रोजेक्टको रुपमा स्थापित हुने जानकारी पनि गराए। 

उपाध्यक्ष केसीले रहमानलाई नेपालको जलविद्युतको क्षेत्र लगायत ठूला भौतिक पूर्वाधारका परियोजनाहरुमा लगानी उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्न पनि अनुरोध गरे।

वार्ताका क्रममा आगामी दिनहरुमा बंगलादेश सरकार तथा निजी क्षेत्रबाट नेपालमा करिब ३ अर्ब अमेरिकी डलर बराबरको लगानी गरिने पनि जानकारी गराइयो। 

बंगलादेश भ्रमणकै क्रममा उपाध्यक्ष केसीले बंगलादेश सरकारमा गुहमन्त्री तथा सत्तारुढ दल अवामी लिगका प्रभावशाली नेता असादुज्जमान खानसँग पनि शिष्टाचार भेट गरे। 

उक्त भेटमा उपाध्यक्ष केसीले जलविद्युतको विकास र बजारको क्षेत्रमा नेपाल एउटा अत्यन्त संंवेदनशील तथा महत्वपूर्ण बजारको रुपमा लिन पनि गृहमन्त्री खान मार्फत बंगलादेश सरकारलाई आग्रह गरे। उक्त भेटमा बंगलादेश सरकारका गुहमन्त्री खानले उक्त विषय प्रधानमन्त्री शेख हसिना वाजेद सामु प्रस्ताव गर्ने बचनबद्धता ब्यक्त गर्नुभयो । 

बंगलादेश भ्रमणकै क्रममा उपाध्यक्ष केसीले बंगलादेशको बिदेश सचिव माशफी बिनते शामस तथा बंगलादेशका निम्ति नवनियुक्त नेपाली राजदूत घनश्याम भण्डारीसँग पनि भेट गरी नेपालमा उर्जा तथा पूर्वाधारको क्षेत्रमा द्विपक्षीय लगानी प्रवर्द्धन गरी नेपालको बंगलादेशसँगको ब्यापार नाफायुक्त बनाउने कायर्मा प्रयास गर्न अनुरोध गरे। 

उक्त अवसरमा नेपाली राजदूत भण्डारीले बंगलादेशमा राजदूतको रुपमा आफूले त्यहाँका ब्यवसायीहरु तथा नेपालका ब्यवसायीहरुबीच सम्बन्ध बिस्तार गरी आर्थिक कूतनीतिमा जोड दिने वचनबद्धता ब्यक्त गरे।

भ्रमणको क्रममा उपाध्यक्ष केसीले बंगलादेश पावर ग्रीड कर्पोरेशनका कार्यकारी निर्देशक याकुब एलाही चौधरी तथा बंगलादेशका उर्जा ब्यबसायी तथा लगानीकर्ताहरुसँग पनि भेट गरी नेपालको जलविद्युत क्षेत्रको विकास, त्यस क्षेत्रमा रहेको अवसर लगायत विषयहरुमा अन्तरकृया पनि गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .