राजनीति


आयोग भन्छ : कात्तिक १७ देखि मंसिर १ सम्म जति पनि प्रचार गर्न पाइन्छ

आयोग भन्छ : कात्तिक १७ देखि मंसिर १ सम्म जति पनि प्रचार गर्न पाइन्छ

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार २१:१, काठमाडौँ

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाउने भएका छन्।

मंसिर ४ मा हुने निर्वाचनको लागि आचारसंहिता आधारित भएर सोमबार निर्वाचन आयोगले दलहरूले प्रचारप्रसार गर्न पाउने मिति तय गरेको हो।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ।

उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ। त्यसैअनुसार कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सकिने आयोगले जनाएको छ।

अहिले निर्वाचन प्रयोजनका लागि सार्वजनिक निर्वाचन आचारसंहिता, २०७९ को कार्यान्वयनको अवस्थामा छ। आचारसंहिताको प्रभावकारी कार्यन्वयन भएरनभएको सम्बन्धमा निर्वाचन आयोग र जिल्ला आचारसंहिता अनुगमन समितिबाट अनुगमन भइरहेका छन्।

यतिबेला आचारसंहिता उल्लघंनका घटनाबारे उजुरी तथा जानकारीका आधारमा आयोगले स्पष्टीकरण सोध्ने र उजुरी परेकाहरूबाट जवाफ दिने काम भइरहेको छ।

आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने नियम छ।

यो पटकको निर्वाचनमा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा दलको झण्डा प्रयोग गर्न सकिन्छ तर कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन पाइँदैन।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .