कारोबार


त्रिशूली जलविद्युत कम्पनी : सेयरबापत बाँकी रकम चुक्ता गर्न ७८ हजार जनाले दिए आवेदन

कात्तिक १७ आवेदन बुझाउने अन्तिम दिन
त्रिशूली जलविद्युत कम्पनी : सेयरबापत बाँकी रकम चुक्ता गर्न ७८ हजार जनाले दिए आवेदन

नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १२:२४, काठमाडौँ

त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयर बापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार सेयरधनीले आवेदन दिएका छन्। कम्पनीले सेयर बापतको रकम बुझाउन गत ४ असोजबाट आवेदन माग गरेको थियो। 

कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीमध्ये झण्डै ७८ हजारले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाएका हुन्। यसबाट १६ करोड १० लाख रुपैयाँ संकलन भएको छ।

साविकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने छ। आगामी १७ कात्तिक आवेदन दिने अन्तिम दिन हो। कम्पनीका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले अन्तिम समयअगावै आवेदन दिन सेयरधनीहरूलाई आग्रह गरे। 

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निष्कासन गरी प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो। कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्नेछ।

रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत ब्याज दिनुपर्ने प्रावधानबमोजिम सेयरधनीले प्रति कित्ता ३ रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रतिकित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने छ।

आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सीडीएस एन्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीहरुले रकम बुझाउन÷आवेदन दिन सक्नेछन्। सेयरधनीहरूले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्कसमेत तिर्नुपर्ने छैन। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लि. छ।

कम्पनीले रसुवा र नुवाकोटमा  ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीमा नेपाल विद्युत  प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत संस्थापक सेयर छ। कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ।आयोजनाको कूल अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ छ। निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कूल लागत ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ। 

निर्माण अवधिको ब्याजबाहेकको आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड) बाट लगानी जुटाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad