कारोबार


बाच्छी हुर्काउन १० हजार अनुदान

बाच्छी हुर्काउन १० हजार अनुदान

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १४:३६, तनहुँ

तनहुँमा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले बाच्छी हुर्काउन रु दश हजार अनुदान प्रदान गर्ने भएको छ। जिल्लामा यस वर्ष एक सय साठी पाडी तथा बाच्छी हुर्काउन प्रोत्साहन अनुदानका लागि बजेट आएको छ।

कृत्रिम गर्भाधानबाट उच्च नश्ल जातका पाडी तथा बाच्छी एक वर्ष पूरा भएकालाई अनुदान दिइने कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। 

प्रोत्साहन अनुदान कार्यक्रम सुरु भएपछि पाडी तथा बाच्छी हुर्काउन कृषक उत्साहित भएर लागेका छन्। गण्डकी प्रदेश सरकारले रु सोह्र लाख बजेट विनियोजन गरेको छ।

उनले भने, “कार्यालयले सूचना प्रकाशित गरी कृषकसँग आवेदन माग गरिरहेको छ।”

कार्यालयले गत आर्थिक वर्षमा एक सय पचास पाडी तथा बाच्छी हुर्काउन रु पन्ध्र लाख बजेट विनियोजन गरेको थियो। जिल्लाको व्यास नगरपालिका र बन्दीपुर पकेट क्षेत्रका रुपमा छन्। अधिकांश आवेदन पनि सोही पालिकाबाट दिएको उनले बताए। 

पाडी बाच्छी हुर्काउँदा खर्च बढी लाग्ने र किसानले पाडी बाच्छी हुर्काउन नचाहने भएकाले अनुदान प्रदान गरी हुर्काउन प्रोत्साहन गरिएको उनले बताए।

“यहाँ गाईभैँसी उत्पादनको स्रोत केन्द्र छैन, उच्च नस्लका गाईभैँसी अन्य जिल्ला तथा राष्ट्रबाट ल्याउनुपर्ने बाध्यता छ”, त्यसैले यही उत्पादनका लागि तयारी स्वरूप यो कार्यक्रम ल्याइएको उनले बताए। 

प्रतिपाडी तथा बाच्छी हुर्काउन रु दश हजारका दरले प्रोत्साहन अनुदान प्रदान गरिने उनले बताए।

“कृत्रिम गर्भाधानबाट जन्मिएका पाडी तथा बाच्छी हुर्काउनका लागि मात्रै अनुदानको प्रदान गरिएको छ”, उनले भने, “एउटा किसानले पाँचसम्म पाडी बाच्छीलाई अनुदान लिनसक्ने व्यवस्था छ।”

कृत्रिम गर्भाधान गरिएको कार्ड विज्ञ केन्द्रले नै उपलब्ध गराएको हुन्छ। सोहीअनुरूप कृषकलाई अनुदान उपलब्ध गराउने गरिएको छ।

पाडी बाच्छी उत्पादनलाई प्रोत्साहन गर्दा जिल्लामा नै स्रोत केन्द्र स्थापना गर्नसक्ने भएकाले अनुदान कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ। यस वर्ष व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे नपा र भानु नगरपालिकामा उच्च नश्लका पाडी तथा बाच्छी उत्पादनका लागि कृत्रिम गर्भाधान गराइएको डा श्रेष्ठले बताए। 

अन्यत्रबाट उच्च नश्लका माउ गाईभैँसी ल्याउँदा महँगो पर्ने र ढुवानी खर्चसमेत बढी पर्ने हुँदा यही उत्पादन गर्नसकेमा उच्च नश्लका दुधालु गाईभैँसी आयात गर्नुभन्दा निर्यात गर्न सकिने उनी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad