आजबाट नेपालखबर डटकमको अंग्रेजी संस्करण सुरु भएको छ। अब इन डट नेपालखबर डटकम लगइन गरी नेपालखबर अंग्रेजीमा हेर्न सकिन्छ।
छ वर्षअघि, ८ जुलाई २०१६ मा डिजिटल सञ्चारमाध्यमका रुपमा नेपालखबर डटकम सुरु भएको थियो। नेपालखबरको हङकङ संस्करण हङकङ र बेलायतमा बसोबास गर्ने नेपालीबीच लोकप्रिय छ।
नेपालखबर डटकमले ६ वर्षमा हासिल गरेको सफलतासँगै बढ्दो अंग्रेजी भाषी पाठकको आवश्यकतालाई दृष्टिगत गरी अंग्रेजी संस्करण सुरु गरेको हो। नेपालीहरूको बाक्लो उपस्थिति रहेका अन्य देशमा आफ्नो दायरा विस्तार गर्ने क्रममा अंग्रेजी संस्करण सुरु भएको हो।
‘विश्वव्यापी बन्दै गएको नेपाली डायस्पोरा, अंग्रेजी–भाषा प्रयोग गर्न सहज मान्ने युवा जमात, नेपालमा रहेका र नेपालबारे जान्न चाहने अंग्रेजी भाषी विदेशीसँग अब अंग्रेजी संस्करणमार्फत नेपालखबर सिधै जोडिएको छ,’ अंग्रेजी संस्करणको प्रकाशकीयमा भनिएको छ।
छ वर्षको अवधीमा नेपाल र नेपाली सन्दर्भका सामग्री व्यावसायिक रुपमा प्रस्तुत गर्ने र विश्वभर रहेका नेपालीलाई डिजिटल माध्यमबाट जोड्ने उदेश्यमा नेपालखबरले सफलता हासिल गरेको छ।
‘यस अवधीमा पाठक–दर्शक, शुभेच्छुकबाट पाएका सुझाव र प्रतिक्रियाले हामीलाई अंग्रेजी संस्करण सुरु गर्ने र आफ्नो दायरा विस्तार गर्ने शक्ति प्राप्त भएको हो,’ प्रकाशकीयमा भनिएको छ।
नेपालको आन्तरिक राजनीतिक परिवर्तन होस् वा विदेश सम्बन्धमा देखिइरहने फेरबदल, नेपालखबरले आफ्नो प्रस्तुतिमा सन्तुलन र विश्वसनियता कायम गर्दै आएको छ।
‘अंग्रेजी संस्करणमा हामी नेपाल र नेपालीबारे नयाँनयाँ खबर, रिपोर्ट र गम्भीर विषयमा विश्लेषण त प्रस्तुत गर्ने छौँ नै, नेपाली डाइस्पोरा र विदेशमा बढ्दो नेपाली उद्यमशीलताका कथाहरू खोतल्ने प्रयास पनि गर्ने छौँ,’ प्रकाशकीयमा थप भनिएको छ।
Shares

प्रतिक्रिया