सिप्रदीयन सहायता संस्थाले काठमाडौं उपत्यका र पोखरामा गरी १९ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्षको व्यवस्था गरेको छ।
महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी र यातायात व्यवस्था विभागको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै सहायता कक्ष स्थापना गरिएको सिप्रदीले जनाएको छ।
दसैँ मनाउन उपत्यका छोड्ने यात्रुहरुको सङ्ख्या उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँबसपार्क, स्वयम्भू, चावहिल, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, पुरानोबसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष शुरु गरिएको छ।
यस्तै, उपत्यका बाहिर बनेपा, धुलिखेल र काभ्रे भन्ज्याङ र पोखराका दुई स्थानमा पनि यात्रु सहायता कक्ष शुरु गरिएको छ।
विगतका वर्षभन्दा यो वर्ष यात्रुको संख्या अधिक बढ्ने देखिएको छ त्यसैले यात्रुहरुलाई टिकट बुकिङका क्रममा विभिन्न समस्याहरु नआओस् भनेर यो सेवा दिइएको बताइएको छ।
उपभोक्ता संघ तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो महंगो टिकट मूल्य, टिकट नपाउने जस्ता गुनासो आइरहेकोले त्यसलाई न्यूनीकरण गर्ने उद्देश्यले सहायता कक्ष राखिएको हो।
यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धि सु–सूचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्ने छ।
Shares
प्रतिक्रिया