हङकङमा मेरो लेखकीय यात्राको खुड्किला थिए किसन

हङकङमा मेरो लेखकीय यात्राको खुड्किला थिए किसन

स्व. किसन राई


कमल पौड्याल
असोज १२, २०७९ बुधबार ८:५७, हङकङ

२५ अक्टोबर २०२१ को एकाबिहानै सामाजिक सञ्जालमा जोडिएका मित्रहरूको रहस्यमयी स्टाटसहरु आइरहेका थिए। फोटो पत्रकार मातृदीप भाइको ‘हैट दुखद समाचार’ भन्ने स्टाटासमा एकजनाले कुनै अनलाइनको किसन राईको तस्बिरसहितको समाचार ट्याग गरेपछि पत्याउन निकै गाह्रो भयो।

फेरि सञ्चारकर्मी देवराज भाइको फेसबुक वालमा ‘खबर अपुष्ट... अनि भयानक छ।’ त्यसपछि लगत्तै ‘मसँग शब्द छैन है दाइ। के मजाक हो यो?’ हेरेपछि म अझै झसंग भएँ। लामै समय हङकङबाट निस्कने एभरेस्ट पत्रिकाकै कार्यकारी सम्पादक रहेका देवराज भाइ अन्य धेरै संघसंस्था र सञ्चार क्षेत्रमा पनि किसनका निकै नजिकका सहकर्मी थिए।

तुरुन्तै पत्रकार मित्र भाइ डम्बरकृष्ण श्रेष्ठलाई फोन घुमाएर सोधेँ, ‘भाइ के सुन्दैछु एकाबिहानै आजः कसरी? कहाँ? कहिले?’ डम्बर भाइले निकै मलिनो स्वरमा आशा मार्दै घटनाको पुष्टि गरे। एकदुई दिनमै दुर्घटनाको बीभत्स दृश्य सामाजिक सञ्जालमा फैलियो।

मलाई ओशोको भनाइ अक्सर याद आउँछ। उनले भनेका छन्, ‘तुम्हारी मृत्युका कारण कोइ दुर्घटना या बिमारी नही है! जन्म लेना ही तुम्हारा मृत्युका कारण है।’

हो, मृत्यु शाश्वत सत्य हो मानव जीवनको। तैपनि जब अल्पायुमै दुर्घटना वा कुनै कारणले कसैको मृत्यु हुन्छ भने त्यो सहन निकै गाह्रो र अति पीडादायी हुन्छ, खासगरी परिवार, आफन्त र आत्मीयजनलाई। यसो नगरेको भए, उसो नगरेको भए, गएको भए, नगएको भए सोच्दै जीवन जान्छ बाँच्नेहरुको। मैले सबैभन्दा उनकी ७४ वर्षीय वृद्ध आमा शिवमाया, श्रीमती शोभा बहिनी र मेरै छोराको उमेरका उनका छोराहरु अरिम र अनोजलाई सम्झेँ।

ठ्याक्कै तिथिमिति यकिन भएन, पोहोर साल सेप्टेम्बर अन्तिम हप्तातिर बेलुकी सात बजे ट्रलीमा एभरेस्टको सेप्टेम्बर अङ्कको चाङ लिएर हस्याङफस्याङ हुँदै कङ्गनको ढोकाबाट छिरे किसन।

करिब १५/२० प्रति दैलोको छेउको टेबलमा राखिदिए अनि ‘लु एउटा सानो बियर अनि मःम खाउँ’ भन्दै बारअगाडि टेबलमा बसे मसँगै। केही घरायसी, केही राजनीतिक–सामाजिक र केही पत्रिकाका बारे आफ्ना भावी योजना सुनाए।

हङकङमा लामो समयको बसाइ र संघर्षपूर्ण जीवनपछि भर्खरै नामचुङमा आफ्नै छतमुनि बस्न थालेका थिए उनी। जेठो छोरो बेलायतबाट फर्किएर अब मलाई नै आर्थिक, भौतिक सहयोग गर्छु भन्दैछ, आज त पसल पसलमा पत्रिका बाड्न पनि सघायो भन्दै खुसी देखिन्थे त्यो दिन। अनि जाँदाजाँदै भने, ‘लु अब अर्को अङ्कको लागि पनि लेख लेखौँ है, पारिश्रमिक दिन चाहिँ सकिन्न अझै, कङ्गन रेस्टुरेन्टको विज्ञापन चाहिँ निशुल्क छापिन्छ।’

तर सेप्टेम्बर २०२१ अङ्कमा छापिएको मेरो ‘नेपालका राजनीतिक पार्टी र विदेशमा बस्ने हामी नेपाली’ भन्ने लेख अनि एभरेस्ट पत्रिका पनि अन्तिम भयो किसन राईसँगै।

किसनसँग मेरो करिब दुई दशकको चिनाजानी हो। उनी आबद्ध सामाजिक संघसंस्था, राजनीतिक वा जातीय पार्टीहरु र उनका अरु अभियानबारे चर्चा गर्दा लेख लामो हुनसक्छ। उनको पत्रकारितासँग म पनि जोडिएकोले पनि म त्यही सेरोफेरोमा केन्द्रित हुनेछु यो आलेखमा।

सन् ९० को दशकमा म हङकङ आउँदा अहिलेजस्तो सञ्चार सर्वसुलभ थिएन। मोबाइल फोनको त कुरै छाडौँ ल्यान्डलाइनबाट नेपाल फोन गर्न एक मिनेटको दस डलर लाग्थ्यो। चिनेजानेकाहरुले कोसेली नै पत्रिका पठाइदिन्थे, ल्याइदिन्थे मलाई त्यो बेला। अझ कोसेली बेरेर आएका पुराना पत्रिका समेत खोलेर ओल्टाइपल्टाइ हेरिन्थ्यो, पढिन्थ्यो।

हङकङका ब्रिटिस गोर्खाहरुको सम्पादनमा ‘पर्वते’ भन्ने मसिक पत्रिका छापिन्थ्यो। उतिबेला हङकङकै सौ कि वानको छापाखानामा छापिएर ब्यारेकभित्र मात्रै बाँडिने यो पत्रिका ब्यारेकबाहिर भने आक्कलझुक्कल पढ्न पाइन्थ्यो। हाल बेलायतमा पनि निरन्तर छ भन्ने सुनिन्छ। त्यसको साथै नेपाली भाषाको बीएफबीएस रेडियो सुनिन्थ्यो समय हुँदा, जुन अद्यावधि छँदैछ। अझ हालसालै नेपालखबरमा छापिएको बेलायतकी स्व. रानीको संस्मरणात्मक लेखपछि काठमाडौँ बीएफबीएस स्टुडियोबाट कार्यक्रम प्रस्तोता आरतीको फोन आएको थियो मलाई अन्तर्वार्ताका लागि।

सन् ९० को दशकको मध्यपछि ठूलै सङ्ख्यामा ब्रिटिस गोर्खा र उनीहरूका परिवार नातेदार जन्म दर्ताको आधारमा हङकङ बसाइँ सरे। त्यससँगै भाषा, साहित्य र पत्रकारिताको काम गर्ने एउटा समूह पनि हङकङ भित्रियो। तीमध्ये एक थिए किसन राई। बिस्तारैबिस्तारै नेपाली व्यवसायीहरुले हङकङका किराना पसलहरुमा नेपालका मासिक, साप्ताहिकदेखि दैनिक पत्रिकासम्म राख्न थाले।

बिहान निस्केका दैनिक, साप्ताहिक वा मासिक पत्रपत्रिका नेपाल वायुसेवाको फ्लाइटबाट बेलुकी नै आइपुग्न र बिक्न थाले।

सन् २००० को सेरोफेरोमा लौ हङकङबाट पनि नेपालीहरुले दैनिक पत्रिका निकाल्ने अरे भन्ने सुनियो। सम्पादक धराने किसन राई अरे। हङकङबाट नेपाली पत्रिका त्यो पनि दैनिक सम्भव वा असम्भव? मलाई अलि द्विविधा लाग्यो।

हङकङमा अंग्रेजी भाषाको दैनिक साउथ चाइना मर्निङ पोस्ट र हङकङ स्ट्यान्डर्ड थिए र अझै छँदैछन्। स्थानीय भाषाका पत्रिकाहरुबीच भने निकै प्रतिस्पर्धा थियो त्यो बेला। दुईदेखि तीन डलरसम्ममा पाइने पत्रिका बिहान किन्दा सित्तैमा एउटा स्याउदेखि म्याकडोनाल्ड र क्याफे डी कोरालसम्मका खाजाका उपहार कुपन बाँडिन्थ्यो। कति त भूमिगत रेल स्टेसनमा निशुल्क पनि हुन्थे।

चुङकिङ मेन्सनको डी सपबाट सायद दुई या तीन डलरमा नेपाली भाषाको पहिलो श्यामश्वेत एभरेस्ट दैनिक किनेर पढेको सम्झना छ अझै।

समयान्तरमा एभरेस्ट दैनिकबाट साप्ताहिक भयो। मुख्य खबरका शीर्षक हेरेर अक्सर किन्थेँ म। स्वदेशको अनि हङकङको समाचारदेखि हङकङेली स्तम्भकारहरु पनि निकै नै थिए त्यो बेला। जसमध्ये आधा नै बेलायत स्थानान्तरण भएर पनि केही लेखनमा सक्रिय छन् अझै।

त्यही सेरोफेरोमा मेरा बा केवलपुरे किसान दोस्रो पटक हङकङ आउनुभएको थियो। एकदिन बिहानै चिमसा चुइबाट काउलुन पार्क हुँदै जोर्डनको पशुपति स्टोर पुग्नुभएछ। कान्तिपुर आएर पनि सकिएकोले घनश्याम भाइले हाँस्दै लौ यो हङकङको कान्तिपुर पढनुस आज भन्दै एभरेस्ट पत्रिका सारिदिएछन् अगाडि। करिब ११ बजेतिर दैलोदेखि नै एक्लै गुनगुन गर्दै घर छिर्नुभयो।

उहाँले भन्नुभयो, ‘छोरा यहाँबाट पनि साप्ताहिक पत्रिका प्रकाशन हुँदो रहेछ त!’

‘हो नि,’ मैले भनेँ।

‘किसन राई कहाँका हुन् नि?’

‘धरानका।’

‘चिनाजानी छ?’

‘हजुर छ।’

अनि वहाँले थप्नुभयो, ‘एउटा कुरा भनौँ छोरा?’

‘हजुर भन्नुस्।’

‘मलाई अक्सर साहित्यिक कार्यक्रमहरुमा जाँदा साहित्यकार र अरु धेरैले तपाईंको परिवारमा साहित्यिक उत्तराधिकारी पनि कोही छन् कि भन्दा उत्तर दिन अप्ठ्यारो लाग्छ। तिमीमा प्रतिभा छ, फुर्सद मिलाएर यसो यतातिर पनि कलम चलाए कसो होला? यी भौतिक धनसम्पत्ति वा व्यवसाय बाँचुन्जेललाई जीवनयापन गर्न मात्रै पुगे भैहाल्छ। सिर्जना भनेका त युगौँयुग बाँच्ने कुरा हुन्।’

यो कुरा वहाँले मलाई पटक पटक सम्झाउनु भएको थियो। मैले भनेँ, ‘हुन्छ अब म लेख्छु।’

बाको स्वास्थ अवस्था राम्रो थिएन। वहाँलाई प्रोस्टेट क्यान्सर भएको र बाँचुञ्जेल खुसी राख्नुबाहेक अरु उपाय नभएको बताएका थिए डाक्टर सरोज धितालले फोन वार्तामा त्यो बेला। मेरो लेखन सायद उहाँलाई खुसी पार्ने वा आयु लम्ब्याउने औषधि हुनसक्छ भन्ने पनि लाग्यो।

मैले आफ्ना पुराना डायरी र लेखोटहरु खोतलेँ। लेख्न त अनगिन्ती विषयवस्तु थिए अगाडि। तीनचार दिनमै एउटा लेख तयार पारेर किसनलाई फोन गरेँ।

‘लु म त्यता चुङकिङमा पत्रिका छाड्न आउँदा लिन्छु,’ उनले भने।

सायद दुई वा तीन दिनपछाडि चिमसा चुइको रेस्टुरेन्टमा आए। छोटो वार्तालापपछि किसन लेख लिएर हिँडेको पछिल्लो अङ्कमै छापिएछ। अनि चुङकिङ मेन्सनबाट पत्रिका किनेर बाको अगाडि राखिदिएँ। स्याबास छोरा भन्दै उहाँ औधी खुसी हुनुभयो। जति खुसी वहाँ हङकङको मेरो पहिलो आफ्नै स्वआर्जनको छत र सानो व्यवसाय हुँदा पनि हुनुभएको थिएन।

‘घुमन्तेको डायरी’ भन्ने मेरो स्तम्भको शीर्षक थियो। लगातार केही अङ्कपछि राई चन्द्र दुमीले लामै पाठक प्रतिक्रिया लेखे मेरो स्तम्भबारे। दुमी पनि सोही पत्रिकामा ‘अङ्कलको गन्थन’ भन्ने स्तम्भ लेख्थे।

बालाई लगेर देखाएपछि उहाँले फेरि भन्नुभयो ‘स्याबास छोरा, तिमीले यसैगरी कलम चलायौ भने मेरो उमेर बढ्छ।’

म भावुक भएँ।

हङकङको एभरेस्टपछि नेपालखबरमा लेख्न थालेँ पछिल्लो समय। अझ हालसालै हङकङ आएका पत्रकार पूर्ण बस्नेतले ‘हङकङका प्रखर लेखक’ भनेर फुर्क्याए पछि निकै बाक्लो लेख्न थालेको छु आजकल। अबको मेरो लेखरचनाले बाको उमेर बढाउन नसके पनि उहाँको आत्मालाई पक्कै शान्ति मिल्छ भन्ने सम्झन्छु।

बा नेपाल फर्कनु भयो। मेरा लेख रचना छापिएका एभरेस्टका अंक म नेपाल पठाइदिन्थेँ। बा बितेपछि बाका सहित्यिक दौँतरी कुन्साङ काकालाई मेरो हङकङकै बासस्थानमा लामै भलाकुसारी गर्ने संयोग जुराइदिएका थिए उनै किसनले करिब पाँच वर्षअगाडि। सोही भेटले ‘कुन्साङ काकालाई हङकङमा भेटदा’ शीर्षकको संस्मरण जन्मिएको थियोे लगत्तै। पत्रिकाका अतिरिक्त अन्य धेरै संघ, संस्था र अभियानमा पनि किसन आबद्ध हुन थाले। मलाई टाइप गर्न नआउने, सबै मेरा हस्तलिखित लेख टाइप गर्न उनलाई समय लाग्ने।

मलाई लेख्ने नसा गज्जबले लाग्यो त्यो बेला। हङकङबाट कुलप्रसाद गुरुङले पनि ‘नेपाल पोस्ट’ भन्ने मासिक म्यागेजिन चलाउँथे त्यो बेला। म त्यसमा पनि लेख्थेँ। म एभरेस्टको लागि लेखेको हस्तलिखित लेखोट बोकेर गुरुङको वाम्पुवा गार्डेन निवास पुग्थेँ फुर्सद निकालेर। उनले टाइप गरेर किसनलाई इमेल गरिदिन्थे।

सञ्चार क्षेत्रमा आएको युगान्तकारी परिवर्तनले छापा भन्दा अनलाइनको प्रभुत्व हुनथाल्यो। मैले नै कलममा बिर्को लगाएर हाते फोनमै लेख लेख्न थालेको करिब ६/७ वर्ष भएछ।

एभरेस्ट साप्ताहिकबाट पाक्षिक हुँदै मासिक भयो। किसनले बीचमा अनलाइन संस्करण पनि निकाले। पछिल्लो समय पत्रिकाको ठूलै विज्ञापनदाता हङकङको सरकारी गृह मामिला विभागलाई छापाप्रति नै चाहिने भएकाले ढिलो चाँडो छापामै निरन्तर रह्यो एभरेस्ट किसन छउन्जेल।

पृथ्वी ग्रहका आम मानिसझैँ किसन राई सर्वगुणसम्पन्न थिएनन्। उनी पत्रकारिता वा भाषा साहित्यकै सेवा गर्छु भनेर हङकङ आएका पनि होइनन्। समय र परिस्थितिले उनलाई पत्रकारितामा डोर्याएपछि त्यही डोरीमै अल्झिरहे हङकङ बसाइभर।

संसारको सबै मिडिया कुनै न कुनै राजनीतिक, सामाजिक वा आर्थिक प्रायोजकपट्टि धेरैथोरै ढल्केकै हुन्छन्।

किसनको राजनीतिक वा जातीय आस्था उनको प्रकाशन वा पत्रिकामा प्रतिबिम्बित हुनु स्वाभाविकै हो। सायद वामपन्थी स्कुल प्रशिक्षित किसन कहिलेकाहीँ बाटो बिराएर गल्ती गरे पनि आत्मालोचना गर्न पछि पर्दैनथे। आलोचना वा सुझाव सुन्ने सहनशीलता भएका उनी अलि मुडी स्वभावका थिए।

उनी जोर्डनतिर आउँदा फुर्सद मिल्यो कि कंगनमा पस्थे र बहकिन्थे मसँग अक्सर।

जातीय, राजनीतिक, क्षेत्रीय, जिल्ला, गाउँ, सहर, समाजसेवा आदि इत्यादि गरी दुईअढाई सय सङ्घ संस्था छन् हङकङमा।

हङकङमा यी सबैबीच एकात्मकता ल्याउने भनेको नेपाली भाषा साहित्य नै हो। नाम जस्तै एभरेस्ट पत्रिकालाई सबैको साझा बनाउन मैले किसनलाई पटकपटक भन्ने गरेको थिएँ। उनी आबद्ध राजनीतिक पार्टी र वामपन्थी पार्टीहरु पनि पटकपटक फुट्दै, जुट्दै, नाम फेर्दै गरिरहँदा उनी निराश र द्विविधामा देखिन्थे पछिल्ला भेटमा। यसैले अब नेपालबाट फर्केर प्रकाशन र पत्रिकालाई मलजल गर्ने र सबैको बनाउने योजनाबारे सकारात्मक थिए उनी। उनी बाँचिरहेका भए त्यो पुरा हुन्थ्यो, हुन्थेन। तर, अब उनीसँगै बिसर्जन भयो त्यो पाटो।

जे होस्, मेरो लेखकीय यात्राको एउटा सुरुआती खुड्किला थिए, एभरेस्ट पत्रिका र किसन राई। यसरी हङकङमा दुई दशक वा आफ्नो जीवनभर नेपाली भाषाको पत्रिका चलाएका किसन राईको वार्षिकी आउनै लाग्दा भावपूर्ण श्रद्धा सुमन तथा उनको आत्माको चीरशान्तिको कामना!

उनकी पूजनीय आमा, श्रीमती, छोराहरु, इष्टमित्र, आफन्त र आत्मीयजनमा हार्दिक समवेदना!
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .