कारोबार


पाँच वर्षमा १ खर्बका हवाइ साधन आयात, १ करोड यात्रुले लिए सेवा

पाँच वर्षमा १ खर्बका हवाइ साधन आयात, १ करोड यात्रुले लिए सेवा

बसन्त अर्याल
मंसिर २७, २०७६ शुक्रबार ११:३५,

नेपालमा विगत पाँच वर्ष अवधिमा करिब १ खर्ब बराबरको हवाइ साधन तथा त्यसका पार्टपुर्जा आयात भएका छन्।

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१/०७२ देखि २०७५/०७६ सम्म ९० अर्बको आयात भएको हो। चालू आर्थिक वर्षको ४ महिना जोड्दा १ खर्ब बढीकाे आयात भएको छ।

आर्थिक वर्ष २०७१/०७२ मा १४ अर्ब ८६ करोडका जहाज तथा हवाइ सामग्री आयात भएको छ भने २०७२/०७३ मा नौ अर्ब ३५ करोडको मात्रै आयात भएको देखिन्छ।

त्यस्तै २०७३/०७४ मा एकैपटक १० अर्ब बढी आयात भई १९ अर्ब ६५ करोडको आयात भएको छ। २०७४/०७५ मा २३ अर्ब ४७ करोडको आयात भएकोमा २०७५/०७६ मा २३ अर्ब ४० करोडका सामग्री आयात भएको विभागको तथ्याङ्कले देखाएको छ।

caan report

चालू आर्थिक वर्षको ४ महिना (साउन, भदौ, असोज र कात्तिक)मा भने १० अर्ब ५८ करोडका जहाज तथा सामग्री आयात भइसकेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २०१८ को रिपोर्टअनुसार अन्तरिक उडानमा १० वटा कम्पनीका जहाज र नौवटा कम्पनीका हेलिकप्टर रहेका छन्।

आन्तरिक जहाज उडानमा नेपाल एयरलाइन्स, यति एयरलाइन्स, बुद्ध एयर, सीता एयर, सिम्रिक एयरलाइन्स, तारा एयर, श्री एयरलाइन्स, समिट एयर, मकालु एयर, सौर्य एयरलाइन्स सञ्चालनमा रहेको छन्।

हेलिकप्टरमा भने एयर डाइनेस्टी, सिम्रिक एयर, श्री एयर, फिस टेल एयर, माउन्टेन हेलिकप्टर, प्रभु हेलिकप्टर, मनाङ एयर, एल्टिटिउड एयर र हेली एभेरेष्ट सञ्चालनमा रहेका छन्।

हिमालय एयरलाइन्सले भने अन्तर्राष्ट्रिय उडान मात्रै गरिरहेको छ।

पाँच वर्षमा एक करोड यात्रुलाई सेवा
प्राधिकरणको तथ्याङ्कअनुसार पाँच वर्षमा करिब एक करोड यात्रुले आन्तरिक हवाइसेवा प्रयोग गरेका छन्। सन् २०१४ देखि २०१८ को अवधिमा ९८ लाख ७० हजार यात्रुले हवाइ सेवा लिएका छन्।

सन् २०१४ मा १४ लाख ५० हजार यात्रुले हवाइ सेवा लिएका थिए। त्यस्तै सन् २०१५ मा १३ लाख, २०१६ मा १७ लाख ५७ हजार, २०१७ मा २४ लाख ५१ हजार, २०१८ मा २८ लाख ४७ हजार यात्रुले हवाइ सेवा लिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .