ad ad

कारोबार


व्यवसायीको आन्दोलन असर : हवाइ इन्धन उपलब्ध गराउन निगम असमर्थ

व्यवसायीको आन्दोलन असर : हवाइ इन्धन उपलब्ध गराउन निगम असमर्थ

नेपालखबर
भदौ २८, २०७९ मंगलबार २१:२८, काठमाडौँ

पेट्रोलियम पदार्थ ढुवानीकर्ता व्यवसायीले गरेको आन्दोलनको असर जनजीवनमा पर्न थालेको छ। 

नेपाल आयल निगमले व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा हवाइ इन्धन उपलब्ध गर्न नसकिने अवस्था आएको जनाएको छ। 

निगमले आन्दोलनरत नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई मंगलबार पत्र लेखि हवाइ इन्धन उपलब्ध गराउन नसकिने अवस्था आएको भन्दै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएर आपूर्ति व्यवस्था सहज पार्न आग्रह गरेको छ। 

निगमले भनेको छ, ‘कोरोना भाइरसको महामारी पश्चात् विस्तारै मुलुकका आर्थिक गतिविधिहरु पुनः लयमा फर्किँदै गरेको यस अवस्थामा अत्यावश्यक पेट्रोलियम पदार्थहरूको आपूर्ति व्यवस्थालाई खलल पार्ने गरी विरोधका कार्यक्रमहरु तहाँबाट सञ्चालन गर्दा नजिकिँदै गरेको महान चाडपर्वहरूको पूर्वसन्ध्यामा विभिन्न विदेशी हवाई कम्पनीहरूले नयाँ तथा थप उडान सञ्चालन गर्ने जानकारी निगमलाई प्राप्त भएको अवस्थामा निजी पेट्रोलियम व्यवसायीहरूको हड्तालका कारण हवाई इन्धन उपलब्ध गराउन नसकिने भनी नागरिक उड्यन प्राधिकरण मार्फत् जानकारी गराउनु पर्दा निगमलाई अत्यन्त दुःख लागेको छ।’

विभिन्न माग राखी आन्दोलनरत नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आगामी असोज १ गतेदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएको छ। 

महासंघले मंगलबार आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै भदौ २९ गतेबाट अमलेखगन्ज डिपोबाट अन्यन्त्र डिपोमा जाने पेट्रोलियम पदार्थ लोडिङ नगर्ने जनाएको छ। साथै, भदौ २४ बाट राज्यभरका सम्पूर्ण ढुवानी व्यवसायीहरुले भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पीडीओ नलिने निर्णय माग पुरा नभएसम्म निरन्तर कायम राख्ने जनाएका छन् ।

निगमले ढुवानी व्यवसायीहरूले पेट्रोलियम पदार्थ आयात गर्न पीडीओ नलिएको हुँदा पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध भई हवाई यात्रु लगायत अन्य सर्वसाधारणमा संत्रास पैदा भएको भन्दै मंगलबार (भदौ २८ गते) पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई पूर्ण रुपले ठप्प पार्ने गरी सार्वजनिक गरिएको अवरोधका कार्यक्रमहरू प्रति निगमको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले राखेका मागप्रति विभिन्न चरणमा सकारात्मक छलफल भइरहेको स्पष्ट पार्दै निगमले देशको कानुनी व्यवस्थालाई ख्याल गरी बन्द हड्तालका सम्पूर्ण कार्यक्रम फिर्ता लिएर आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .