ad ad

कारोबार


सहर उज्यालो पार्ने प्राधिकरणको अभियान, सडकमा १ लाख बत्ती जोड्दै कुलमान

सहर उज्यालो पार्ने प्राधिकरणको अभियान, सडकमा १ लाख बत्ती जोड्दै कुलमान

नेपालखबर
भदौ २४, २०७९ शुक्रबार १७:३८, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले १५ वटा नगरपालिकामा स्मार्ट सडक लाइट जडान गरिरहेको छ। 

१ लाख सडक बत्ती जडान गर्ने अभियानअनुसार यसको काम भइरहेको हो। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ‘उज्यालो सहर अभियान’अनुसार सडक बत्ती जडान धमाधम भइरहेको छ। जसमा १ लाख सडक बत्ती जोड्ने उनको लक्ष्य छ।  

प्राधिकरणले राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजना स्थापना गरी धमाधम निर्माण गरिरहेको छ। आयोजनाका सहायक प्रबन्धक सागर ज्ञवालीले केही स्थानमा सडक बत्ती जडान भइसकेको बताउँदै अधिकांशमा निर्माण भइरहेको जानकारी दिए।

‘नेपाल विद्युत् प्राधिकरण र पालिकाहरुबीचको सहलगानीमा स्मार्ट सडक बत्ती जडान भइरहेका छन्’, ज्ञवालीले भने, ‘१५ पालिकामा धमाधम जडानको काम भइरहेको छ।’

ज्ञवालीले बाँकी पालिकासँग पनि छलफल भइरहेकाले छिट्टै सम्झौता हुने जानकारी दिए। रातिको समयमा सडक दुर्घटना कमसँगै विद्युत् खपतको योजनाअनुसार विद्युत् प्राधिकरणले पालिकासँग मिलेर आयोजना अघि बढाइरहेको छ। 

स्मार्ट सडक बत्ती जडानको लागि सडक बत्तीको पूर्वाधार निर्माणमा ६० प्रतिशत पालिका र ४० प्रतिशत प्राधिकरणले व्यहोर्नेछ। 

‘सहरका सबै सडक उज्यालो बनाउने प्राधिकरणको अभियान हो’, प्राधिकरणकै एक उच्च अधिकारीले भने, ‘करिब ४० वटा पालिकामा जडान गर्ने सहमति भइसकेको छ।’

काठमाडौं महानगरले पनि प्राधिकरणसँग सडक बत्ती जडानको लागि सहमति गरे पनि बजेट उपलब्ध नगराउँदा महानगरमा जडान सुरु हुन नगरेको ती अधिकारीले बताए। 

प्राधिकरणले काठमाडौं महानगरसँग २ हजार ७८ वटा सडक बत्ती जडान गर्ने सहमति भएको थियो। २०७७ फागुनमा काठमाडौं, ललितपुर र भक्तपुरसँग सम्झौता भएको थियो। 

२०७८ कात्तिकमा काठमाडौं उपत्यकामा सडक बत्ती जडान सम्पन्न गर्ने लक्ष्य थियो। तर काठमाडौं महानगरले बजेट उपलब्ध नगराउँदा काम रोकिएको छ।

‘काठमाडौं महानगरले पनि २ हप्ताभित्रै सडक बत्ती जडानको लागि सम्झौता गर्ने भनेको छ’, सहायक प्रबन्धक ज्ञवालीले भने, ‘काठमाडौं महानगरसँगै सबै ठूला सहरमा अभियान चल्छ।’

काठमाडौं महानगरले यसअघि मुख्य सडकमा सोलार बत्ती जडान गरेको थियो। तर अधिकांश बत्ती मधुरो बल्न थालिसकेका छन्। 

प्राधिकरणले भरतपुर, पोखरा, कंकाई, बेलका, भीमेश्वर, भीमदत्त, बूढानीलकण्ठ, फिदिम, महालक्ष्मी, सिदार्थनगर र धनगढीमा सञ्चालन भइरहेको छ। सडक बत्तीमा स्मार्ट प्रविधि जडान गरी राति आफैँ बल्ने र बिहान आफैँ निभ्छन्। 

प्राधिकरणले पूर्वाधार निर्माणमा ४० प्रतिशत व्यहोरे पनि सडक बत्तीको बिल भने सम्बन्धित पालिकाले नै बुझाउनुपर्नेछ। प्राधिकरणले पहिलो चरणमा ललितपुरमा निर्माणसम्पन्न गरी बत्ती बल्न थालेका छन्।  

‘ललितपुरमा पहिलो चरणको निर्माणको काम सकिई बत्ती बल्नथालेका छन्’, ज्ञवालीले भने, ‘प्राधिकरणको आफ्नै लगानीमा कोटेश्वरदेखि सूर्यविनायकसम्म सडक बत्ती जडान गरिसकेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .