संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच असमझदारी भएको छ।
नेपाल भ्रमण वर्ष सुरु हुन केही हप्ता मात्रै बाँकी रहँदा पर्यटनमन्त्री योगेश कुमार भट्टराई र भ्रमण वर्षकै लागि गठित सचिवालयका संयोजक सुरज वैद्यबीचको असमझदारी सतहमा आएको हो।
केही समययता मन्त्री भट्टराईले सचिवालयले राम्रो काम नगरेको गुनासो गर्दै आएका थिए। सोमबार एक अन्तर्वार्तामा उनले सचिवालयले सोचेअनुसार काम गर्न नसकेको बताएका थिए। मन्त्री भट्टराईको सचिवालयका एक सदस्यले नेपालखबरसँग भने, ‘मन्त्रीजी सुरज वैद्यको कामसँग सन्तुष्ट हुनुहुन्न। बोर्ड र मन्त्रालयसँग समन्वय नगरी काम गर्दा मन्त्रीजीलाई चित्त बुझेको छैन।’
यता भ्रमण वर्ष २०२० राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले सबैलाई सन्तुष्ट बनाउन नसक्ने बताए। मन्त्रालय र सचिवालयबीचको असमझदारी के हो भन्ने प्रश्नमा वैद्यले नेपालखबरसँग भने, ‘कुन व्यक्तिले के भन्यो, त्यो ठूलो कुरा होइन, एउटै परिवारका सबै सदस्यलाई त खुसी बनाउन सकिँदैन भने अरुलाई कसरी खुसी पार्नु?’
संयोजक वैद्यले भ्रमण वर्ष कुनै व्यक्ति, कुनै मन्त्रालय या कुनै पार्टीको विषयमात्रै नभई सबै नेपाली जनतालाई छुने कुरा भएकोले आफूले निजी क्षेत्रसँग मिलेरै काम गरिरहेको दाबी गरे।
उनले मन्त्रालयसँग बाहिर हल्ला भएजस्तो सम्बन्ध नबिग्रेको बताए। पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र सचिवालय एउटै परिवारजस्तै भएकोले कहिलेकाहीँ असमझदारी हुनसक्ने उनको भनाइ छ।
वैद्यको उक्त भनाइले पनि मन्त्री र उनीबीचको असमझदारी भएको पुष्टि हुन्छ।
‘काम गर्दै जाँदा कहिलेकाहीँ असमझदारी हुनसक्छ’, उनले भने, ‘तर जुन आधारले सचिवालयले काम गरिरहेको छ, त्यसले सफलता दिन्छ भन्नेमा विश्वास लिएको छु।’
त्यस्तै, मन्त्रीको सचिवालय स्रोतले भने वैद्यले अन्तर्राष्ट्रिस्तरमा राम्ररी प्रचारप्रसार गर्न असफल रहेको दाबी गरेको छ।
स्रोतका अनुसार वैद्यले एकलौटी ढंगले काम गर्ने, मिडियामा राम्रो रेस्पोन्स नगर्ने, पर्यटन व्यवसायी तथा सरकारी निकायसँग पनि राम्रोसँग समन्वय नगर्ने गरेका कारण मन्त्री भट्टराईलाई उनको काम चित्त बुझेको छैन।
वैद्यले भने मन्त्रीले बोल्दै हिँडेको तर आफू भने काममा व्यस्त भएको प्रतिक्रिया दिए। उनले भने, ‘सबै बोल्दै हिँड्न आवश्यक छैन। मन्त्रीजी बोल्दै हिँड्नु भएको छ। म काम गरिरहेको छु। मलाई बोल्नभन्दा काम गर्दा सफल भइन्छ भन्ने विश्वास छ।’
मन्त्रालयले भम्रण वर्षलाईलाई लक्षित गरेरै सचिवालय बनाएर वैद्यलाई नियुक्त गरेको थियो। वैद्य २०७५ कात्तिकमा तीन वर्षका लागि भ्रमण वर्ष २०२० को कार्यान्यवन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा नियुक्त भएका थिए।
सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो। सोही घोषणाअनुसार भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

प्रतिक्रिया