ad ad

कारोबार


गौतमश्री र वराहले ल्याएको तरंग : सहकारीमा सकियो नगद

गौतमश्री र वराहले ल्याएको तरंग : सहकारीमा सकियो नगद

दीपक भट्ट
भदौ ११, २०७९ शनिबार ७:२७, काठमाडौँ

सहकारी संस्थाहरु पछिल्लो समय संकटमा परेको देखिएका छन्। कुनै पनि सहकारी लगानी गर्ने अवस्थामा छैनन्। 

त्योभन्दा ठूलो समस्या आफ्ना सदस्यहरु तथा पैसा राख्नेहरुलाई राखेको पैसा समेत दिन नसक्ने अवस्थामा पुगेका हुन्। 

सहकारीको विस्तार विभिन्न व्यापारिक समुदायहरुमा केन्द्रित छ। तर पछिल्लो समय केही सहकारीले सहकारीको मूल्य मान्यता पालना नगर्ने, संस्थागत सुशासनमा नचल्ने आचरणका काम गर्दै आएको सहकारी विभागको भनाइ छ। त्यसबाट सहकारीहरुमा समस्या सुरु भएको विभागले जनाएको छ। 

विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितका अनुसार संस्थागत सुशासनमा नचल्ने अध्यक्ष, सञ्चालक वा व्यवस्थापकले नीति, विधि र प्रणालीको अनुसरण नगरी आफ्नो व्यक्तिगत हितमा केन्द्रित संस्थाहरु क्रमिक रुपमा समस्यामा पर्ने क्रम चलिरहन्छ। पछिल्लो समय भएको पनि त्यही नै हो।

उनले भने, ‘मर्यादाअनुसार चलेको सहकारीमा समस्या नरहेको र संस्थागत मर्यादामा नचलेको कम्पनीमा केही समस्या देखिएको छ।’

समस्या समाधानको लागि केन्द्रीय संघ सहकारी बैंकका लागि विभागले निर्देशन समेत दिएको छ। आफूसम्बद्ध प्रारम्भिक संस्थाहरुसँग निरन्तर छलफल र संवाद गर्ने आवश्यक सजगतासहितका निर्देशनहरु जारी गरी कार्यान्वयन गर्ने गराउने तथा आफूसँग आबद्ध नभएका संस्थाहरुलाई समेत विश्वासमा लिई संस्थागत सुशासन प्रक्रियामा अभिवृद्धि गर्न विभागले भनेको छ। 

त्यसका साथै आफूमा आबद्ध संस्थाहरुको निरन्तर सूक्ष्म निगरानी राखी सम्भाव्य समस्या समाधानका लागि आवश्यक पहल गरी सम्भव भएसम्म कोषको व्यवस्थापन गर्ने, केन्द्रीय संघहरुमार्फत सञ्चालित स्तरीकरणका कार्यक्रमहरुमा सहभागिता गराउने र सहकारी शिक्षा तथा तालिमका विषयहरुलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न समेत विभागले निर्देशन दिएको छ। 

तर विभागले सहकारी संस्था त्यसको छाता संगठनलगायतका कार्यालयहरुलाई निर्देशन दिनुपहिले नै समस्याले ठूलो रुप लिइसकेको देखिएको छ।

गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता नगरी सहकारीका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र विष्टलगायत सञ्चालक व्यवस्थापक फरार भएपछि समग्र सहकारीमा समस्या सुरु भएको हो। 

उक्त सहकारीले २५ हजारभन्दा बढी बचतकर्ताबाट बचत रकम संकलन गरेको र त्यसको फिर्ता माग हुँदा सहकारीले दिन नसकेको हो।  

यस सहकारीका सञ्चालकहरुले एभरेष्ट बैंक लगायतसँग ऋण लिएर आफ्नो व्यवसाय विस्तार गरेको देखिएको थियो। त्यसमा केही समस्या आएपछि कुलेश्वरमा रहेको सहकारीको कार्यालयमा एभरेष्ट बैंकले सिल गरिदिएको थियो। त्यसपछि सहकारीमा पैसा राख्नेहरु सबैले एकसाथ पैसा झिक्न थालेका थिए।

गौतमश्री सहकारीपछि संकट र समस्या एकसाथ ल्याउनेमा वराह बचत तथा ऋण सहकारी संस्था पनि हो। 

वराह ग्रुप अफ कम्पनीको मुख्य लगानी रहेको यस सहकारीले समेत सोही प्रकृतिको काम गरेको देखिएको छ। अहिले बैंकिङ क्षेत्रमा तरलताको अभाव छ। वराह ग्रुपले भने सहकारीको पैसा नियमसंगत नचलाएर आफूलाई सहयोगी हुने किसिमबाट चलाएको आरोप सहकारीमा पैसा जम्मा गर्नेहरुले लगाएका छन्। 

तर वराह ग्रुपले भने हातखुट्टा डोरीले बाँधेको अवस्थामा धरान उपमहानगरपालिकाले काम गर भनेजस्तो गरेको, समस्यामा निर्देशन दिएको तथा त्यहीअनुसारको व्यवहार देखाएको बताएको छ। समस्या समाधान गर्छु भन्दाभन्दै पनि हस्तक्षेप गरेको सहकारीको आरोप छ।

वराह ग्रुपअन्तर्गत क्रियाशील रहेको वराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा परेको समस्या समाधानमा तल्लीन रहे पनि सञ्चालक र पदाधिकारीको बैंक खाता र चल÷अचल सम्पत्ति रोक्न गरिएको सिफारिसलाई हातखुट्टा डोरीले बाँधेर काम गर भनेजस्तो देखिएको उक्त ग्रुपले बताएको हो।  

पदाधिकारी तथा जिम्मेवार कर्मचारीहरूको नाममा रहेको चल/अचल सम्पत्ति र बैंकमा रहेको स्थिर सम्पत्ति तथा बैंक खाता रोक्का राखिदिनुहुन भनी नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालयलगायत ११ वटा सरोकारवाला निकायलाई पत्राचार गरेको कुराले स्तब्ध बनाएको वराह ग्रुपले बताएको छ।

यस सहकारीमा उत्पन्न समस्या समाधानका लागि बचत तथा लगानीकर्ता पीडितहरूको पहलमा गठन गरिएको संघर्ष समितिको अनुरोधमा धरान उपमहानगर प्रमुखस्तरीय निर्णयबाट पाँच सदस्यीय छानबिन समिति गठन भएको र त्यस समितिले संकटोन्मुख अवस्थामा रहेको निष्कर्षकै आधारमा गरिएको यसप्रकारको कदमले अत्यन्तै संवेदनशील बनाएको ग्रुपले जनाएको छ। 

‘यस वराह ग्रुपसम्बद्ध आदरणीय सेयर सदस्य, लगानीकर्ता एवं बचतकर्ता महानुभावहरूको तत्कालको समस्यालाई सम्बोधन गर्दै सहकारीको दीर्घकालीन हल खोज्नका लागि हाम्रो टिम अत्यन्त जुझारुपूर्ण रुपमा क्रियाशील रहेको कुरा सर्वविदितै छ’, ग्रुपले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यद्यपि विश्वव्यापी रुपमा देखा परिरहेको कोभिड महामारीको कारणबाट सहकारिबाट परिचालित व्यावसायिक प्रतिष्ठानले अपेक्षित मात्रामा नगद प्रवाह नगरेको र यहीबीचमा वराह समूहले आवश्यकताबमोजिम ठूलो व्यावसायिक परिसर खरिद गर्नुपरेकाले केही समयदेखि सहकारीले बचतकर्ताको बचत पुँजी फिर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने बाध्यता रहेको हो।’
 
तर पनि बैंकखाता निर्णयको सिफारिसको निर्णय र कार्यले हातखुट्टा डोरीले बाँधिएको अवस्थामै काम गर भन्ने अर्थमा लिएको ग्रुपले बताएको छ। तर अहिले पनि वराह सहकारीको समस्या पूर्ण रुपले समाधान हुन भने सकिरहेको छैन।

यी दुई सहकारीबाट सुरु भएको समस्या अहिले नेपालभर देखिएको छ। सञ्चालक तथा बोर्ड सदस्यहरुले आफूखसि लगानी गर्दा हुने जोखिम बढिरहेको भन्दै नेपालभर सहकारीबाट पैसा निकाल्ने क्रम बढिरहेको छ। 

पाथीभरा सिद्धकाली सहकारीका अध्यक्ष खगेन्द्र चुँडालले भने, ‘कुनै एकले नराम्रो काम गर्दा त्यसको फल सबैले भोग्नुपरेको छ। आफूले नराम्रो नगरे पनि अरुले गरेको नियमसंगत नगरेको कामको प्रभाव देशभर देखिएको छ।’

सकियो नगद!
देशभरका सहकारीमा मान्छेहरु एकसाथ पैसा माग्न आएपछि कुनै पनि सहकारीले बचतकर्ताको मागअनुसार रकम दिन सकिरहेका छैनन्। 

राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा अहिले कुनै पनि सहकारीबाट एक पटकमा १५ हजार रुपैयाँभन्दा झिक्न नमिल्ने व्यवस्था गरिएको छ। 

अहिले सहकारीमा पैसा राख्ने नगन्य रुपमा देखिएको तर रकम झिक्नेहरुको ताँती नै देखिएपछि सहकारीबाट चाहेजस्तो रकम निकाल्न नपाउने गराइएको हो। 

यसैबीच सहकारी विभागले सहकारीहरुमा समस्या देखिनथालेपछि लगानीमा नै कडाइ गरेको छ। 

साउन अन्तिममा सहकारीहरुलाई निर्देशन जारी गर्दै विभागले अचल सम्पत्तिमा लगानी सकेसम्म नगर्न भनेको छ। 

त्यस्तै ऋण असुली प्रक्रियालाई प्राथमिकतामा राख्न भनेको छ। त्यस्तै दीर्घकालीन स्रोत सुनिश्चित नभए लगानी नै नगर्न समेत भनेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .