ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंक नाफामा अब्बल, हरेक सूचक कसरी बनायो सबल?

राष्ट्रिय वाणिज्य बैंक नाफामा अब्बल, हरेक सूचक कसरी बनायो सबल?

नेपालखबर
साउन २४, २०७९ मंगलबार १८:३५, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाको विवरणहरुमा केही यस्ता विवरण समावेश हुन्छन्। त्यसले बैंकको स्तरलाई समेत मूल्यांकन गर्ने प्रमुख आधार बनाउँछ।

बैंकको चुक्ता पुँजीले बैंकको कुन आकारको बैंक हो भनेर सानो ठूलोको मूल्याङ्कन गराउँछ भने बैंकको नाफाले बैंकको कुन रुपमा अघि बढिरहेको छ भन्ने मूल्याङ्कन गर्छ। 

गत आर्थिक वर्षको विवरण बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेका छन्। असार मसान्तसम्ममा नेपालको बैंक तथा वित्तीय संस्थामा राष्ट्रिय वाणिज्य बैंक अब्बल स्थितिमा देखिएको छ। 

गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा भन्दा ३७ दशमलव ३८ प्रतिशत बढी हो। अघिल्लो आवमा बैंकले ३ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवको असार मसान्तसम्म बैंकले २ खर्ब ५९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १२ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको दखिएको छ। त्यसमा राष्ट्रिय वाणिज्य बैंकले ९ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १७ दशमलव २९ प्रतिशत बढी हो।

यसले उच्च नाफा देखिनुमा बैंकको व्यावसायिक स्थिति नै प्रमुख रहेको बैंकका सीईओ किरण कुमार श्रेष्ठ बताउँछन्। 

उनी भन्छन्, ‘बैंकको पर्फमेन्स तै छँदै छ। त्यसमा केही टेक्निकल विषय पनि जोडिएको हुन्छ।’

गत आर्थिक वर्षको नाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई वितरण गर्नसक्ने पैसा ३ अर्ब ३ करोड रुपैयाँ छ। यसरी वितरण गर्दा नगद बाँड्नेभन्दा पनि पुँजीवृद्धिमा नै बैंक केन्द्रित हुने बैंकका सीईओ श्रेष्ठको भनाइ छ। 

अहिले बैंकको चुक्ता पुँजी १४ अर्ब ९४ करोड रुपैयाँ कायम रहेको बैंकले गत आवको नाफाबाट लगानीकर्तालाई २० दशमलव ३० प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता देखिएको छ। 

बैंकको सञ्चालन नाफा समेत ३७ दशमलव ६७ प्रतिशत बढेर ७ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर मूल्य ३४ रुपैयाँ ९७ पैसा, खराब कर्जा अनुपात २ प्रतिशत, बेसरेट ७ दशमलव ३६ प्रतिशत, सीडी रेसियो ८५ दशमलव ८९ प्रतिशत रहेको वित्तीय विवरणले देखाएको छ। 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आधा शताब्दीभन्दा बढी समयदेखि देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गरिसकेको छ। नेपाल सरकारको स्वामित्वमा रहेको उक्त बैंक २०२२ माघमा स्थापना भएको हो। 

अहिले यो देशका ७७ जिल्ला र ७ प्रदेशमा सबैभन्दा बढी ग्राहकको संख्यामा रहेको सबैभन्दा रुचाइएको बैंकको रूपमा उभिएको छ। 

बैंकले अर्थतन्त्रका सबै क्षेत्रमा स्रोतको प्रभावकारी विनियोजन गरी उत्पादनमा वृद्धि गरी देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा आफ्नो उपस्थिति छाप्न सफल भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .