कारोबार


मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन गए

मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन गए

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार ९:८,

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको बताएका छन्।

ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्ज भएपछि शुक्रबार एकिकृत कारोबारको सुरुवात गर्दै अर्थमन्त्री खतिवडाले ठुलो बैंक बनेपछि ब्याजदरलाई मात्र हेर्न नहुने बताएका हुन्। उनले अर्थतन्त्रको संरचना परिवर्तन भएको अवस्थामा व्यापारमा मात्र लगानी गर्ने भन्दा मध्यकालिन र दिर्घकालीन लगानी बढाउन ध्यान दिनुपर्ने बताए।

त्यसका लागि ठुलो आकारको बैंक हुँदा सहज हुने उनको भनाई थियो। उनले अल्पकालिन लगानीबाट दिगो आर्थिक विकास लिन नसकिने बताउँदै ठुलो पूँजी निर्माणका लागि ठुलो बैंक आवस्यक रहेको समेत बताए। उनले ठुलो बैंकले विदेशी वित्तीय संस्थाबाट पूँजी भित्र्याउने क्षमता बढाउन सक्ने उल्लेख गर्दै अब कर्मचारीको वृद्धि विकास र सुचना प्रविधिमा लगानी बढाउन समेत आग्रह गरे। उनले ठुलो बैंक भएपछि ठुलो परियोजनामा मात्र लगानी गर्ने र साना तथा मझौला उद्यमीहरुमा कर्जा प्रवाह कम गर्ने अवस्था आउन नदिन बैंकहरुले साना तथा मझौला कर्जा प्रवाह गर्ने (एसएमई) डेस्कलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले मर्जरपछि बैंकहरु ठुलो बन्दै जानु अर्थतन्त्रका लागि सकारात्मक भएको बताए। उनले बैंकहरुले प्रविधिमा लगानी बढाई पछिल्लो समय देखिएका चुनौतिलाई कम गर्नुपर्नेमा जोड दिए। गभर्नर नेपालले बैंकमा रहेका कर्मचारीलाई चेकबुक कसलाई दिनुपर्छ भन्नेसम्म थाहा नहुने अवस्था आउन नदिन क्षमतावान कर्मचारी छनोटमा ध्यान दिन आग्रह गरे।

ग्लोबल आइएमई बैंक र जनता बैंक गाभिएपछि देशकै सबैभन्दा ठुलो वाणिज्य बैंक बनेको छ। ठुलो बैंकले अर्थतन्त्रमा विषेश महत्व राख्ने भन्दै अर्थमन्त्री खतिवडाले पूँजी निर्माणकालागि बैंकका अन्य सूचकहरुमा ध्यान दिन समेत आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad