ग्लोबल आईएमई बैंक लिमिटेड नेपालको सबैभन्दा ठूलो बैंक बनेर आज शुक्रबारदेखि कारोबार सुरु गरेको छ। जनता बैंक र ग्लोबलबीच गाभिने प्रक्रिया सकिएलगत्तै बैंकले कारोबार सुरु गरेको हो।
मर्जरपछि ग्लोबल १९ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको नेपालकै ठूलो बैंक बनेको छ।
सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको बजेट तथा मौद्रिक नीतिमा उल्लेख भएअनुसार यी दुई बैंकले मर्जरमा जाने निर्णय गरेका थिए। गत असार २० गतेदेखि दुई बैंकबीच मर्जर (गाभिने) प्रक्रिया सुरु भएको थियो। उक्त प्रक्रिया टुंगिएपछि बैंकले कारोबार सुरु गरेको हो।
नेपालमा २७ वटा वाणिज्य बैंकहरु रहेका छन्। अब सबैभन्दा ठूलो वाणिज्य बैंकमा ग्लोबल आईएमईले उछिनेको छ। बैंकको सानो र ठूलो जाँच्ने पहिलो आधार नै चुक्ता पुँजी हो। चुक्ता पुँजीमा हाल वाणिज्य बैंकको न्यूनतम पुँजी ८ अर्ब हुनुपर्ने नेपाल राष्ट्र बैंकको नियम छ। अन्य वाणिज्य बैंकहरुमध्येमा पनि बढीमा १२ अर्ब रुपैयाँसम्म चुक्ता पुँजी रहेको छ। तर ती बैंकको तुलनामा मर्जरपछि ग्लोबल आइएमई बैंकले ठूलो अन्तर बनाएको छ।
अब ग्लोबल आईएमई बैंकको कुल प्राथमिक पुँजी २४ अर्ब पुगेको छ। निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको हो।
शाखा पनि ३ सयभन्दा माथि पुगेको छ। जुन एनआईसी एसियाको भन्दा धेरै हो। यसबाहेक २ सय ५९ वटा एटीएम बुथ, २ सय ४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कुल सञ्जाल ८ सय ३८ पुगेको छ।
बैंकमा ३ हजार २ सय ५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक खाता पुगेको छ। ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्र बैंकबाट लाइसेन्स पाएर औपचारिक रुपमा कारोबार सुरु गरेको २०६३ साल पुस १८ गतेदेखि हो। यो १९औं वाणिज्य बैंक हो। त्यस्तै जनता बैंकले भने २०६६ चैत २३ गतेदेखि आफ्नो कारोबार सुरु गरेको हो।
मर्जरपछि बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकाल रहनेछन्। त्यस्तै बैंकको सीईओमा पर्शुराम कुँवर रहनेछन्। सञ्चालक समितिमा जनताको तर्फबाट ३ जना र ग्लोबलबाट ५ जना रहेका छन्।
अर्थमन्त्रीले गरे एकीकृत कारोबार उद्घाटन

आजदेखि सुरु भएको एकीकृत कारोबारको सुरुवात अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन्।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले ग्लोबल आईएमई बैंकलाई ठूलो मात्रै होइन अब स्मार्ट बैंक बन्न सुझाव दिए। उनले ठूलो बैंक बन्दा सेवाग्राहीहरुको विश्वास अझै बढ्ने बताए। तर, कुनै संस्था ठूलो बन्दा त्यसको व्यवस्थापन त्यत्तिकै चुनौतीपूर्ण हुनेतर्फ सचेत रहन बैंक सञ्चालक समिति र व्यवस्थापकीय टोली चनाखो हुनुपर्ने बताए।
नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लिएको बैंक तथा मर्जरको नीतिलाई अवलम्बन गर्दै विगतमा रहर र लहडमा बैंक तथा वित्तीय संस्था चलाएकाहरुलाई त्यो तनाबबाट उन्मुक्ति लिए उपयुक्त अवसर भएको समेत उनले बताए।
यी दुई ठूला वाणिज्य बैंकको मर्जरबाट पाठ लिएर अरु बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरको बाटोमा अघि बढ्न समेत अर्थमन्त्री खतिवडाले सुझाएका थिए।

प्रतिक्रिया