हिमालयन क्यापिटल लिमिटेडले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँगको संयुक्त सहकार्यमा नेपालको घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडसँग सेयर निष्काशनको लागि सम्झौता गरेको छ।
घोराही सिमेन्टको ७९.४३ लाख कित्ता सेयर प्रिमियम मूल्यमा सार्वजनिक निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रवर्द्धनसम्बन्धी सम्झौता गरेको हो।
सम्झौता समारोहमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र निष्काशन कम्पनी घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको तर्फबाट सञ्चालक आदित्य संघाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
वि.सं. २०६४ सालमा दर्ता भई वि.सं २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गरी व्यावसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेड हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ।
नेपालको औद्योगीकरण र व्यापार प्रवर्द्घनमा उल्लेखनीय योगदान पुर्याउँदै राष्ट्रको विकाशमा हातेमालो गर्ने लामो इतिहास बोकेका प्रख्यात त्रिवेणी र विशाल समूहबाट संयुक्त रुपमा प्रबर्धित घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेड, क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोस्रो उद्योगमध्ये पर्दछ।
हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपीसी र पीपीसी सिमेन्टको उत्पादन तथा बिक्रीवितरण गरिरहेको छ।
Shares

प्रतिक्रिया