ad ad

कारोबार


स्वतन्त्रले हाँकेका धरान र काठमाडौंले कुन शीर्षकमा कति लिँदै छन् कर?

पार्किङमा धरानभन्दा काठमाडौं दोब्बर महंगो
स्वतन्त्रले हाँकेका धरान र काठमाडौंले कुन शीर्षकमा कति लिँदै छन् कर?

वसन्त अर्याल
असार १४, २०७९ मंगलबार ९:२१, काठमाडौँ

वैशाख ३० को स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट जितेका हुन् काठमाडौंका बालेन्द्र शाह र धरानका हर्क राज राईले।

अघिल्लो स्थानीय तहको निर्वाचनपछि आएका प्रतिनिधिले बढी कर उठाएको भन्दै तीव्र आलोचना हुँदा स्वतन्त्र मेयरले करका दरमा हेरफेर गर्ने अपेक्षा थियो। 

तर असार १० गते दुवै पालिकाले बजेट ल्याउँदा २–३ वटा शीर्षकबाहेक अन्य करका दरमा हेरफेर गरेनन्। राजनीतिक दलबाट चुनिएकाले बढी कर लिएको भन्दै आलोचना हुँदा स्वतन्त्रहरूले पनि त्यसलाई निरन्तरता दिएका छन्। 

धरान र काठमाडौंको कर तुलना : कुनको कति ? 
दुवै पालिकाले सम्पत्ति कर, मालपोत, बहाल कर, व्यवसाय कर असोज मसान्तभित्र दाखिल गरेमा १० प्रतिशत छुट दिएका छन्।   

काठमाडौंले बहुतले भवन निर्माण गर्दा पार्किङ प्रयोजनमा प्रयोग गर्ने गरी नक्सापास भएको भवनको पार्किङ स्थल बराबरको क्षेत्रफलमा सम्पत्ति कर नलाग्ने व्यवस्था गरेको छ।

धरान उपमहानगरले असोजपछि पिसाब गरेको शुल्क नलाग्ने व्यवस्था गरेको छ। दिशा गरेको १०, स्थानगृह उपयोग गरेको २० रुपैयाँ शुल्क लिने भएको छ। काठमाडौंको आर्थिक विधेयकमा चाहिँ यो विषय उल्लेख छैन। 

 

स्थानीय तहले आफ्नो बजेट प्रस्तुत गर्दा संघ, प्रदेशको अनुदानबाहेक आफ्नो स्रोत देखाएका छन्। पालिकाको आन्तरिक स्रोतमा व्यावसायिक कर, घरजग्गा कर, सम्पत्ति कर, मनोरञ्जन करसँगै सेवाग्राहीले प्रत्यक्ष अनुभव गर्ने सेवाशुल्क हो।

पालिकाहरूले हरेक सिफारिसको धेरै रकम लिएको भन्दै आलोचना हुँदै आएको छ। सबैले अनिवार्य बनाउनुपर्ने कामको लागि पनि पालिकाहरूले सिफारिस शुल्क लिने गरेकाले गुनासो बढी नै छ। 

धरान उपमहानगरपालिकाले नागरिकता सिफारिस दस्तुर वंशजको १०० रुपैयाँ र अंगीकृतको ५०० दस्तुर राखेको छ। काठमाडौं महानगरले वंशजको नागरिकता सिफारिस शुल्क नलिने व्यवस्था गरे पनि अंगीकृत नागरिकता सिफारिसमा १० हजार, वैवाहिक अंगीकृत नागरिकता सिफारिसमा २५ सय रुपैयाँ दस्तुर लिने महानगरको आर्थिक विधेयक २०७९ मा व्यवस्था गरेको छ। 

धरान उपमहानगरपालिकाले न्याय सेवासँग सम्बन्धित उजुरी दर्ता दस्तुर १०० रुपैयाँ, सम्बन्धविच्छेद निवेदन दर्ता दस्तुर ५०० रुपैयाँ, सम्बन्धविच्छेद सिफारिस दस्तुर १५०० रुपैयाँ र लिखित प्रमाणीकरण गरेको दस्तुर २०० रुपैयाँ तोकेको छ। 

दुवै नगरले मिलापत्र गर्दा एक हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरेका छन्। मिलापत्र गर्ने दुवैमध्ये एक पक्षले ५०० का दरले व्यहोर्नुपर्नेछ। मुद्दा फिर्ता लिँदा प्रतिउजुरीकर्ता ५०० रुपैयाँ शुल्क लाग्ने काठमाडौंको आर्थिक ऐनमा उल्लेख छ।   

काठमाडौं महानगरले जन्म, मृत्यु, विवाह, बसाइसराइ र सम्बन्धविच्छेदको ३५ दिनसम्म दर्ता निःशुल्क हुने व्यवस्था मिलाएको छ। त्यसपछि भने व्यक्तिगत घटनाको पालिकामा दर्ता ५० रुपैयाँ तोकिएको छ। 

धरानले व्यक्तिगत घटना दर्ता दस्तुर ३५ दिनसम्म गरे निःशुल्क गरेको छ। त्यसपछि धरानमा २०० रुपैयाँ लाग्छ। व्यक्तिगत घटना दर्ता प्रतिलिपि प्रमाणीकरण दस्तुर ५०० रुपैयाँ रहेको छ। व्यक्तिगत घटना दर्ता संशोधन दस्तुर ५०० रुपैयाँ छ। 

महानगरले व्यक्तिगत घटना प्रतिलिपि प्रमाणित गर्न भने २०० रुपैयाँ लाग्ने उल्लेख छ। 

व्यक्तिगत विवरण सिफारिस ५०० रुपैयाँ, नाता प्रमाणित गरेको १०० रुपैयाँ, जन्ममिति प्रमाणित १०० रुपैयाँ काठमाडौं महानगरले शुल्क लिँदै आएको छ। 

काठमाडौंमा अंग्रेजी सिफारिस पत्र बनाएको दस्तुर ५०० रुपैयाँ शुल्क लाग्छ भने धरानमा ५५० रुपैयाँ तिर्नुपर्छ। 

धरानमा, जन्म, मृत्यु विवाहसम्बन्धी सिफारिसको ५ सय रुपैयाँ लिन्छ। अविवाहित सिफारिस दस्तुर एक हजार रुपैयाँ रहेको छ। विवाहित प्रमाणित गर्न धरानभन्दा काठमाडौंमा शुल्क कम छ। 

काठमाडौं महानगरपालिकाले विवाहभन्दा अविवाहित प्रमाणित गर्न १० गुणा बढी असुल्दै आएको छ। काठमाडौं महानगरले विवाहित प्रमाणित गर्न १०० रुपैयाँ र अविवाहित प्रमाणित गर्न १ हजार रुपैयाँ शुल्क लिँदै आएको छ।  

असार १० गते शुक्रबार बजेटसँगै जारी गरिएको आर्थिक ऐनमा ६० वर्षमाथिका अविवाहित व्यक्तिको निःशुल्क प्रमाणित हुने उल्लेख गरिएको छ। काठमाडौं महानगरले सेवा शुल्कमा यसअघि लिँदै आएको शुल्कलाई निरन्तरता दिएको छ। 

धरानले नाता प्रमाणित मृतकसँग नाता जोडिएको २००, नाता गरेको प्रमाणित अन्य ५०० रुपैयाँ शुल्क लिन्छ। त्यस्तै काठमाडौं महानगरले जीवितसँगको नाता प्रमाणित २०० रुपैयाँ र मृतकसँगको नाता प्रमाणित ५०० रुपैयाँ शुल्क लिँदै आएको छ। 

पार्किङमा धरानभन्दा काठमाडौं दोब्बर महंगो
धरानमा पार्किङ शुल्कमा मोटरसाइकल प्रतिघण्टा १० रुपैयाँ, निजी कार जिपको २५, माइक्रो बस, बसको ५० रुपैयाँ छ।  

काठमाडौं महानगरले क्षेत्र छुट्याएर पार्किङ शुल्क तोकेको छ। काठमाडौैं महानगरले न्यूरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायतका भित्री सहरी क्षेत्रको मध्यभागका सार्वजनिक बाटो लगायत तोकिएका स्थानलाई क्षेत्र नम्बर १ तोकी पार्किङ महंगो छ। 

यी स्थानमा पार्किङ गर्दा दुईपांग्रेको पहिलो आधा घण्टा १५ रुपैयाँ छ भने प्रतिघण्टा २५ रुपैयाँ छ। चारपांग्रेका लागि पहिलो आधा घण्टामा ५० रुपैयाँ छ भने आधा घण्टाको ८० रुपैयाँ छ। 

क्षेत्र नम्बर २ मा उल्लेख गरिएका स्थानहरूबाहेकमा दुई पांग्रेका लागि प्रतिघण्टा १५, चारपांग्रेका लागि प्रतिघण्टा ४० र चारपांग्रेभन्दा बढीका लागि १०० रुपैयाँ तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .