ad ad

कारोबार


केयूकेएलमा ‘आफ्ना मान्छे’ राख्न खानेपानीमन्त्री चौधरीको योजनामा आन्दोलन

केयूकेएलमा ‘आफ्ना मान्छे’ राख्न खानेपानीमन्त्री चौधरीको योजनामा आन्दोलन

इन्सेटमा खानेपानीमन्त्री उमाकान्त चौधरी र धर्नामा बसेका युनियनमा आबद्ध केयूकेएलका कर्मचारी।


वसन्त अर्याल
असार १३, २०७९ सोमबार १५:२३, काठमाडौँ

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेल)मा करारमा कर्मचारी राख्न दबाब दिन युनियनहरु आन्दोलनमा उत्रिएका छन्। 

केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले कर्मचारी व्यवस्थापन गर्न नसकेको भन्दै राजनीतिक दलका भ्रातृसंगठनहरुले आन्दोलन गरेका हुन्। 

सत्तारुढ नेपाली कांग्रेसनिकट २ वटा कर्मचारी युनियनको नेतृत्वमा असार १ देखि आन्दोलन भइरहेको छ। उनीहरुले शाक्यलाई कार्यालय प्रवेश गर्न रोक लगाएका छन्। खानेपानीमन्त्री उमाकान्त चौधरीले करारमा आफ्ना मान्छे राख्न कांग्रेसका भ्रातृसंगठनलाई उचालेको आरोप लागेको हो।  

कर्मचारीहरुको आन्दोलनको कारण केयूकेएलले ट्यांकरबाट पानीको सेवा दिनसकेको छैन। खानेपानीजस्तो अत्यावश्यक सेवा दिने संस्थामा प्रमुख कार्यकारी अधिकृतलाई कार्यालयमा प्रवेशमा रोक लगाउँदा सेवा अवरुद्ध भएको छ। यसले इन्धनको रकम निकासी नहुँदा ट्यांकर चल्नसकेका छैनन्। 

आन्दोलनरत युनियनहरु भने प्रमुखलाई कार्यालय प्रवेशमा मात्रै अवरोध गरेको र बाँकी काम गर्न अवरोध नभएको दाबी गर्छन्। 

असार १ देखि विभिन्न ट्रेड युनियनले प्रमुख कार्यकारी अधिकृतको कार्यक्षमता र कार्यसम्पादनमा प्रश्न उठाउँदै प्रवेश निषेध गरेका छन्। 

कांग्रेसनिटक काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघका अध्यक्ष सन्त बोहोराले प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले संस्था चलाउन नसकेकोले उनको बहिर्गमन नै मुख्य माग रहेको बताए।  

प्रशासनिक र कर्मचारी व्यवस्थापन गर्न नसकेको भन्दै युनियनहरुले माग गरेका छन्। केयूकेएलले काठमाडौं उपत्यकामा खानेपानी प्रशोधन, भण्डारण, वितरणलगायतको काम गर्दै आएको छ। 

कर्मचारी युनियनहरुले २ वर्षदेखि प्रमुखसँग विभिन्न माग गर्दै आएका थिए। प्रमुख शाक्यले कर्मचारीको सेवा सुविधा बढाएका छन्। कर्मचारीको एउटा माग सम्बोधन भए पनि अर्को माग राखी आन्दोलनमा उत्रिएका हुन्।  

सञ्चालक समितिले मागको सुनुवाइ नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको युनियनका नेताहरुको दाबी छ।  

‘सञ्चालक समितिले प्रमुख कार्यकारीको राम्रोसँग मूल्यांकन नगरेको कारण हामीले बाध्य भएर आन्दोलन गरेका हौँ’, बोहोराले भने, ‘सञ्चालक समितिले चाँडोभन्दा चाँडो निर्णय गरोस् भनेर युनियनहरुले आन्दोलन गरेको हो।’

केयूकेएलको आन्दोलनमा सबै कर्मचारी युनियनको भने सहमति छैन। केही संगठनले अत्यावश्यक सेवा दिने ठाउँमा आन्दोलन गलत भएको बताएका छन्। तर बोहोरा भने शाक्यलाई प्रमुखबाट हटाउन सबै एकमत रहेको दाबी गरे। 

‘प्रमुख कार्यकारी अधिकृतलाई हटाउन सबै कर्मचारी युनियन सहमत छौँ’, उनले भने, ‘संगठनबीच प्रक्रियागत रुपमा मात्रै कुरा नमिलेको हो। आन्दोलन गरेर हटाउने वा सञ्चालक समितिबाट भन्ने।’

अमुक युनियनको आन्दोलनले अत्यावश्यक सेवामा अवरोध : कर्मचारी संगठन
यता केयूकेएलको आन्दोलनको विषयमा कर्मचारी युनियनबीच नै विभाजन देखिएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनले मानिसको जन्मदेखि मृत्यु संस्कारसम्ममा चाहिने खानेपानीजस्तो अत्यावश्यक सेवा वितरणमा युनियनको आन्दोलनले अवरोध भएको बताएको छ। 

‘खानेपानीजस्तो अत्यावश्यक सेवा वितरण र सञ्चालन गर्ने संस्थामा सेवा प्रवाह अवरोध हुने अवस्था सिर्जना हुनु दुःखद छ’, कर्मचारी संगठनले सञ्चालक समितिलाई बुझाएको पत्रमा उल्लेख छ, ‘सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतबीच भएको कार्यसम्पादन सम्झौताअनुसार प्रमुख कार्यकारी अधिकृतको मूल्यांकन र कार्यक्षमताको परीक्षण गर्ने सर्वाधिकार सञ्चालक समितिमा छ।’

कर्मचारी संगठनका उपाध्यक्ष ओम ढकालले सञ्चालक समितिसमक्ष तत्काल बैठक बसी समस्या समाधानको गर्न माग गरेको बताए। उनले सञ्चालक समितिले विधिसम्मत रुपमा गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताए। 

‘केयुकेलको प्रमुखले राम्रो काम गरेको नगरेको मूल्यांकन सञ्चालक समितिले गर्ने हो’, ढकालले भने, ‘प्रमुख हटाउने वा राख्ने भन्ने अमुक ट्रेड युनियन होइनन्। ट्रेड युनियनले आफ्नो दायराभन्दा बाहिर गएर आन्दोलन गरिरहेका छन्।’

उनले आन्दोलन तुरुन्त रोकिनुपर्ने बताउँदै सञ्चालक समितिले जे निर्णय गर्छ त्यो नै मान्य हुने उल्लेख गरे। 

ढकालले खुल्ला प्रतिस्पर्धाबाट भर्ना हुने कर्मचारीलाई संगठनको समर्थन हुने भन्दै कसैको गोजीबाट आउनेलाई भर्ना गर्न नदिइने स्पष्ट पारे। 
  
खानेपानीमन्त्रीको आफ्नै संगठनमार्फत आन्दोलन
केयूकेएलमा खानेपानीमन्त्री विना मगर रहँदाको समयमै ९० जना करारमै खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी गर्न विज्ञापन आह्वान भएको थियो।

त्यसमा ९ हजार बढीले आवेदन दिएका थिए। तर अन्तर्वार्ता हुनसकेको थिएन। कांग्रेसबाट उमाकान्त चौधरी मन्त्री भएपछि त्यो विज्ञापन रद्द गर्न लगाए। 

केयूकेएलका एक अधिकारीका अनुसार मन्त्री चौधरीले अहिले आफ्नै मान्छे राख्न स्वकीय सचिवमार्फत ९० जनाको ‘लिस्ट’ लिएर केयूकेलका प्रमुखलाई भेट्न पठाएका थिए। अन्य कर्मचारीको विरोध भएपछि प्रमुखले करारमा ९० कर्मचारी राखेनन्। 

‘मन्त्रीले आफ्ना मान्छे करारमा राख्न नसकेपछि कांग्रेसनिकटका २ संगठनसहित अरु साना युनियनलाई देखाएर प्रमुखलाई नै हटाउने आन्दोलन गरिरहेका छन्’, ती अधिकारीले भने। 

खानेपानीमन्त्री चौधरीले आफ्ना कार्यकर्तालाई करारमा केयूकेएलमा भर्ना गर्न दबाब दिन आफ्नै संगठनलाई उचालेको भन्ने सही नभएको कर्मचारी संघका अध्यक्ष बोहोराले बताए। 

‘मन्त्रीसँग हाम्रो सम्पर्क छैन। आन्दोलनमा कांग्रेसनिकट भ्रातृसंगठन मात्रै छैनन्। अरु ३ वटा संगठन पनि छन्’, बोहोराको दाबी छ, ‘अरु संगठनले मन्त्रीले भनेको मान्दैनन् होला। मन्त्रीले केयूकेएलमा आफ्ना मान्छे राख्न पठाएको हामीलाई थाहा छैन।’

केयूकेएलमा कर्मचारी आवश्यक रहेको बोहोराको भनाइ छ। उनले प्रक्रिया पु¥याएर करारमा कर्मचारी राख्दा कसैले आपत्ति मान्न नहुने बताए।  

सहमति भइसक्यो : बोर्ड, भएको छैन : युनियन
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सञ्चालक समितिले भने आन्दोलनरत पक्षसँग आइतबार सहमति भएको बताएको छ। 

सञ्चालक समितिका अध्यक्ष तिरेश प्रसाद खत्रीले भने आइतबार सहमति भइसकेको दाबी गरे। उनले अब आन्दोलन रोकिने पनि बताए। 

‘आइतबार नै सहमति भएको छ। अब आन्दोलन हुँदैन’, खत्रीले नेपालखबरसँग भने। 

आन्दोलनको नेतृत्व गरिरहेको कर्मचारी संघका अध्यक्ष सन्त बोहोरा भने प्रमुख शाक्य नहट्दासम्म आन्दोलन जारी रहने बताउँछन्। 

काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा नेपाल सरकारको ३० प्रतिशत, काठमाडौं उपत्यकाका पालिकाहरुको ५० प्रतिशत, निजी क्षेत्रको १५ प्रतिशत र कर्मचारीको ५ प्रतिशत सेयर छ। 

कम्पनीको सञ्चालक समितिमा ९ जना सदस्य हुन्छन्। ६ जना सेयर सदस्यले नियुक्त गरेकाहरु हुन्छन्। यसमा सरकारको २, काठमाडौं महानगरका २, १ जना ललितपुर महानगरको र १ जना निजी क्षेत्रबाट रहेका हुन्छन्। ३ जना स्वतन्त्र सदस्य नियुक्त हुन्छन्।  सञ्चालक समितिको अध्यक्ष भने ९ जनाबाट चुनिन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .