ad ad

कारोबार


११ मध्ये ९ उपमहानगरले ल्याए बजेट, कुनको कति विनियोजन?

११ मध्ये ९ उपमहानगरले ल्याए बजेट, कुनको कति विनियोजन?

वसन्त अर्याल
असार १०, २०७९ शुक्रबार २१:१८, काठमाडौँ

देशभरका ११ उपमहानगरपालिकामध्ये ९ वटाले मात्रै बजेट ल्याएका छन्। २ वटा उपमहानगरमा विवादका कारण बजेट ल्याउन सकेका छैनन्। 

सबैभन्दा ठूलो बजेट बुटवल उपमहानगरपालिकाले ल्याउँदा सबैभन्दा थोरै कलैया उपमहानगरपालिकाले ल्याएको छ। 

७५३ पालिकामध्ये अधिकांशले शुक्रबार नै बजेट प्रस्तुत गरेका छन्। पालिकाहरुले संघीय सरकारको अनुदान, प्रदेश सरकारको अनुदान, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम र आफ्नो आम्दानीको हिसाबमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। 

कुनले कति ल्याए बजेट? 

धनगढी उपमहानगरपालिका : १ अर्ब ८३ करोड
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ८३ करोडको बजेट ल्याएको छ।

शुक्रबार बसेको नगरसभाको बैठकमा नगर उपप्रमुख कन्दकला रानाले आगामी वर्षका लागि एक अर्ब ८३ करोडको बजेट प्रस्तुत गरेकी हुन्। 

आगामी आर्थिक वर्षको बजेटमा चालूतर्फ एक अर्ब तीन करोड १९ लाख ७० हजार र पुँजीगत खर्चतर्फ ८० करोड ६९ लाख ५४ हजार बजेट विनियोजन गरिएको छ। 

उपमहानगरपालिकाले आन्तरिक आय २६ करोड ७९ लाख, राजश्व बाँडफाँडबाट प्राप्त हुने ४७ करोड २९ लाख, संघीय सरकारबाट अन्तर सरकार वित्तीय हस्तान्तरण हुने ९६ करोड ४८ लाख, प्रदेश सरकारबाट अन्तर सरकार वित्तीय हस्तान्तरण ३५ करोड ३४ लाख र चालू वर्षबाट १० करोड बचत हुने स्रोतबाट खर्च व्यहोर्ने बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिका : १ अर्ब ६३ करोड 
नेपालगञ्ज उपमहानगरपालिकाको ११ औँ नगरसभामा आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको छ। 

उपमहानगरपालिकाका  उपप्रमुख कमरुद्दिन राईले एक अर्ब ६३ करोड ६५ लाख ४०० बराबरको बजेट प्रस्तुत गरेका हुन्। चालू आव २०७८/७९ भन्दा करिब ९ करोडले बढी छ।

चालू आवमा एक अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२ रुपियाँको  अनुमानित बजेट प्रस्तुत गरिएको थियो। बजेट प्रस्तुत गर्दै उपप्रमुख राईले नगरका २३ वडाका लागि २५ करोड रुपियाँ बजेट विनियोजन भएको जानकारी दिए। 

कुल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट प्राप्त हुने भएकाले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्ने उपमहानगरले उल्लेख गरेको छ। 

यस वर्ष आन्तरिक आय १५ करोड ६९ लाख रुपियाँ हुने अनुमान गरिएको छ। नेपालगञ्जले बागेश्वरी मन्दिरको ऐतिहासिक धरोहरको संरक्षण, सम्वर्द्धन र सौन्दर्यकरणसहित बागेश्वरी क्षेत्र विकास कोषको स्थापना गर्न गुरुयोजना बनाइने, सहरको फरक पहिचान हुने गरी १०८ फिट हनुमान मूर्ति निर्माण गरिने उल्लेख रहेको छ। 

नेपालगञ्ज उपमहानगरको वडा नं २० स्थित राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन पहल गरिने,  हरेक महिनाको १ गते उपमहानगरका कर्मचारीले इन्धन प्रयोग हुने सवारी साधन सञ्चालन नगर्ने भएको छ। 

घोराही उपमहानगरपालिका : २ अर्ब ३२
घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरेको छ। कुल बजेट २ अर्ब ३२ करोडमध्ये १ अर्ब २५ करोड ४१ लाख ८१ हजार अर्थात ५३.८५ प्रतिशत चालू खर्च र १ अर्ब ७ करोड ४९ लाख १० हजार अर्थात ४६.१५ प्रतिशत पुँजीगत खर्च रहेको छ।

कुल विनियोजित रकम मध्ये संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदान ७४ करोड २ लाख रहेको छ। त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान ५ करोड ४० लाख  छुट्टाएको छ। 

संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय घर जग्गा रजिष्ट्रेशन, बैंक मौज्दातबाट विनियोजन गरिएको बजेट १ अर्ब ५३ करोड छ। 

तुलसीपुर उपमहानगरपालिका : १ अर्ब ८६ करोड 
तुलसीपुर उपमहानगरपालिकाले १ अर्ब ८६ करोड ४७ लाख रुपैयाँको कुल बजेट ल्याएको छ। कुल बजेट खर्चका लागि आन्तरिक स्रोतबाट ३० करोड १२ लाख, स्थानीय तह राजस्व बाँडफाँट मालपोत रजिष्ट्रेसनबाट १० करोड, अन्य बैंक मौज्दात ४ करोड ५० लाख गरी कुल आन्तरिक आम्दानी ४४ करोड ६२ लाख अनुमान गरिएको बजेट भाषणमा उल्लेख रहेको छ। 

संघीय सरकारबाट प्राप्त हुने  समानीकरण अनुदान ३३ करोड , सशर्त अनुदान ६२ करोड, समपूरक अनुदान १ करोड ६० लाख, विशेष अनुदान १ करोड ३० लाख र राजस्व बाँडफाँट रकम २३ करोड ५५ लाख ३ हजार रहेका छन्। 

त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने अनुदानहरूमा समानीकरण अनुदान १ करोड ५६ लाख, सशर्त अनुदान १ करोड ६० लाख, समपूरक अनुदान तीन करोड, विशेष अनुदान ८० लाख र राजस्व बाँडफाँट रकम ३ करोड ३१ लाख ७६ हजार र अन्य संघ/संस्था अनुदानमा नगर विकास कोष ऋण ७ करोड, युनिसेफ अनुदान ६० लाख र सडक बोर्ड नेपाल १ करोड प्राप्त हुने अनुमान गरी कुल आम्दानी बजेट अनुमान गरिएको उल्लेख छ। 

व्ययतर्फ कार्यालय सञ्चालन र प्रशासनिक खर्च २७ करोड ८ लाख ३२ हजार नगर विकास कोष सावा ब्याज किस्ता भुक्तानी ७७ लाख २३ हजार, चालू नगरस्तरीय कार्यक्रम खर्च १ करोड ६५ लाख ७७ हजार रहेका छन्।

बुटवल उपमहानगरपालिका : २ अर्ब ३५ करोड 
बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

शुक्रबार उपप्रमुख सावित्रा देवी अर्यालले आगामी आर्थिक वर्ष बजेटमा आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदान वापत १ करोड ६१ लाख, सशर्त अनुदान १ करोड ६० लाख विशेष अनुदान ८० लाख र समपूरक अनुदान २ करोड ९९ रुपैयाँ रहेको छ। 
राजस्व बाँडफाँडबाट ३१ करोड ९८ लाख र चालू आर्थिक वर्षको मस्यौदा ३४ करोड रुपैयाँ रहने उल्लेख रहेको छ। 

हेटौंडा उपमहानगरपालिका : स्थगित
हेटौंडा उपमहानगरपालिकाको बजेट ल्याउने नगरसभाको बैठक स्थगित भएको छ। कार्यपालिकामा बहुमत रहेको एमाले अनुपस्थित रहेपछि आइतबारसम्म नगर सभा स्थगित भएको हो। 

एमालेका ५४ जना कार्यपालिका सदस्य रहेका छन्। हेटौंडामा वडा एमालेको बहुमत भए पनि नगर प्रमुख एकीकृत समाजवादी र उप्रमुख कांग्रेसका रहेका छन्। 

उपमेयर राजेश बानियाँका अनुसार एमालेले मेयरको अधिकार कटौती गर्ने प्रस्ताव लगेको थियो। सो क्रममा मेयर, उपमेयर लगायतले भने नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रस्ताव लगेका थिए। तर त्यो प्रस्तावमा एमालेका ५४ जना नगर सभा सदस्यले असहमति जनाएपछि बैठक स्थगित भएको हो।

जितपुर सिमरा उपमहानगरपालिका : स्थगित
नगर सभामा गणपूरक संख्या नपुगेपछि बाराको जितपुर सिमरा उपमहानगरपालिकाको बजेट कार्यक्रम स्थगित भएको छ।

नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरुले शुक्रबारको नगरसभा बहिष्कार गरेका थिए। परामर्श नगरी नगर सभाको बैठक आयोजना गरेको भन्दै एमालेबाट निर्वाचित वडाध्यक्षले असन्तुष्टि जनाउँदै नगरसभाको बैठकमा उपस्थित भएका थिएनन्।

उपमहानगर प्रमुख राजन पौडेलले गणपूरक संख्या नपुगेपछि नगरसभा स्थगित गरिएको बताए।

कलैया उपमहानगरपालिका : १ अर्ब ५३ करोड
कलैया उपमहानगर पालिकाले १ अर्ब ५३ करोड रुपैयाँको बजेट ल्याएको छ। उपमहानगर पालिकाले चालू आर्थिक वर्षको बजेट करिब ६ करोड कम बजेट ल्याएको हो। 

चालू आर्थिक वर्षमा महानगरले जेठ मसान्तसम्म १ अर्ब ५२ करोड रुपैयाँ आम्दानी गरिसकेको छ। 

कलैया उपमहानगर पालिका भित्रका सडक कम्तिमा २० फिट कायम गर्ने नीति ल्याएको छ। निर्मित पूर्वधारको मर्मत सम्भारका लागि कोष स्थापना गर्ने भएको छ।   

जनकपुरधाम उपमहानगरपालिका : १ अर्ब ८० करोड
जनकपुरधाम उपमहानगरपालिकाले एक अर्ब ८० करोड ७१ लाख ४५ हजारको बजेट सार्वजनिक गरेको छ। शुक्रबार नगरपालिकाले नगरसभामा बजेट सार्वजनिक गरेको हो। 

विनियोजित खर्चमध्ये चालू खर्च  १ अर्ब ७ करोड ४१ लाख २७ हजार र पुँजीगत खर्च ७३ करोड ३० लाख १८ हजार विनियोजन गरिएको छ।
जसमा आर्थिक विकास तर्फ ४ करोड ५६ लाख, सामाजिक विकास तर्फ ६७ करोड ४२ लाख, पूर्वाधार विकास तर्फ ६४ करोड ६५ लाख, वन वातावरण तथा विपद व्यवस्थापन विकास तर्फ ५ करोड र सुशासन तथा संस्थागत विकास तर्फ ४९ करोड ७१ लाख रुपैयाँ अनुमानित बजेट विनियोजन गरिएको मेयर साहले बताए।

इटहरी उपमहानगरपालिका : २ अर्ब १८ करोड
इटहरी उपमहानगर पालिकाले २ अर्व १८ करोड ६ लाख १० हजारको अनुमानित बजेट पेश गरेको छ। आगामी आर्थिक वर्ष २०७९/०८० को लागि अनुमानित बजेटको स्रोतमध्ये  संघीय समानीकरण अनुदान ३४ करोड ९७ लाख, संघीय सशर्त अनुदान ४६ करोड ७७ लाख, संघीय समपूरक अनुदान ४ करोड ५० लाख, संघीय विशेष अनुदान ९ करोड रुपैयाँ आउने भएको छ। 

 प्रदेश समानीकरण अनुदान १ करोड ९९ लाख ६० हजार, प्रदेश सशर्त अनुदान २ करोड ९५ लाख ५२ हजार, प्रदेश समपूरक अनुदान १ करोड, संघीय राजश्व बाँडफाँट १८ करोड ३७ लाख २ हजार, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) २ करोड ९ लाख २० हजार, प्रदेश राजश्व बाँडफाँड मालपोत रजिष्ट्रेशन  ३२ करोड रहने उल्लेख रहेको छ। 

आन्तरिक स्रोतबाट ३६ करोड ५ लाख, नगद मौज्दात परिवर्तनबाट २७ करोड ९८ लाख ९८ हजार र आसमान नेपालको साझेदारी रकम ३७ लाख ७८ हजार रहेको छ। 

धरान उपमहानगरपालिका : १ अर्ब ६८ करोड
धरान उपमहानगरपालिकाले १ अर्ब ६८ करोड रुपैयाँको बजेट ल्याएको छ। कुल विनियोजनमध्ये चालूतर्फ ८३ करोड, पुँजीगततर्फ ८१ करोड ९५ लाख र वित्तीय व्यवस्थातर्फ ३ करोड २५ लाख रुपैयाँ छुट्याएको छ। 

आगामी आर्थिक वर्षको लागि खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व स्रोतबाट २५ करोड, संस्थागत आन्तरिक अनुदान ५ करोड, संघीय सरकारबाट अनुदानबाट ८३ करोड, प्रदेश सरकारबाट ३ करोड ५० लाख, संघिय सरकारबाट राजस्व बाँडफाँट २० करोड, प्रदेश राजस्व बाँडफाँडबाट २० करोड र अपुग ११ करोड नगद मौज्दातबाट व्यवस्थापन हुने उल्लेख गरेको छ। 

धरान उपमहानगरपालिकाले वडागत बजेट ३१ करोड ५० लाख, शहरी योजनाको लागि ३९ करोड, शिक्षा तथा खेलकुद २ करोड ५० लाख, स्वास्थ्य तर्फ ४ करोड, सामाजिक विकास तर्फ ५ करोड ८२ लाख, आर्थिक विकास तर्फ २ करोड बजेट विनियोजन गरेको छ। त्यस्तै पर्यटनतर्फ ३० लाख, सूचना तथा सञ्चार २५ लाख, साहित्यतर्फ ४५ लाख बजेट विनियोजन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .