कारोबार


एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

नेपालखबर
असार ६, २०७९ सोमबार १४:५, काठमाडौँ

गएको जेठ २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन्।

नियमित उडान भर्नका लागि एयर अरेबिया र युएइको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ। यी दुवै संयुक्त अरब इमिरेट्स (युएई) का अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई प्रदीप अधिकारीका अनुसार एयर अरेबियाले आउँदो दुई हप्ताभित्रै नियमित व्यावसायिक उडानका लागि इच्छा प्रकट गर्दै प्रक्रिया थालेको जानकारी दिए।

 उनका अनुसार खासगरी भैरहवा विमानस्थलबाट श्रम गन्तव्य मुलुक जान चाहने यात्रुको माग तथा चाप पनि उच्च रहेको छ। सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुचि बढाएका छन्।

यसैगरी एक महिनाअघि विमानस्थल उद्घाटनसँगै साताको तीन दिन नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सले पनि छिट्टै हप्तामा सातै वटा उडान सुरु गर्ने तयारी गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका प्रमुख गोविन्दप्रसाद दाहालले जानकारी दिए। 

हाल काठमाडौँ–कुवेत रुटका लागि जजिराको न्यूनतम भाडा ३३ हजार रुपैयाँ रहेको छ। भैरहवा–कुवेत रुट भएर अवतजावत गर्दा भने यसमा २० प्रतिशत अर्थात् छ हजार ६०० कममा सेवा दिँदै आएको जनाइएको छ।

जजिरा एअरले छिट्टै आफ्नो उडान तालिका परिवर्नन गरी बिहानका लागि पनि बनाउने योजना बनाएको उक्त वायुसेवाको नेपालका लागि आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवीचन्द्र सिंहले जानकारी दिए। 

उनका अनुसार भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत यात्रुले कुवेत भएर खाडीका विभिन्न मुलुकका साथै जर्जिया, इजिप्ट,अजरबैजान लगायत कुवेत हब बनाएर जजिराले उडान सञ्चालन गरिरहेका सबै गन्तव्य जाने उडान सेवा लिँदै आएका छन्।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने आउने यात्रुका लागि यो विमानस्थल सहज भएको बताइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad