पोखरामा विद्युत प्रशारण लाइन भूमिगत गरिने भएको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलो चरणमा लेखनाथ सबस्टेसनबाट पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड गर्ने घोषणा गरेका हुन्।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँगको भेटमा कार्यकारी निर्देशक घिसिङले यो अभियानमा प्रदेश सरकार र पोखरा महानगरपालिकासँग सहकार्यमा गर्ने बताए।
पोखराको बिरौटामा सबस्टेसन बन्न लागेको बताउँदै उनले त्यसमा सहजीकरण गरिदिन प्रदेश सरकारसँग आग्रह पनि गरे।
अन्यन्त्रका सबस्टेसनभन्दा फरक डिजाइनमा डोमभित्र सबस्टेसन निर्माण हुने बताएका उनले त्यसबाट वरिपरिको बस्तीमा केही असर नपार्ने जानकारी गराए।
यो सबस्टेसन बनेपछि पोखरामा झ्यापझ्याप बिजुली जाने क्रम रोकिनेसमेत उनले बताए।
मोदीखोलामा रहेका परियोजनाहरुबाट उत्पादित बिजुलीका लागि लाहाचोकमा सबस्टेसन बनिसकेकाले त्यसको कनेक्सन लेखनाथमा भइसकेको छ।
दाना, कुश्मा, बुटवल प्रशारण लाइनअन्तर्गत दानादेखि कुश्मासम्मको काम सम्पन्न भइसकेको छ।
ग्रामीण भेगमा विद्युतीकरणका लागि सामान खरिद प्रक्रियामा केही समस्या आएको उनले बताए।
गण्डकीलाई उज्यालो प्रदेश बनाउने अभियानमा सघाउने पनि उनले बताए। भेटमा गण्डकी प्रदेशमा ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री हरिशरण आचार्य, प्रमुख सचिव रविलाल पन्थ सहभागी थिए।
मुख्यमन्त्री पोखरेलले अरु प्रदेशभन्दा गण्डकीमा धेरै विद्युत उत्पादन हुने भए पनि कतिपय ग्रामीण भेगमा अझै पनि विद्युतीकरण हुन नसकेको स्मरण गराए।
गण्डकी प्रदेशको मादी करिडोर, मोदी करिडोर, मस्र्याङ्दी करिडोर र अन्य स्थानमा विद्युत आयोजनाहरु धमाधम बनिरहेको अवस्थामा विद्युत प्रशारण लाइन नहुँदा उल्झन सिर्जना हुन लागेको बताए।
गण्डकी प्रदेशको राजधानी पोखरामा बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न प्रदेश सरकार, प्राधिकरण र पोखरा महानगरबीच सहकार्य हुनुपर्ने उनले बताए।
Shares

प्रतिक्रिया