लगानी बोर्डले पश्चिम सेती र एआर ६ परियोजना निर्माण गर्ने जिम्मा भारतीय कम्पनी एनएचपीसीलाई दिएको छ।
सरकारले सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण गर्ने गरी एनएचपीसीलाई दुई परियोजना अघि बढाउने जिम्मा दिएको हो।
लगानी बोर्ड बैठकमा सहभागी एक सदस्यका अनुसार पश्चिम सेतीको परियोजना लामो समय अड्किएको भन्दै बोर्डका अध्यक्ष रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय कम्पनीलाई परियोजना निर्माण गर्न दिने प्रस्ताव गरेका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण जाँदा नै भारतलाई दिने सहमति भएको थियो।
सोअनुसार आज प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बसेको बैठकले भारतलाई दिने निर्णय गरेको हो।
योभन्दा अगाडिको बैठकले निर्णय गर्न नसकेपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा अध्ययन समति बनाएको थियो। उक्त समितिको सिफारिसमा आज भारतीय कम्पनीलाई दिने निर्णय गरेको हो।
२०५४ सालमा अस्ट्रेलियाको स्मेकलाई निर्माणको लागि जिम्मा दिइएको थियो। सम्झौताअनुसार उक्त कम्पनीले काम नगरेपछि २०६६ मा सरकारले सम्झौता तोडेको थियो। पछि फेरि २०६८ मा चीनको थ्रि गर्जेजसँग समझदारीपत्रमा हस्ताक्षर भएको थियो। चिनियाँ कम्पनीले पनि होल्ड मात्रै गरेर पछि नसक्ने बताएपछि यसको निर्माणबारे अन्योल रहँदै आएको छ।
लगानी सम्मेलन मा समेत लगानी बोर्डले पश्चिम सेती शोकेस गरेको थियो। लगानी बोर्डले पश्चिम सेतीसँगै एसआर ६ सँगै बनाउँदा पश्चिम सेतीलाई ७५० मेगावाट र एसआर ४५० मेगावाट बनाउन सकिने निष्कर्ष निकालेको छ।
एसआरको लागत अनुमान १ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ। कुल १२ सय मेगावाटको आयोजना बनाउन झण्डै ३ खर्ब लागत रहेको छ।
शोकेसअनुसार तत्कालीन मूल्यमा १ खर्ब ६० अर्ब लागत अनुमान गरिएकोमा हालको मूल्यअनुसार आयोजनाको लागत १ खर्ब ८२ अर्ब गर्ने अनुमान बोर्डको छ।
पश्चिम सेती पाउने कम्पनी कस्तो हो?
एनएचपीसी कम्पनी नामक भारतीय कम्पनी भारतको सबैभन्दा ठूलो विद्युत् उत्पादन गर्ने कम्पनी हो।
यसमा जलविद्युत् आयोजनाहरू स्थापना गर्ने सम्बन्धमा अवधारणा बनाउनेदेखि सञ्चालनसम्मका सबै गतिविधिहरू गर्न सक्ने क्षमता छ।
एनएचपीसी लिमिटेडले सौर्य र वायु ऊर्जाको क्षेत्रमा पनि विविधीकरण गरेको छ।
७ हजार ५३९ मेगावाट विद्युत् उत्पादन गरिसकेको छ। यस कम्पनीले ११ वटा विद्युतका परियोजना निर्माण गरिसकेको छ। अरुणाचल प्रदेशमा २ हजार मेगावटको सुबानसिरी तल्लो एचईपी र एचपीमा ८०० मेगावाटको पार्वती सेकेण्ड, २४० मेगावटाको सौर्य परियोजनाहरु समेत समावेश छन्।
उडिसामा एक हजार मेगावाटका परियोजना छन्। त्यस्तै अन्य ६ वटा जलविदुत् परियोजनाहरुमा लगानी रहेको देखिएको छ।
Shares

प्रतिक्रिया