काठमाडौंको भृकुटीमण्डपमा १७औं हस्तकला व्यापार मेला तथा १५औं हस्तकला प्रतियोगिता सुरु भएको छ।
नेपाल हस्तकला महासंघले नेपाली हस्तकलाको बजार प्रवर्द्धन गर्ने उद्देश्यसहित मेलाको आयोजना गरेको जनाएको छ।
महासंघका निवर्तमान अध्यक्ष तथा मेला संयोजक धर्मराज शाक्यले बिहीबारदेखि सुरु भएको मेलामा नेपाली र विदेशी हस्तकलासँग सम्बन्धित व्यवसायीहरुको सहभागिता रहेको बताए। मेलामा महासंघका सदस्य, विभिन्न जिल्ला हस्तकला संघ र बस्तुगत संघको समेत सहभागिता छ।
मेलामा धातुकला, सुनचाँदी, सुती तथा ढाकाका सामान, पश्मिना, छालाजन्य उत्पादन, प्राकृतिक रेसा र बाँसबाट बनेका सामानहरु राखिएको संयोजक शाक्यले बताए।
मेलामा ८ वटा प्याभिलियन सहित करिब २ सय वटा स्टल रहेका छन्। त्यस्तै भारत, श्रीलंका, बंगलादेश लगायतका मुलुकका व्यापारीहरुको २० वटा स्टल रहेका छन्।
संयोजक शाक्यले हस्तकला कलाकार तथा कालिगढहरुबीच प्रतिस्प्रधा गराई उत्कृष्ट हुनेलाई पुरस्कृत समेत गरिने बताए।
मेला मंसिर १६ गतेसम्म चल्नेछ।

प्रतिक्रिया