कारोबार


पश्चिम सेती जलविद्युत् आयोजना भारतलाई दिने प्रधानमन्त्रीको संकेत

पश्चिम सेती जलविद्युत् आयोजना भारतलाई दिने प्रधानमन्त्रीको संकेत

नेपालखबर
बैशाख २७, २०७९ मंगलबार १६:५६, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना भारतलाई दिने संकेत गरेका छन्। 

स्थानीय चुनावको प्रचारप्रसारका लागि गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले चुनावी सभामा उक्त आयोजना अघि बढाउन भारतसँग सम्झौता गर्ने योजनाबारे सुनाएका हुन्। 

चिनियाँ कम्पनीले उक्त आयोजना बनाए त्यसबाट उत्पादित बिजुली भारतले नकिन्ने ठोकुवा गर्दै उनले भारतीय कम्पनीलाई नै दिएर बनाउने उल्लेख गरे। 

चुनावी सभामा उनले पश्चिम सेतीसँगै पञ्चेश्वर बहुउद्देश्यीय परियोजना पनि चाँडै भारत सरकारसँग समन्वय गरी सञ्चालनमा ल्याउन कुराकानी भइरहेको बताए। 

यो आयोजना अघि बढाउने भन्दै विदेशी कम्पनीले लिएर वर्षौँदेखि होल्ड गर्ने काम मात्रै भएको छ। अस्ट्रेलियाको स्मेकदेखि चिनियाँ कम्पनी थ्रि गर्जेजसम्मले यसलाई लिएर होल्ड गर्ने मात्रै काम गरेका थिए।  

डडेल्धुराको अमरगढी नगरपालिकाको बागबजारमा मङ्गलबार आयोजित चुनावी आमसभामा बोल्दै प्रधानमन्त्री देउवा।  तस्बिरः रासस

यो आयोजना डोटी, डडेल्धुरा, बैतडी र बझाङ हुँदै बग्ने पश्चिम सेती नदीमा निर्माण हुने भनिएको छ।

फ्रान्सको कम्पनी सोग्रेहले यसको अध्ययन गरी बिजुली उत्पादन गर्न सकिने निष्कर्ष दिएको थियो। त्यतिबेला १३५ मेगावाटको बिजुली उत्पादन गर्ने भनिएकोमा पछि ७ सय ५० मेगावाट बिजुली उत्पादन गर्ने योजना बनेको थियो। 

सोलगत्तै अस्ट्रेलियाको स्मेकलाई निर्माणको लागि २०५४ सालमा जिम्मा दिइएको थियो। सम्झौताअनुसार उक्त कम्पनीले काम नगरेपछि २०६६ मा सरकारले सम्झौता तोडेको थियो।

पछि फेरि २०६८ मा चीनको थ्रि गर्जेजसँग समझदारी पत्रमा हस्ताक्षर भएको थियो। चिनियाँ कम्पनीले पनि होल्ड गरेर पछि नसक्ने बताएपछि यसको निर्माणबारे अन्योल रहँदै आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad