ad ad

कारोबार


यसरी भयाे कृषि विकास बैंकमा ३४ करोड घोटाला

यसरी भयाे कृषि विकास बैंकमा ३४ करोड घोटाला

नेपालखबर
मंसिर ९, २०७६ सोमबार ९:१३,

कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा प्रबन्धक भरतबहादुर बानियाँ र शाखा अधिकृत केदारप्रसाद गौतमले नक्कली ब्यक्ति खडा गरेर बैंकबाट ३३ करोड ९३ लाख रुपैयाँ हिनामिना गरेकाे खुलेकाे छ।

अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले शाखा अधिकृत गौतम र शाखा प्रबन्धक बानियाँले नक्कली नाम तेज बहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई बै‌ंककाे ‘कोर बैंकिङ सिस्टम’ को दुरुपयोगसमेत गरेर रकम निकालेकाे ठहर गरेकाे छ।

अख्तियारले साे कार्यमा संलग्न गौतम र बानियाँसमेत आठ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। गौतम र बानियाँसमेतका ब्यक्तिहरुले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तबरबाट ३३ करोड ९३ लाख रुपैयाँ रकम निकाली बैंकलाई हानिनोक्सानी पुर्‍याएको अख्तियारले जनाएको छ।

तत्कालीन शाखा अधिकृत गौतम तथा शाखा प्रबन्धक बानियाँ लगायत सम्झना पोखरेल गौतम, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र कृष्णहरि थापालाई जनही ३३ करोड ९३ लाख रुपैयाँ विगो माग दाबी लिई विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

बैंकका शाखा प्रबन्धक भरतबहादुर बानियाँले शाखा प्रबन्धकको हैसियतले आफू कार्यरत बैंकको रेमिटसमेतको आर्थिक कारोबार, कर्मचारीहरुको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी र दायित्व रहेकोमा सो दायित्व गम्भीरतापूर्वक वहन गर्न नसकेको, शाखा अधिकृत केदारप्रसाद गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयहरुबाट र अन्य विभिन्न बैंकहरुबाट ईसीसी मार्फत भुक्तानी लिने काम गरेको अख्तियारका ठहर छ।

यस्तै, नक्कली नाम तेज बहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई नेपाल छाडी विदेश फरार हुने योजना अनुरुप भारत गई बसेको, योजनाबद्ध ढङ्गबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा बसी ‘कोर बैंकिङ सिस्टम’ को दुरुपयोग गरी आफूहरुलाई गैरकानूनी लाभ पुर्‍याउने र बैंकलाई हानिनोक्सानी पुर्‍याउने कार्य गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।

यसका साथै सम्झना पोखरेल गौतमले आफ्ना पति तेजबहादुर थापा भन्ने केदारप्रसाद गौतमले बैंकबाट अनियमित तबरबाट निकालेको रकमबाटै कर्जा तिर्ने गरेको, गैरकानूनी तबरबाट निकालेको रकमको कारोबार गर्न बैंक खाता खोल्ने र बन्द गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको, आफ्नो नाममा भएका जग्गा जमिन सबै बेची अनियमित तरिकाबाट प्राप्त भएको रकम लुकाउन र प्रयोग गर्ने दुराशयपूर्ण उद्देश्यबाट भारततर्फ नै बसाइ–सराइ गरी गएको, केदारप्रसाद गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमले आफ्नो श्रीमानलाई नेपालबाट फरार भई विदेश जाने कार्यमा सहयोगीको भूमिका निभाउँदै नक्कली नागरिकता र राहदानी बनाई भारतमा गई बसेको भन्ने जानकारी हुँदा–हुँदै उक्त कसुरबाट प्राप्त रकम लुकाउन र प्रयोग गर्ने कार्यमा संलग्न देखिएको अख्तियारले जनाएको छ।

केदारप्रसाद गौतमले बैंकिङ कसुर गरी प्राप्त रकमबाट गाडी खरिद गरेको, सुमन भुजेल जग्गाको कारोबारमा संलग्न रहेको, सन्दीप गुप्ताले केदारप्रसाद गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिनुको साथै भारत पठाउन समेत सहयोग गरेको, सूर्यबहादुर लिम्बुले वसन्त राई भनी किर्ते नागरिकता बनाई केदारप्रसाद गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिनुको साथै भारत पठाउनसमेत सहयोग गरेको, कृष्णहरि थापाले राजीव थापाको नाममा नक्कली नागरिकता बनाई प्रस्तुत कसुरको मुख्य योजनाकार केदारप्रसाद गौतमसँग मिलेमतो गरी विभिन्न व्यक्तिहरुको नाममा नक्कली नागरिकता बनाउनुका साथै खाता खोल्नका लागि भूमिका निर्वाह गरेको, भारतमा बसी उक्त रकमको व्यवस्थापनमा प्रत्यक्षतः संलग्न रही फरार रहेको अनुसन्धानमा खुलेको छ।

निजहरूले आफूहरूलाई गैरकानूनी फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको पुष्टि हुन आएको हुँदा निजहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .