कारोबार


शिक्षण पेशा छाडेर कृषि कर्ममा रमाउँदै जोशी

शिक्षण पेशा छाडेर कृषि कर्ममा रमाउँदै जोशी

नेपालखबर
मंसिर ४, २०७६ बुधबार १०:५३,

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ का सुवाश जोशीको कृषि फार्ममा सात जना स्थानीय युवा कार्यरत छन्। दिक्तेलस्थित अल्छेढुंगामा सञ्चालन गरिएको कृषि फार्ममा काम गर्ने स्थानीय युवाको मासिक तलब रु दश हजारदेखि रु १५ हजारसम्म छ।

कृषि फार्ममा काम गर्ने युवालाई खान, बस्न र लगाउन निःशुल्क छ। जोशीको फार्ममा ब्रोइलर कुखुरा, लेयर्स कुखुरा, राँगा, गाई तथा सुँगुर पालिएको छ। १९ वर्षसम्म शिक्षण पेशा गरेका जोशीले आफ्नो पुरानो पेशा छाडेर कृषि व्यवसाय शुरु गरेका हुन्। जोशीले पञ्च मावि दिक्तेलमा विसं २०५० देखि विसं २०५६ सम्म र विसं २०५६ फागुनदेखि विसं २०६९ साउनसम्म माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा शिक्षण गरेका थिए।

जोशीको लेयर्स कुखुरा फार्ममा अहिले दैनिक दुई हजार १०० को हाराहारीमा अण्डा उत्पादन हुन्छ। उत्पादित अण्डा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको विभिन्न ठाउँ सञ्चालन गरिएको बिक्री केन्द्र तथा मुडे ब्यारेक, हलेसी गुल्म र जिल्ला प्रहरी कार्यालयमा खपत हुने गरेको जोशीले बताए।

ब्रोइलर कुखुरापालनका लागि आफ्नो नाममा त्रिशक्ति पोल्ट्री फार्म दर्ता गरेर व्यवसाय शुरु गरेका जोशीले स्थानीय बासिन्दाको समन्वयमा दोर्पा र पाथेकामा उपशाखासमेत सञ्चालन गरेका छन्। करीब आठ वर्षदेखि व्यावसायिक कृषि पेशामा लाग्नुभएका जोशीले मासुका लागि ब्रोइलर कुखुरा, सुँगुर र राँगा तथा दूधका लागि गाई र अण्डाका लागि लेयर्स फार्म खोलेका छन्।
जिल्लामा पहिलोपटक कुखुरा फार्म शुरु गर्नुभएका जोशीले पछिल्लो समय अन्य कृषकलाई समेत एकीकृत बनाएर कालिका कृषि सहकारी खोलेका छन्। जोशी सो संस्थाका संस्थापक तथा अहिले पनि अध्यक्ष हुन्। व्यवसायी जोशीले आसपासका नौवटा ब्रोइलर फार्मलाई दाना, चल्ला, औषधि दिनुका साथै निःशुल्क प्राविधिक सेवासमेत उपलब्ध गराउँदै आउएका छन्। जोशीको र्फाममा उत्पादित राँगा, कुखुरा र दूध जिल्लामै उपयोग हुन्छ भने, सुँगुर राजधानी काठमाडौँ पठाउने गरिएको जनाइएको छ।

आफ्नै २२ रोपनी जग्गामा कृषि व्यवसाय सञ्चालन गर्दै आएका जोशीको सबै खर्च कटाएर मासिक आम्दानी रु ८० देखि ९० हजारसम्म हुने गरेको पाइएको छ। जिल्लामा अहिले ब्रोइलर कुखुराको मासु प्रतिकेजी रु ४००, सुँगुर रु ३०० र राँगा प्रतिकेजी रु ३५० मा पाइन्छ। अण्डा प्रतिकार्टुन (२१० दाना)लाई रु दुई हजार ३०० र दूध प्रतिलिटर ७० मा बिक्री हुने गरेको पाइएको छ।

एक छोरी र एक छोराका बुबा जोशीले अहिलेसम्म सरकारी निकायले केहिमा पनि साथ नदिएको आरोप लगाए। ‘जिल्लामा केहि गरौँ भनेर कृषि व्यवसाय शुरु गरियो’, उनले भने, ‘सरकारी निकायबाट बाहिरी आयातलाई रोक लगाउँदै सहुलियत ऋण उपलब्ध गराएमा थप केही गर्न सकिन्छ भन्ने लागेको छ।’

अण्डा र कुखुराको मासुमा जिल्ला आत्मनिर्भर रहेको घोषणा गरिए पनि बाहिरी आयातमा रोक नलगाउँदा घाटाको व्यापार गर्नुपरेको जोशीले बताए। जोशीको फार्ममा पालिएका सुँगुर, राँगा र गाईलाई सोही फार्ममा उत्पादन गरिएको घाँस तथा दाना दिने गरिएको त्यहाँका कामदारले बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad