चालू आर्थिक वर्षको तीन महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्षको तुलनामा बैंकहरुको नाफा वृद्धि भएको देखिएको छ। हालसम्म वित्तीय विवरण सर्वाजनिक गर्ने १० बैंकमध्ये सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले कमाएको देखिएको हो।
ग्लोबलले तीन महिनामा ७३ करोड ४६ लाख रुपैयाँ नाफा गरेको वित्तीय विवरणमा उल्लेख छ। गत वर्षको यस अवधिमा बैंकको नाफा ५३ करोड ४७ लाख रुपैयाँ थियो।
सबै बैंकले नाफा वृद्धि गरिरहँदा नेपाल बैंक लिमिटेडको भने अधिकांश सूचकहरु नकारात्मक देखिएका छन्।
बैंकको खराब कर्जा दुई प्रतिशतभन्दा माथि रहँदा नाफामा समेत ३६ प्रतिशतले गिरावट आएको हो। त्यस्तै सनराइज बैंकको भने सबै सूचकाङ्क सकारात्मक देखिँदा खराब कर्जा भने केही बढेको छ। बैंकको खराब कर्जा एक दशमलव १२ प्रतिशतबाट बढेर एक दशमलव २७ पुगेको छ।
यस्तो छ बैंकहरुको नाफा

ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले चालू आर्थिक वर्षमा ३७ दशमलव ४० प्रतिशतले नाफा बढाएको हो। बैंकले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा ७३ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको हो। बैंकको खुद ब्याज आम्दानी ३० प्रतिशतले सुधार भएको छ। बैंकले यो अवधिमा खुद ब्याज आम्दानी एक अर्ब ५६ करोड रुपैयाँ आर्जन गरेको छ। निक्षेप संकलन एक खर्ब २८ अर्ब रुपैयाँ पुग्दा तीन महिना अवधिमा छ दशमलव ६५ प्रतिशतले बढेको छ। कर्जा विस्तार भने आठ दशमलव ७३ प्रतिशतले बढेको छ।
बैंकले एक खर्ब १८ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पुँजी १० अर्ब चार करोड रुपैयाँ छ। त्यस्तै, जगेडा कोषमा चार अर्ब एक करोड रुपैयाँ जम्मा गरेको छ। पुँजी कोष अनुपात ११.८७ प्रतिशत छ। खराब कर्जामा उल्लेख्य सुधार गर्न सफल बैंकले एक दशमलव ०५ प्रतिशतबाट शून्य दशमलव ८५ प्रतिशतमा झारेको छ। प्रतिसेयर आम्दानी २० रुपैयाँबाट २८ रुपैयाँ पुगेको छ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले चालू आर्थिक वर्षको प्रथम तीन महिनामा ६९ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६ करोडले बढी हो। एक वर्षमा बैंकको निक्षेप १५ अर्बले बढेर १ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। कर्जा लगानी १२ अर्बले बढेर १ खर्ब ९ अर्ब रुपैयाँ भएको छ। विभिन्न कम्पनीको सेयरमा बैंकले लगानी ८ अर्बले वृद्धि भई २४ अर्ब रुपैयाँ पुगेको छ। कम्पनीको वासलात एक वर्षमा १६ अर्बले वृद्धि भई १ खर्ब ६१ अर्ब रुपैयाँबराबर भएको छ।
चुक्ता पुँजी ८ अर्ब १० करोड रुपैयाँ रहेको यस बैंकको पुँजी पर्याप्तता अनुपात १३ दशमलव ७९ प्रतिशत छ। बैंकको खराब कर्जा शून्य दशमलव १७ प्रतिशत छ। बैंकको कष्ट अफ फण्डको दर केही वृद्धि भए पनि बेस रेटमा सुधार देखिएको छ। एक वर्षअघि ८ दशमलव ८ प्रतिशत बेसरेट रहेकोमा हाल ८ दशमलव ५२ प्रतिशतमा झरेको छ। प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ रहेको यस बैंकको प्रतिसेयर आम्दानी भने १६ रुपैयाँ ४६ पैसा छ।
कृषि विकास बैंक
कृषि विकास बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासिकमा ६० करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच करोड ६० लाख रुपैयाँ बढी हो। बैंकले गत वर्षको यही समयमा ५५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। गत वर्ष सोही अवधिमा २० दशमलव ८५ रुपैयाँ प्रतिसेयर आम्दानी गरेको बैंकले चालू वर्षको सोही अवधिमा २३ दशमलव ३३ रुपैयाँ रहेको छ।
बैंकले १ खर्ब २३ अर्ब ५४ करोड निक्षेप संकलन गरी एक खर्ब ११ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निक्षेप तीन अर्ब ७८ करोड र कर्जा परिचालन ६६ करोड रुपैयाँले बढेको छ। बैंकको निष्क्रिय कर्जा घटेर तीन दशमलव ९३ प्रतिशतबाट तीन दशमलव ७० प्रतिशतमा झरेको छ। बैंकको पुँजी कोष अनुपात २० दशमलव ७७ प्रतिशत, कर्जा निक्षेप अनुपात ८१ दशमलव ७३ प्रतिशत रहेको छ। त्यस्तै, आधार दर घटेर १० दशमलव १८ प्रतिशत र स्प्रेडदर ५ दशमलव २६ प्रतिशत रहेको छ।
प्रभु बैंक
प्रभु बैंकले चालू आवको पहिलो तीन महिनामा ६२ करोड नाफा कमाएको छ। बैंकले चालू आवको यस अवधिमा ६२ करोड ८४ लाख नाफा गरेको हो। बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार वितरणयोग्य नाफा भने पाँच करोड ५७ लाख रुपैयाँमात्रै रहेको छ। आठ अर्ब ८९ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा चार अर्ब ३९ करोड रुपैयाँ छ।
साउनदेखि असोजसम्मको यो अवधिमा बैंकले एक खर्ब छ अर्ब ४६ करोड निक्षेप संकलन गरेर ९१ अर्ब ६८ करोड कर्जा प्रवाह गरेको छ। बैंकको सीसीडी रेसियो ७७ दशशमलव ८१ प्रतिशत कायम भएको छ। बैंकको स्प्रेडदर ५ दशमलव १५ प्रतिशत छ भने खराब कर्जा तीन दशमलव ३२ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी २८ दशमलव २७ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १६७ दशमलव १२ रुपैयाँ छ। बैंकको प्रतिसेयर मूल्य २ सय ८० रुपैयाँ रहेको छ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासिकमा ५२ करोड १४ लाख रुपैयाँ कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकले कुल ५२ करोड ५० लाख रुपैयाँ कमाएको थियो। चालू आवको तीन महिनासम्ममा बैंकले निक्षेपतर्फ करिब साढे ३ अर्बले वृद्धि गरेको छ। गत आवको असोजसम्ममा एक खर्ब १४ अर्ब रुपैयाँ संकलन गरेको बैंकले चालू आवको सोही अवधिमा एक खर्ब १८ अर्ब रुपैयाँ संकलन गरेको छ। त्यस्तै, कर्जा प्रवाह तीन अर्ब ८० करोडले बढाएको छ।
असोज मसान्तसम्ममा बैंकले कर्जा प्रवाह एक खर्ब आठ अर्ब रुपैयाँ छ। बैंकको जगेडा कोषमा चार अर्ब १६ करोड रुपैयाँ रहेको छ। असोजमसान्तसम्म तीन अर्ब ८१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले दुई अर्ब ३८ करोड रुपैयाँ ब्याज खर्च गरेको छ। बैंकको कस्ट अफ फण्ड सात दशमलव ३३ प्रतिशत, बेसरेट १० दशमलव ०२ प्रतिशत र सीसीडी रेसियो ७७ दशमलव ३६ प्रतिशत रहेको छ। त्यस्तै, पुँजी पर्याप्तता अनुपात भने १४ दशमलव २६ प्रतिशत र ब्याजको स्प्रेडदर घटेर ४ दशमलव ४३ प्रतिशत रहेको छ। त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी २३ दशमलव ०३ रुपैयाँ रहेको छ।
सानिमा बैंक
यस्तै सानिमा बैंकको नाफा पनि १४ दशमलव ४० प्रतिशतले बढेको छ। गत साउनदेखि असोजसम्म बैंकले ५९ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा सात करोड ४७ लाख रुपैयाँ बढी हो। बैंकले अघिल्लो वर्षको सोही अवधिमा ५१ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो। चालू आवको तीन महिनासम्ममा बैंकले निक्षेपतर्फ साढे ६ अर्ब वृद्धि गर्दा कर्जा प्रवाह दुई अर्ब ११ करोडले बढाएको छ। बैंकको निक्षेप संकलन ९५ अर्ब ९२ करोड हुँदा कर्जा प्रवाह ८३ अर्ब ५२ करोड रहेको छ।
असोज मसान्तसम्म बैंकले दुई अर्ब ९६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ भने एक अर्ब ८१ करोड रुपैयाँ ब्याज खर्च गरेको छ। प्रतिसेयर आम्दानी २६ दशमलव ४७ रुपैयाँ रहेको छ। गत साउनदेखि असोज मसान्तसम्म ६३ दिन कारोबार भएको बैंकको १२ लाख २९ हजार ७१० कित्ता सेयर किनबेच भएको थियो। सो अवधिमा बैंकको सेयर प्रतिकित्ता तीन सय रुपैयाँदेखि ३६१ रुपैयाँको बीचमा कारोबार भएको थियो।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले तीन महिनामा ३२ प्रतिशतले नाफा बढाएको छ। तीन महिनाको अवधिमा बैंकले ४० करोड १९ लाख रुपैयाँ नाफा गरेको हो। गत वर्षको यही अवधिमा ३० करोड ३० लाख रुपैयाँ थियो। खुद ब्याज आम्दानी १६ प्रतिशतले बढेर ८६ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ। तीन महिनाको अवधिमा निक्षेप संकलन २ दशमलव ३४ प्रतिशतले बढ्दा ऋण लगानी भने चार दशमलव ८० प्रतिशतले बढेको छ। बैंकले यही अवधिमा ८२ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब १९ करोड रुपैयाँ ऋण लगानी गरेको छ।
चुक्ता पुँजी आठ अर्ब ९२ करोड रुपैयाँ छ भने जगेडामा दुई अर्ब २४ करोड रुपैयाँ जम्मा गरेको छ। पुँजीकोष अनुपात १२ दशमलव ३६ प्रतिशतबाट खुम्चिएर ११ दशमलव ९० प्रतिशतमा झरेको छ। खराब कर्जा एक दशमलव ५० प्रतिशतबाट सुधार भई एक दशमलव ०४ प्रतिशतमा झार्न सफल भएको छ। स्प्रेडदर चार दशमलव ०५ प्रतिशतबाट बढेर चार दशमलव ३३ प्रतिशत पु¥याएको छ। प्रतिसेयर आम्दानी चार रुपैयाँले सुधार भएर १८ रुपैयाँ पुगेको छ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। जुन गत आवको सोही अवधिको तुलनामा १३ दशमलव ३७ प्रतिशतले बढी हो। गत आवको पहिलो त्रैमासिकमा बैंकले ५८ करोड १९ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो अवधिमा आइपुग्दा बैंकको वितरणयोग्य नाफा २२ करोड ८८ लाख ४३ हजार रुपैयाँ छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा बैंकले एक अर्ब छ करोड पाँच लाख पाँच हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ९४ करोड ४४ लाख ९७ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। बैंकको खराब कर्जा एक दशमलव ४१ प्रतिशतबाट घटेर एक दशमलव १४ प्रतिशतमा आएको छ। बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ २४ पैसा छ।
नेपाल बैंक
नेपाल बैंकले निक्षेप संकलन गरेअनुसार ऋण विस्तार गर्न नसक्दा ब्याज खर्च बढेको छ। ब्याज आम्दानीको तुलनामा ब्याज खर्च अधिक हुँदा बैंकको नाफा ३६ दशमलव ३३ प्रतिशतले खुम्चिएको छ। तीन महिनाको अवधिमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिमा ९१ करोड ३८ लाख रुपैयाँ नाफा थियो। ब्याज आम्दानीको तुलनामा ब्याज खर्च अधिक हुँदा बैंकको खुद ब्याज आम्दानी २ दशमलव ९९ प्रतिशतले घटेको छ। तीन महिनाको अवधिमा यस्तो आम्दानी एक अर्ब ३२ करोड रुपैयाँ छ। बैंकको ब्याज आम्दानी २६ प्रतिशतले बढ्द ब्याज खर्च भने ७१ प्रतिशतले बढेको छ। जब कि एक वर्षको अवधिमा बैंकको निक्षेप संकलन २२ प्रतिशतले बढेको छ भने ऋण लगानी १७ प्रतिशतले मात्रै बढेको छ।
पहिलो त्रैमासिक अवधिमा एक खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ६५ करोड रुपैयाँ रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्षको यही अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब चार करोड रुपैयाँ ऋण लगानी गरेको थियो। चुक्ता पुँजी नौ अर्ब ८१ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १३ अर्ब २५ करोड रुपैयाँ छ। बैंकको जम्मा पुँजीकोष २९ अर्ब ४१ करोड रुपैयाँ छ। पुँजी कोष अनुपात २३ दशमलव ९२ प्रतिशतबाट १८ दशमलव ०१ प्रतिशतमा झारेको देखिन्छ। त्यस्तै खराब कर्जा समान्य सुधार भई दुई दशमलव ७५ प्रतिशतमा झारेको छ। निक्षेपको खर्च बढ्दा स्रोत लागत तीन दशमलव ८४ प्रतिशतबाट बढेर पाँच दशमलव २२ प्रतिशत पुगेको छ। आधार ब्याजदर सात दशमलव ५२ प्रतिशतबाट बढेर सात दशमलव ८४ प्रतिशत पुगेको छ। स्प्रेडदर केही घटाएर चार दशमलव ४७ मा झारेको छ। प्रतिसेयर आम्दानी भने ३७ रुपैयाँबाट खुम्चिएर २३ रुपैयाँमा झरेको छ।
सनराइज बैंक
सनराइज बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ४५ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले गत वर्ष यही अवधिको तुलनामा ३७ दशमलव ०६ प्रतिशतले नाफा बढाएको हो। खुद ब्याज आम्दानी ३३ प्रतिशतले सुधार भएर एक अर्ब १० करोड रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यस्तो आम्दानी ८१ करोड १८ लाख रुपैयाँ थियो। तुलनात्मक रुपमा ब्याज खर्चमा केही कमी हुँदा नाफा बढाउन सफल भएको हो। बैंकको ब्याज आम्दानी १५ प्रतिशतले वृद्धि हुँदा ब्याज खर्च भने ५ दशमलव ८३ प्रतिशतले मात्रै बढेको छ।
सर्वसाधारणबाट ७७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। तीन महिनाको अवधिमा निक्षेप संकलन तीन दशमलव २६ प्रतिशतले बढ्दा ऋण लगानी भने पाँच दशमलव ३७ प्रतिशतले बढेको छ। बैंकको चुक्ता पुँजी आठ अर्ब १५ करोड रुपैयाँ छ भने जगेडा कोषमा दुई अर्ब ९४ करोड रुपैयाँ जम्मा गरेको छ। खराब कर्जा एक दशमलव १२ प्रतिशतबाट बढेर एक दशमलव २७ प्रतिशतमा पुगेको छ। स्प्रेडदर झिनो प्रतिशत विन्दुले घटेर नेपाल राष्ट्र बैंकको निर्देशनअनुरुप चार दशमलव पाँच प्रतिशत कायम गरेको छ। प्रतिसेयर आम्दानी एक वर्षको अवधिमा १६ रुपैयाँबाट बढेर २२ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया