कारोबार


बढ्दै विद्युतीय गाडीको माग, महिन्द्राले भित्र्याउँदै दुई नयाँ कार

बढ्दै विद्युतीय गाडीको माग, महिन्द्राले भित्र्याउँदै दुई नयाँ कार

अग्नि इन्कर्पोरेटेडका प्रवन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भारतमा सार्वजनिक भएलगत्तै महिन्द्राका २ वटा विद्युतीय गाडी नेपाल आउने बताए


वसन्त अर्याल
माघ १२, २०७८ बुधबार १०:३३, काठमाडौँ

नेपालको बजारमा प्रतिस्पर्धा गर्न महिन्द्राले २ वटा नयाँ विद्युतीय गाडी भित्र्याउने भएको छ। 

विद्युतीय इटुओ गाडीमार्फत विद्युतीय गाडीको बजार बनाएको महिन्द्राले यसैवर्ष २ वटा एसयुभी ल्याउने भएको हो। 

भारतमा सार्वजनिक गर्ने तयारीमा रहेका २ वटै गाडी यो वर्ष नेपाल आउने नेपालमा महिन्द्राको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडले जनाएको छ। 

कोभिड माहामारीको कारण भारतमा सार्वजनिक हुन नसकेका इकेयुभी १०० मार्च र एक्सयुभी ३०० अप्रिलमा लञ्च गर्ने तयारी छ। 

अग्नि इन्कर्पोरेटेडले अग्नि इनर्जी कम्पनी स्थापना गरी नेपालमा विद्युतीय गाडी भित्र्याउँदै आएको छ। महिन्द्राको इटुओ नेपालमा बढी विक्री हुने विद्युतीय गाडीमा पर्छ।

‘महिन्द्राले भारतमा २ वटा विद्युतीय गाडी ल्याउँदै छ। तर कोभिडको कारण लन्च हुन सकेको छैन,’ अग्नि इन्कर्पोरेटेडका प्रवन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने, ‘गाडी उत्पादनमा सप्लाई चेन समस्या र चिप्स अभाव अझै टर्न सकेको छैन। भारतमा सार्वजनिक भएको केहि समयमै २ वटा विद्युतीय गाडी नेपाल आउँछन्।’

श्रेष्ठले महिन्द्राका विद्युतीय गाडीका लागि नेपाल राम्रो बजार भएको बताए।

‘हामीले नेपालमा विद्युतीय गाडीको बजार देखेर छिट्टै ल्याउन खोजेका छौं तर मिति निश्चित भैसकेको छैन,’ श्रेष्ठले भने।

महिन्द्राको ईकेयुभी १०० मा  १५.९ किलोवाट आवर  ब्याट्री प्याक रहेको छ। यसले ४० किलोवाट पावर र १२० एनएम टर्क जेनेरेट गर्छ। एक पटकको चार्जमा १५० किलोमिटर दिन्छ। त्यस्तै एक्सयुभी ३०० ले एकपटकको चार्जमा ३०० किलोमिटर दिने अनुमान गरिएको छ। 

वैशाखमा एक्सयुभी ७०० पनि भित्रिँदै
अग्निले वैशाखमा नयाँ प्रोडक्टको रुपमा महिन्द्राको एक्सयुभी ७०० सार्वजनिक गर्दैछ। कोभिडको कारण बजार सिथिल बनेकाले वैशाखमा सार्वजनिक गर्न लागेको श्रेष्ठले जानकारी दिए।

‘अहिले अटोमेटिभ बजार सिथिल बनेको छ। नयाँ गाडी सार्वजनिक गर्दा त्यति राम्रो हुँदैन,’ श्रेष्ठ भन्छन् ‘वैशाख लागेपछि नयाँ गाडी सार्वजनिक गर्छौं।’

भारतमा महिन्द्राको एक्सयुभी ७०० सार्वजनिक भैसकेको छ। म्यानुअल र अटोमेटिक दुवै भर्जनमा रहेको गाडी टर्बो इन्जिनमा उपलब्ध छ।पावरफुल गाडीको रुपमा रहेको एक्सयुभी २ हजार सिसीको पेट्रोल र २१८० सीसीको डिजेल इन्जिनमा भारतीय बजारमा उपलब्ध रहेको छ।  

६ स्पिड गियरबक्स रहेको गाडीमा ४ सिलिन्डर रहेको छ। ५ सिटर गाडीको ६० लिटर फिउल ट्यांक रहेको छ। 

बोलेरो र स्कोरपियोको हिस्सा ९० प्रतिशत  
नेपालमा पिकअप सेगमेन्टमा महिन्द्राको ७० प्रतिशत बजार हिस्सा रहेको छ। स्कोरपियो र बोलेरो व्यवसायीक रुपमा प्रयोग बढ्दा महिन्द्राको आम्दानीको ९० प्रतिशत ओगटेको छ। 

कोभिड माहामारीको कारण अग्नि इन्कर्पोरेटेडको आम्दानी २०२० मा ४२ प्रतिशतले घटेको थियो, जुन २०२१ मा २७ प्रतिशतले बढेको छ।

सन् २०२१ मा महिन्द्राका पिक अप र ट्याक्टरको विक्री ५६ प्रतिशतले बढ्दा कार सेगमेन्टमा २१ प्रतिशतले व्यापार घटेको छ। 

२०२१ मा कम्पनीले कमर्सियल भेहिकलबाट ७६ प्रतिशत आम्दानी गरेको छ भने प्यासेन्जर भेहिकलमा​ २१ प्रतिशतमा सिमित रहेको छ। २०१९ मा प्यासेन्जर भेहिकलको आम्दानी हिस्सा ४१ प्रतिशत रहेको छ। 

२०२१ मा महिन्द्राको प्यासेन्जर भेहिकलको कारोबार घट्नुमा सेमी कन्डर चिप अभाव रहेको छ। कुल आम्दानीको हिसाबले महिन्द्राको नाफा बढेको छ। २०२० मा १०.३ प्रतिशत नाफा रहेकोमा २०२१ मा ११ प्रतिशत पुर्याएको छ। 

अग्नि इन्कर्पोरेटेडले २०१८ मा १६ अर्ब २५ करोडको कारोबार गरेकोमा २०१९ मा १६ अर्ब ३५ करोड रुपैयाँको कारोबार गरेको थियो। 

कोभिडका कारण २०२० मा कम्पनीको कारोबार ह्वात्तै घटेकोमा अहिले सुधार उन्मुख रहेको छ। २०२० मा ९ अर्ब ४९ करोड रुपैयाँ कारोबार रहेकोमा २०२१ मा १२ अर्ब रुपैयाँ पुर्याएको छ। 

अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राका युटिलिटी भेहिकल, पिकअप र महिन्द्राका टेक्टर विक्री गर्दै आएको छ। कम्पनीका ११ वटा आफ्नै शोरुम रहेका छन् भने २२ वटा क्षेत्रीय डिलरसिप आउटलेट् छन्। अग्नि इन्कर्पोरेटेडमा क्याबिनेट श्रेष्ठसँगै सुसन वैद्य श्रेष्ठ र अर्जुन प्रसाद शर्मा रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad