ad ad

कारोबार


प्रविधि सिक्न कक्षाकोठाबाट निस्केर हुवावेसँग जब घान्द्रुक पुगे विद्यार्थी

प्रविधि सिक्न कक्षाकोठाबाट निस्केर हुवावेसँग जब घान्द्रुक पुगे विद्यार्थी

हुवावेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रम अन्तर्गत प्रविधि अध्ययन गर्न घान्द्रुक पुगेका विधार्थी (तस्बिर: हुवावे)


वसन्त अर्याल
पुस १४, २०७८ बुधबार १३:०, काठमाडौँ

विश्वमा प्रविधिले लामो फड्को मारिसक्दा नेपालका कक्षाकोठामा अझै प्रविधिसम्बन्धी सैद्धान्तिक विषय मात्र अध्ययन/अध्यापन भइरहेका छन्। 

विद्यार्थीहरुले पढ्ने पाठ्यक्रम निकै ढिलो गरी परिवर्तन हुने गरेको छ। यसो हुँदा नयाँ आविष्कारसम्बन्धी अध्ययन गर्ने अवसर विद्यार्थीले निकै कम मात्रामा पाउँछन्। 

यही ‘ट्रेन्ड’ परिवर्तन गर्न चाहन्छ चिनियाँ प्रविधि कम्पनी हुवावे। कम्पनीले नयाँ प्रविधि र आविष्कार सिकाउन थालेको ‘सिड्स फर द फ्युचर’ यसैको उदाहरण हो। 

हुवावेले ‘सिड्स फर द फ्युचर’ अर्थात् भविष्यको लागि बीउ उत्पादन गरिरहेको छ। यही सिलसिलामा नेपालमा पनि कम्पनीले यो कार्यक्रम सुरु गरेको छ। 

तिनै ‘बीउ’मध्ये एक हुन् अंकित खनाल। 

ब्याच्लर्स इन कम्प्युटर इन्जिनियरिङका विद्यार्थी। कक्षा कोठामा प्रविधिसम्बन्धी सैद्धान्तिक विषय अध्ययनमा व्यस्त थिए खनाल। कसरी कुन प्रविधिले काम गरिरहेको प्रत्यक्ष रुपमा कलेजमा देख्न पाउँदैनथे। 

‘हामीले कलेजमा यूपीएस, ओएलटीमार्फत इन्टरनेट घरमा कसरी आइपुग्छ भन्ने सैद्धान्तिक विषयको अध्ययन गरिरहेका थियौँ’, खनाल भन्छन्।

तर खनाललाई हुवावेले एउटा सुवर्ण मौका सिर्जना गरेको छ– ‘सिड्स फर द फ्युचर’ कार्यक्रममार्फत। 

हुवावेले विश्वभर प्रविधिसम्बन्धी अध्ययन गरिरहेका विद्यार्थीको क्षमता अभिवृद्धिको लागि यो कार्यक्रम ल्याएको हो। 

सन् २००८ मा थाइल्यान्डमा सुरु भएको यो कार्यक्रममा हालसम्म १ सय ३० देशका ९ हजारभन्दा बढी विद्यार्थीले भाग लिइसकेका छन्। 

नेपालमा पहिलोपटक उक्त कार्यक्रम सञ्चालन गर्दैगर्दा खनाललगायतका नेपाली विद्यार्थीले पनि सहभागिता जनाउन पाएका छन्। 

प्रविधिको विकासको लागि डेटा सबैभन्दा महत्वपूर्ण हुन्छ। कार्यक्रममा छानिएका नेपाली विद्यार्थीले हुवावेको एक्जिविसन हलमा डेटालाई कसरी राख्ने, कसरी गोपनीय राख्ने भन्ने देख्ने अवसर पाए। 

विश्वबजारमा प्रवेश गरिसकेको फाइभजी प्रविधिको नेपालमा पनि प्रवेश गर्ने संघारमा छ। 

यसका लागि नेपाल टेलिकमले परीक्षणको तयारी गर्दै छ। यही बीचमा हुवावेले ‘सिड्स फर दि फ्युचर्स’ कार्यक्रमले विद्यार्थीलाई फाइभजी कसरी चल्छ भन्ने देखाएको छ। 

‘फाइभजीमा म्यासिभ मिमो भन्ने हुँदो रहेछ। नेटवर्कको टावर संरचना कस्तो हुन्छ, कति ब्यान्डविथ हुनुपर्छ भन्ने सिक्न पायौँ’, कार्यक्रममा सहभागी खनालले भने।  

हुवावेले विद्यार्थीलाई कलेजमा अध्ययन गर्ने विषयबाहेक फाइभजी, क्लाउड कम्प्युटिङ, एआईसम्बन्धी तालिम दिएको छ। मलेसियालगायतका देशमा अटोनोमस अर्थात् ड्राइभरविना एआईको माध्यमबाट गाडी कसरी सञ्चालन भएका छन् भन्ने पनि बुझ्ने अवसर मिलेको उनले बताए।  

‘अटोनोमस भेहिकल, रोबोटिक्स, क्लाउड कम्प्युटिङ विषयमा विज्ञ सरहरुले बुझाउनुभयो’, उनले भने, ‘हुवावेकै एक्विजिसन हल भिजिट कार्यक्रम रहेको थियो। त्यसमा हुवावेले के–के बजारमा ल्याउँदै छ भन्ने जानकारी दियो।’

कम्प्युटर विज्ञानमै स्नातक अन्तिम वर्षमा अध्ययन गरिरहेका जनक भट्ट पनि कार्यक्रममा सहभागी हुन पाएकोमा दंग छन्।   

‘हामीले कलेजको कक्षाकोठामा पढेभन्दा व्यावहारिक बढी थियो’, भट्टले खुसी हुँदै नेपालखबरसँग भने, ‘कलेजमा पढेभन्दा नयाँ कोर्स पनि थियो। विश्वविद्यालयको पाठ्यक्रममा नभएको फाइभजीलगायतको विषयमा अध्ययन गर्न पायौँ।’

विश्वका राम्रा प्रविधिसम्बन्धी विज्ञसँग सिक्न पाएको भट्टले सुनाए। कम्पनीले विद्यार्थीलाई कस्तो प्रविधिले कसरी काम गर्छ तथा आफ्नो नेतृत्वक्षमता कसरी विकास गर्ने भन्ने पनि सिकाएको उनको भनाइ छ।  

‘विद्यार्थीसँग भएको ज्ञानलाई ग्रुमिङ गर्न पनि सहयोग पुर्यायो’, भट्टले भने, ‘अध्ययन गरेर मात्रै बजारमा भिड्न सकिँदैन। लिडरसिप कार्यक्रमले मेरो आत्मविश्वास बढाएको छ।’

आठ दिनको तालिममा विद्यार्थीले विभिन्न कोर्समध्ये मिडल सर्भर, हाई सर्भर, पावर स्टेसन, सोलार प्यानल, स्मार्ट सिटीमा प्रविधिसम्बन्धी ज्ञान प्राप्त गरेका छन्।  

 

१३६ आवेदनबाट २० जना विद्यार्थी छनोट 
नेपालमा पहिलोपटक आयोजना भएको ‘सिड्स फर द फ्युचर्स  कार्यक्रममा ९ विभिन्न आईसीटी पृष्ठभूमिबाट आएका, ८ विश्वविद्यालय र १३ शैक्षिक संस्थाका १९ विद्यार्थीले भाग लिने अवसर पाए। 

हुवावेले १ महिनाको आवेदन माग गरी विद्यार्थी छनोट गरेको थियो। गत असोज २० देखि कात्तिक २१ को बीचमा १३६ जना विद्यार्थीले आवेदन दिएका थिए। 

तीमध्ये त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रो.डा शशिधरराम जोशी, प्रा.डा सुवर्ण शाक्य र प्रा. तिमिला यमी थापाले २० विद्यार्थीलाई छनोट गरेका थिए। १ विद्यार्थी व्यक्तिगत कारणले उपस्थित हुन नसकेको कम्पनीले जनाएको छ। 

हुवावेले विद्यार्थीलाई नेतृत्व क्षमता विकास र प्रविधिबाहेक विभिन्न देशका विद्यार्थीलाई अनलाइन कक्षामार्फत सांस्कृतिक कार्यक्रम पनि गराएको थियो। 

‘मोरक्को, मलेसिया, अर्मेनिया, बुल्गेरियाका देशको संस्कृति, परम्परा देखाए’, खनालले भने, ‘हामीले पनि नेपालबारे उहाँहरुलाई देखायौँ।’

‘इन्टरनेट र फोन नेटवर्क सिस्टम’को अवलोकन

हुवावेले विद्यार्थीलाई अनलाइन कक्षा मात्रै होइन फिल्ड भिजिट पनि गराएको छ। 

इन्टरनेट कसरी घरमा पुग्छ भन्ने सिकाउन डिशहोमको कार्यालय भिजिट गराइएको थियो भने ग्रामीण क्षेत्रमा कसरी फोरजीको टावरले काम गरेको छ भन्ने देखाउन कास्कीको घान्द्रुक लगेको थियो। 

‘सिड्स फर द फ्युचर कार्यक्रमबाट सिकेको र किताबमा पढेको कुरा कसरी लागू हुन्छ भन्ने मुख्य कुरा हो’, विद्यार्थी भट्टले भने। 

विद्यार्थीहरुले अधिकांश हुवावेकै विज्ञहरुसँग अनलाइन कक्षा लिएका थिए। लिडरसिप, अटोनोमस भेहिकल (स्वचालित) सम्बन्धी ज्ञान बाहिरका विज्ञले अध्ययन गराए।

दुई जनाबीच फोनमा कुराकानी हुँदा टावरले कसरी काम गर्छ भनी उनीहरुले शिक्षा पनि पाएको जानकारी पाइयो। 

‘कन्जुमरलाई मोबाइल नेटवर्क सुविधाको अनइन्टरप्टेड सेवा प्रदान गर्नको लागि साइट संरचनामा पावरको ब्याकअपको लागि सोलार प्लान्ट, ब्याट्री र इन्धनको विकल्प हुने रहेछ। बिजुली गएको खण्डमा कसरी विकल्पले काम गर्छ त्यो पनि शिक्षा पायौँ’, काठमाडौं फर्किएपछि खनालले भने, ‘अनइन्टरप्टेड टेलिकम सेवा जनतालाई प्रदान गर्न लाग्ने जटिलता पनि महशुस गर्न पायौँ।’ 

‘हुवावेले डिशहोम कार्यालयमा लगेर विदेशबाट नेपालमा कसरी इन्टरनेट आइरहेको छ। यहाँबाट घरका राउटरमा कसरी इन्टरनेट पुगेको छ भन्ने प्रत्यक्ष देखायो’, विद्यार्थी खनालले भने।

विश्व प्रतिस्पर्धामा भाग लिने अवसर

‘सिड्स फर द फ्युचर’ कार्यक्रममा सहभागी विद्यार्थीले विश्व प्रतिस्पर्धा हुने टेकफरगुडमा भाग लिन पाउनेछन्। जहाँ २० हजार डलरसम्म पुरस्कार जित्न सक्नेछन्। 

हुवावेले सिड्स फर द फ्युचर कार्यक्रमा सहभागी विश्वभरका विद्यार्थीलाई उक्त प्रतिस्पर्धामा सहभागी गराउँछ। जहाँ विद्यार्थीले प्रविधिको माध्यमबाट समाज वा वातावरणमा के फाइदा पु¥याउन सकिन्छ भन्ने आफ्नो परिकल्पना प्रस्तुत गर्छन्। 

‘सिड्स फर फ्युचर कार्यक्रममा सहभागी नेपाली विद्यार्थीले टेकफर गुडको लागि २ वटा समूह बनाएर प्रविधिमार्फत समाजमा राम्रो गर्न सकिनेबारे प्रोजेक्ट बनाएका छन्। 

अंकित खनालको टिमले ‘ग्रोअर्स पोइन्ट’ एपको परिकल्पना गरी प्रस्तुत गरेको थियो। एप प्रयोग गर्दा कृषकले आफ्नो मूल्यमा उत्पादन बिक्री गर्न पाउने र उपभोक्ताले सस्तोमा किन्न पाउँछन्। बिचौलियाले लिइरहेको नाफा एउटा एपले सजिलै हटाउन सक्छ। 

त्यस्तै अर्को युनिका बज्रचार्यको टिमले बनाएको साथी एपले मधुमेह रोगीलाई ग्लुकोमिटर रिडिङको ट्यांक गर्न इनसुलिन डोजेज अलर्ट पठाउन मद्दत गर्नेछ। 

प्रो.डा शशिधरराम जोशीले ‘सिड्स फर द फ्युचर’ र टेकफरगुड विश्वव्यापी प्रतिस्पर्धा सुरु गरेकोमा खुसी व्यक्त गरे। 

‘हुवावेले टेकफरगुड  ग्लोबल प्रतियोगिता गरेर साँच्चै राम्रो काम गरेको छ। आफ्नै व्यवसाय सुरु गर्न चाहने विद्यार्थीहरूका लागि यो अवसर साँच्चै रोचक हुनेछ’, जोशीले भने। 

यो कार्यक्रमको समापनमा शिक्षामन्त्री, चिनियाँ राजदूतलगायतले पनि सहभागिता जनाएका थिए। 

सो क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले हुवावेले योसँगै अन्य कार्यक्रमहरू ल्याउन अनुरोध गरे। मन्त्री पौडेलले प्रविधि क्षेत्रमा विश्वव्यापी रूपमा अगाडि बढिरहेको हुवावेले नेपाली युवाहरूलाई थप प्रविधिमैत्री बनाउन काम गर्ने विश्वास व्यक्त गरे। 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कार्यक्रमले सहभागी  विद्यार्थीहरूलाई विज्ञान र प्रविधिमा अग्रगामी बन्ने र चीन र नेपालबीच पुलको काम गर्ने विश्वास व्यक्त गरेकी थिइन्। 

राजदूत होउले हुवावे नेपालको सूचना सञ्जाल निर्माणमा संलग्नता र नेपालमा सबै क्षेत्रलाई डिजिटल रूपान्तरणमा सहयोग पुर्याउने प्रयासमा रहेकोमा खुसी व्यक्त गरिन्। 

हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले विद्यार्थीहरुले हुवावेको अनलाइन लर्निङ प्लेटफर्ममा आफ्नो सिक्ने यात्रा जारी राख्ने बताए। 

हुवावेले विश्वभर डिभाइस, कनेक्टिभिटी र कम्प्युटिङ क्षेत्रका काम गर्दै आएको छ। २१ वर्ष नेपालमा बिताएको कम्पनीले टेलिकम्युनिकेसनमा ७० प्रतिशत मार्केट सेयर, १५ हजार बढी बेस टावर निर्माण गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .