ad ad

कारोबार


यी ५ कारणले एसियाकै सर्वोत्कृष्ट बन्यो एनएमबी बैंक

यी ५ कारणले एसियाकै सर्वोत्कृष्ट बन्यो एनएमबी बैंक

प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट अवार्ड थाप्दै एनएमबी बैंकका सीईओ केसी र अध्यक्ष गोल्यान।


दीपक भट्ट
मंसिर १६, २०७८ बिहिबार १७:५७, काठमाडौँ

नेपाली बैंक पनि विश्व प्रतिस्पर्धामा रहेको एनएमबी बैंकले जितेको एक अवार्डले पुष्टि गरेको छ। 

नेपाली बैंकहरु आफ्नो आन्तरिक प्रतिस्पर्धामा नै व्यस्त रहेका बेला एनएमबीले चर्चित बेलायती म्यागजिन दि बैंकरबाट यस्तो उपलब्धि हात पारेको हो। 

योसँगै एनमएबी बैंकले नेपाली बैंकिङ इतिहासमा नयाँ सफलताको उचाइ पाएको छ। 

सन् २००८ सालमा ‘ग’ वर्गको फाइनान्स कम्पनीको रुपमा उदाएको एनएमबी बैंकले १३ वर्षमै उत्कृष्ट सेवा दिएर एसियाको राम्रो बैंकमा ठहरिएको हो। 

एनएमबी बैंकले लगातार ५ वर्षमा ४ पटक ‘बैंक अफ द इयर’ र यो वर्ष ‘एसियाकै सर्वोकृष्ट बैंक’को अवार्ड पाएको छ। 

बेलायतको लन्डनबाट प्रकाशित हुने बैंक क्षेत्रको प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायकमण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डका लागि एनएमबी बैंकलाई छनोट गरेको हो।

चीन, भारत, हङकङ, दक्षिण कोरिया, जापानजस्ता एसियाकै उत्कृष्ट प्रतिस्पर्धी बैंकहरुलाई उछिन्दै एनएमबी सर्वोत्कृष्ट भएको हो। 

यसरी नेपाली बैंक एसियाको नै सबैभन्दा उत्कृष्ट बन्नुमा धेरै कारण रहेको बताउँछन् बैंकका सीईओ सुनिल केसी।

उनका अनुसार बैंकले यो अवार्ड पाउनुमा मुख्य ५ कारण छन्। 

यी हुन् पाँच कारण  

  • १. एनएमबी बैंकले सुरुदेखि नै छिटो कमाउने बाटोमा नहिँडेर गन्तव्यमा पुग्न ढिलो तर सही बाटोमा हिँडेको केसीको भनाइ छ। 

उनले भने, ‘त्यो बाटो अप्ठ्यारो हुन्छ। गाह्रो पनि हुन्छ। त्यसको फल ढिलो पाइन्छ। तर राम्रो पाइन्छ।’ 

त्यो नीति नै बैंकले अवलम्बन गरिरहेको उनको भनाइ छ। यसको मतलब बैंकले छिटो प्रतिफल पाउने गरी आफ्ना योजनाहरु ल्याएको छैन। ढिलो भएपनि राम्रो प्रतिफल​ पाउने गरी अघि बढेको छ। 

‘दिगो बैंकिङको रुपमा हामीले काम गरिरहेका छौँ। हाम्रो भिजन अहिलेको लागि मात्रै होइन अर्को पुस्ताको लागि पनि काम गर्नुपर्छ भन्ने हो’, सीईओ केसीले नेपालखबरसँग भने।  

  • . त्यस्तै बैंकले कर्पोरेट गभर्नेन्सलाई मुख्य ध्यान दिएको छ। सुरुदेखि नै बैंक राम्रो बन्नुमा कर्पोरेट गभर्नेन्स नै हो। आफ्नो कर्पोरेट सिस्टमलाई नै ध्यानमा राखेर कम्पनी चलिरहेको बताउँछन् केसी।
  • ३. बैंकको सफलतामा सञ्चालक समितिको नेतृत्वदायी भूमिका पनि महत्वपूर्ण हुन्छ। यस बैंकको सञ्चालक समितिमा विदेशी प्रतिनिधि पनि रहेका छन्। यसबाहेक कर्मचारी सञ्चय कोषका प्रतिनिधि पनि छन्। धेरै बुझ्ने सञ्चालकहरु रहँदा बैंकले सेवा प्रवाहलाई उत्कृष्ट बनाउन सकेको छ। 

केसी भन्छन्, ‘सञ्चालकहरुले यस बैंकको म्यानेजमेन्टलाई जुन किसिमको विश्वास दिनुभएको छ। त्यही कारणले हामीले राम्रो काम गर्नसकेका छाैँ।’ 

  • . यसबाहेक बैंकले कमाएको जनविश्वासलाई पनि सफलताको कडी मानिएको छ। ‘हामी विश्वसनीय रुपमा काम गरिरहेका छौँ। आफ्ना ग्राहकहरुलाई एकपटक काम गरेपछि अझ विश्वास दिलाउने गरी काम गर्छौँ। त्यही ​कारणले गर्दा ग्राहकहरुले यस बैंकलाई विश्वास गरिरहेको देखिन्छ’, केसीले भने।  
  • . एनएमबी बैंकले एउटा मुख्य वित्तिय संस्थाका रुपमा देशको हितमा काम गरिरहेको छ। देशमा पछिल्लो समयमा तरलता अभाव भइरहेको छ। यो बैंकले धेरै खर्चका बाबजुद विदेशबाट तरलता भित्र्याएर देशलाई नै राहत दिएको छ। नेपालमा पहिलो पटक विदेशबाट पैसा ल्याउने बैंक नै एनएमबी हो। अहिले पनि विदेशबाट सबैभन्दा धेरै पैसा ल्याउने बैंक एनएमबी​ नै रहेको छ। 

यिनै कारणले एनएमबी ‘दि बैंकर’को नजरमा सर्वोत्कृष्ट ठहरिएको मान्न सकिन्छ। 

सीईओ केसीका अनुसार एसियाली बैंकहरुमा नै राम्रो सूचक देखिएकाले सर्वोत्कृष्ट अवार्ड पाउन एनएमबी सफल भएको हो। 

एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले बैंकले सेवा प्रवाहमा कमी नगर्दा सूचक राम्रो देखिएको र त्यसैले बैंकलाई अवार्ड हात पार्ने सफलता दिलाएको बताए। 

गोल्यानले नेपालखबरसँग भने, ‘यो उपलब्धि बैंकको म्यानेजमेन्टको मिहिनेत र १५ लाख ग्राहकको विश्वास हो।’

यो अवार्ड पाएसँगै अध्यक्ष गोल्यान हौसिएका छन्। 

उनले भने, ‘नेपालको सर्वोत्कृष्ट बैंक रहँदै आएकोमा यो पटक एसियाको सर्वोत्कृष्ट बनेका छौँ, अबको ५ वर्षमा विश्वकै सर्वोत्कृष्ट बन्नेछौँ।’ 

सन् २०१७ मा पहिलो पटक ‘बैंक अफ द इयर’को अवार्ड हात पार्दा नै एसियाको सर्वोत्कृष्ट अवार्ड २०२० सम्म हात पार्ने लक्ष्य राखे पनि एक वर्ष ढिलो गरी लक्ष्य भेटेको उनले बताए। 

अबको ५ वर्षमा विश्वकै उत्कृष्ट बन्ने लक्ष्य राखेको गोल्यानको भनाइ छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले एसियाको सर्वोत्कृष्ट बैंकको अवार्ड अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई बुधबार हस्तान्तरण गरेका हुन्। 

त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गरिएको थियो। 

‘बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड प्राप्त गरेसँगै एनएमबी बैंकले इतिहास रच्दै एसियाकै उत्कृष्ट बैंक बन्न सफल भएको छ। 

यो अवार्ड प्राप्त गर्ने एनएमबी बैंक नेपालको पहिलो बैंक रहेको छ। 

सन् २००० मा स्थापित ‘बैंक अफ द इयर अवार्ड’ प्रत्येक देशका सर्वोत्कृष्ट बैंक तथा पश्चिम युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेशभरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टाछुट्टै प्रदान गरिन्छ। 

यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्याङ्कन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ।

बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरू, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरु, दिगो विकासका लागि गरिएका गतिविधिहरू र प्रतिकूल परिस्थितिको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डको आधारमा यो अवार्ड प्रदान गरिन्छ। 

दिगो बैंकिङको लागि बैंकले गरेको पहल, डिजिटल रुपान्तरण र उच्च कर्पोरेट कार्यशैलीप्रति बैंकको प्रतिबद्धताजस्ता मानकहरुले एनएमबीले यो अवार्ड जितेको हो।

यसको साथै एनएमबी बैंक पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्सको समिति सदस्य र ग्लोबल अलायन्स फर बैंकिङ अन भ्याल्युज सदस्य बैंक पनि हो। एनएमबी बैंकको देशभर २०१ शाखाहरु छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .