कारोबार


६ वर्षमै कसरी ३ खर्ब डलरका मालिक बने मस्क?

६ वर्षमै कसरी ३ खर्ब डलरका मालिक बने मस्क?

खर्बपति मस्क ।


नेपालखबर
कात्तिक १६, २०७८ मंगलबार १३:४९, काठमाडौँ

अमेरिकी विद्युतीय कार निर्माता टेस्लाका सीईओ एलन मस्क तीन खर्ब डलरभन्दा धेरै सम्पत्ति भएका एकमात्र धनाढ्य हुन्। अहिलेसम्म कुनै पनि अर्बपतिको सम्पत्ति तीन खर्ब डलर नाघेको थिएन।

ब्लूमवर्गका अनुसार अहिले उनको समग्र सम्पत्ति तीन खर्ब ३५ अर्ब अमेरिकी डलर पुगेको छ। उनीपछि दोस्रो स्थानमा रहेका अमेजनका सीईओ जेफ बेजोससँग १ खर्ब ९३ अर्ब डलरको सम्पत्ति छ। त्यस्तै तेस्रो स्थानमा रहेका बनार्ड अर्नल्टको एक खर्ब ६९ अर्ब डलरको सम्पत्ति छ। 

सोमबार मात्र मस्कको सम्पत्ति २४ अर्ब डलरले बढेको छ। 

को हुन् मस्क ?
सन् १९७१ मा दक्षिण अफ्रिकाको प्रेटोरियामा जन्मिएका उनको पूरा नाम एलन रीभ मस्क हो। उनकी आमा माये मस्क मोडेल र डाइटिसियन थिइन् भने बाबु एरोल मस्क इलेक्ट्रोमेकानिकल इन्जिनियर, पाइलट, कन्सल्ट्यान्ट र प्रोपर्टी डेभलपर थिए।

क्यानडेली आमा र दक्षिण अफ्रिकी बाबुबाट जन्मिएका मस्क प्रेटोरियामै हुर्किएका हुन्। पछि क्यानडा हुँदै मस्कले अमेरिकालाई गन्तव्य बनाए र आफ्नो व्यावसायिक सफलताको शिखर चढ्न सुरु गरे।

दक्षिण अफ्रिकामा रहँदा उनले थोरै समय मात्र युनिभर्सिटी अफ प्रेटोरियामा बिताए। त्यसपछि १७ वर्षको उमेरमा उनी क्विन्स युनिभर्सिटीमा अध्ययन गर्न क्यानडा गए।

त्यसको दुई वर्षपछि युनिभर्सिटी अफ पेनसिल्भेनिया अमेरिकामा ट्रान्सफर भए। त्यहाँ उनले अर्थशास्त्र र भौतिक विज्ञानमा डबल डिग्री लिए। उनी सन् १९९५ मा अमेरिकी राज्य क्यालिफोर्नियामा बसाइ सरे। पीएचडी गर्न स्ट्यान्फोर्ड युनिभर्सिटीमा निवेदन दिए तर दुई दिनमै त्यसलाई थाती राखी व्यवसायमा केन्द्रित भए।

६ वर्षमै १२ अर्बबाट तीन खर्ब डलरको यात्रा 
एलन मस्क छोटो समयमा ठूलो आर्थिक उपलब्धि हात पार्ने अर्बपति पनि हुन्। आफ्ना महत्वपूर्ण योजना र चुनौती झेल्न सक्ने क्षमताको कारण उनीले छोटो समयमा आफूलाई विश्वकै धनी व्यक्तिको रुपमा स्थापित गरेका हुन्।

सन् २०१५ मा मस्कको सम्पत्ति औसतमा १२ अर्ब डलर थियो। सोही वर्ष उनको कम्पनी स्पेसएक्सले फाल्कोन रकेट सफलतापूर्वक अवतरण गरेको थियो। यसलाई एक महत्वपूर्ण उपलब्धिको रुपमा हेरिएको थियो। त्यस्तै मस्कको अर्को कम्पनी टेस्लाले पनि आफ्नो मोडल एक्स क्रसओभर स्पोर्टस् युटिलिटी भइकल्स (एसयूभी) पनि सार्वजनिक गरेको थियो। 

सन् २०१६ मा आउँदा भने मस्कको सम्पत्ति घटेर करिब १० अर्ब ७० करोड डलरमा झर्यो। यो वर्ष टेस्लाले सौर्य ऊर्जा प्रणाली प्रदायक सोलारसिटी कम्पनी २ अर्ब ६० करोड डलरमा खरिद गर्‍यो। टेस्लाले थप सुविधासम्पन्न मोडल ३ कारको घोषणा गर्‍यो। यसको मूल्य ३५ हजार डलर तोकिएको थियो। 

सन् २०१७ मा मस्कको स्पेसएक्सले फाल्कोन ९ र ड्र्यागन अन्तरिक्ष विमान दुवैलाई पुनः प्रयोग गर्‍यो। केही ढिलाइपछि टेस्लाले २०१८ को सुरुवाततिर मोडल ३ कारको डेलिभरी दिन थाल्यो। यद्यपि सुरुवाती मूल्य भने ४४ हजार डलर थियो। २०१८ सम्म आइपुग्दा मस्कको सम्पत्ति १९ अर्ब ९० करोड डलर पुगेको थियो। सोही वर्ष स्पेसएक्सको फाल्कोन हेभी रकेटले फेब्रुअरीमा आफ्नो पहिलो उडान भर्‍यो। यसले टेस्लाको रोडस्टरसहित उडान भरेको थियो। 

मस्क आफ्नो ट्वीटको कारण विवादमा तानिए र कम्पनीको अध्यक्षबाट हटे। यद्यपि उनी कम्पनीको सीईओको रुपमा भने कायम रहे। टेस्लाले सन् २०१९को जनवरीमा चीनको सांघाईमा गिगाफ्याक्ट्री खोलेको थियो। यो वर्ष कम्पनीले आफ्नो मोडल वाई र साइबर ट्रक गरी दुई कार बजारमा ल्याएको थियो। 

२०२० सम्म आइपुग्दा मस्कको सम्पत्ति २४ अर्ब ६० करोड डलर पुगेको थियो। २०२० मा टेस्ला कम्पनी बजार पुँजीकरणको आधारमा सबैभन्दा मूल्यवान् कार कम्पनी बन्यो। मस्कले यो वर्ष अमेरिकाको क्यालिफोर्नियादेखि औस्टिन सहरसम्म पुगेर नयाँ गिगा फ्याक्ट्रीको योजना घोषणा गरे। टेस्ला एसएण्डपी ५०० शेयर परिसूचकमा सूचीकृत भयो। २०२० मा यो परिसूचकमा टेस्लाको शेयर ७२० प्रतिशत बढ्यो। 

यस वर्षको सुरुवातमा मस्कको सम्पत्ति १ खर्ब ५१ अर्ब डलर पुगेको थियो। त्यसयता उनको सम्पत्ति दोब्बरभन्दा धेरै पुगिसकेको छ। एजेन्सीहरुकाे सहयाेगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad