पर्यटन विभागले शरद् ऋतुमा ४७ वटा हिमाल आरोहण गर्ने आरोहीबाट ६ करोड ३५ लाख ७६ हजार रोयल्टी उठाएको छ। ११ सय २४ जना हिमाल चढ्दा उक्त राजस्व संकलन भएको हो।
नोभेम्बर १ सम्मको तथ्याङ्कअनुसार विभागले १ सय ५० टिमलाई अनुमति दिएको छ। हिमाल चढ्ने ६२ राष्ट्रका नागरिक रहेको विभागले जानकारी दिएको छ।
हिमाल चढ्नेमा ८ सय ६ जना पुरुष रहेका छन् भने २३ जना महिला रहेका छन्।
यो सिजनमा सबैभन्दा धेरै अमादब्लम हिमाल चढ्ने यात्रु रहेका छन्। ६ हजार ८ सय १४ मिटरको अमादब्लम हिमाल २६ टिमका ३०१ यात्रुले हिमाल आरोहण गरेका थिए। उक्त हिमालबाट मात्रै १ करोड ३५ लाख रोयल्टी संकलन भएको छ।
शरद् ऋतुमा दोस्रो धेरै यात्रु मनास्लु हिमाल चढेका छन्। ८ हजार १ सय ६३ उचाइको मनास्लुमा २७ टिमले आरोहण गरेका थिए। जसमा २ सय ६४ यात्रु चढ्दा सबैभन्दा धेरै २ करोड २७ लाख रोयल्टी उठेको विभागले जनाएको छ।
विश्वकै सर्वोच्च शिखर सगरमाथा २ टिमका १० जनाले मात्र आरोहण गरेका छन् । ८ हजार ८ सय ४८ मिटर उचाइको सगरमाथाबाट ६३ लाख रोयल्टी उठेको छ। त्यस्तै ७ हजार १ सय २६ मिटर अग्लो हिमलुङ हिमाल ९ वटा टिमबाट ९२ जना चढेका थिए। जसबाट विभागले २९ लाख ४३ हजार रोयल्टी उठाएको छ। ६ हजार १२ मिटरको थापा पिकमा १३ टिमका ७६ जना हिमाल आरोहण गरेका थिए । जहाँ १० लाख ७६ हजार रोयल्टी उठेको छ।
११ टिमका ६० जना ६ हजार ३ सय ४६ मिटरको सरिबुङ हिमाल चढ्दा ८ लाख ५४ हजार रोयल्टी उठेको छ।
Shares
प्रतिक्रिया