नेपालको लोकप्रिय डिजिटल वालेट खल्ती र सांग्रिला डेभलपेमन्ट बैंकबीच डिजिटल भुक्तानी सम्झौता भएको छ। सम्झौतामा खल्तीका तर्फबाट निर्देशक ध्रुव अधिकारी र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरे।
यो सम्झौताअनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्छन्।
बैंकका हाल संचालनमा रहेका ८५ वटै शाखाहरुका काउन्टरबाट असार मसान्तभित्र डिपोजिट फर्म भरेर खल्तीमा पैसा लोड गर्न सकिनेछ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
‘बैंकिङ सेवालाई धेरै मानिसमा पु¥याउने हाम्रो लक्ष्य हो। त्यही लक्ष्यअनुसार हामी खल्ती डिजिटल वालेटसँग जोडिन पाउँदा उत्साही छौं’, बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने।
खल्तीका निर्देशक अधिकारीले खल्तीबाट नगद पैसा बिना सरल भुक्तानी गर्न सकिने बताए। ‘सांग्रिला डेभलपमेन्ट बैंकसँगको साझेदारीले हाम्रो डिजिटल यात्राले अर्को फड्को मारेको छ’, उनले भने।
सन् २०१७ देखि नेपाली बजारमा आएको खल्ती नेपालको लोकप्रिय र उदयीमान पेमेन्ट गेटवे हो। खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी गर्न सकिन्छ। बिमाशुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्न पनि सकिन्छ। यो बाहेक इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्नेजस्ता थुप्रै सेवाहरु खल्तीमा छन्। राष्ट्र बैंकबाट कारोबार अनुमतिप्राप्त खल्तीका ८ लाखभन्दा बढी सक्रिय प्रयोगकर्ता छन्।

प्रतिक्रिया