ad ad

कारोबार


स्विचिङ स्टेसन बनेसँगै दोस्रो ठूलो सिमेन्ट उद्योग सञ्चालनको बाटो खुल्यो

स्विचिङ स्टेसन बनेसँगै दोस्रो ठूलो सिमेन्ट उद्योग सञ्चालनको बाटो खुल्यो

नेपालखबर
असोज ३१, २०७८ आइतबार १३:१८, काठमाडौँ

धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा आएको छ। मस्र्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्वीचिङ स्टेसनलाई शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको हो।

चिनियाँ लगानीको यो उद्योग नेपालको होङ्सी पछि दोस्रो ठूलो सिमेन्ट उद्योग हो। १६ अर्ब लागतको धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट तिहारलगत्तै सञ्चालनमा ल्याइने योजना रहेपनि स्वीचिङ स्टेसन संचालन नहुँदा अन्योल थियो। 

दैनिक ३ हजार मेट्रिक टन क्षमतामा सिमेन्ट उत्पादन गर्न सक्ने यस उद्योगको निर्माणको काम लगभग सकिएको नेपाली साझेदार सुरज बैद्यले जानाकारी दिए। उनले भने ‘अब तिहार लगत्तै संचालनमा आउँछ।’  

No description available.

शुक्रबार स्वीचिङ स्टेसन सञ्चालन आएपछि तिहार लगत्तै संचालनमा आउने बाटो खुलेको हो।

तनहुँस्थित तल्लो मर्स्यादी विद्युतगृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ। प्रसारण लाइनलाई स्वीचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत आपूर्ति दिइने छ। हुवासिन सिमेन्टले २० मेगावाट विद्युत  लिने छ। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दशैंको वेलामा विद्युतको माग कम हुने मौका पारेर स्वीचिङ स्टेसनलाई चार्ज गर्न अनुमति दिइएको बताए। 

‘अन्य समयमा मस्र्याङदी–स्यूचाटार १३२ केभी ट्रंक लाइन बन्द गर्ने सक्ने अवस्था नै थिएन, त्यसैले दशैंको वेलामा मिलाएर चार्ज गर्न दियौं र टीकाको दिन स्वीचिङ स्टेसन चार्ज भयो,’ कार्यकारी निर्देशक घिसिङले भने। ‘अब हुवासिन सिमेन्टले चाहेको दिन १३२ केभी लाइनबाट विद्युत जडान गर्न सक्ने छ।’

No description available.

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्वीचिङ स्टेसन निर्माण गर्न गत वर्ष सुरु गरेको थियो। कम्पनीले स्वीचिङ स्टेसनबाट कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२÷१० केभीको सबस्टेसन निर्माण गरेको छ। प्राधिकरणले स्वीचिङ स्टेसन निर्माणको सुपरीवेक्षण गरेको थियो। 

कार्यकारी निर्देशक घिसिङका अनुसार, स्वीचिङ स्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ र ११ केभीका लाइन निकालिने छन्। ‘स्वीचिङ स्टेसनको निर्माणपछि गल्छी, नौबिसे क्षेत्रमा  खुल्न लागिरहेका उद्योगहरुलाई विद्युत उपलब्ध गराउन पूर्वाधार तयार भएको छ, साथै त्यहाँबाट स्थानीय रुपमा विद्युत आपूर्ति गरिने छ’, उनले भने। ‘यसबाट त्यस क्षेत्रको विद्युत आपूर्तिसमेत विश्वसनीय हुने छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .