ad ad

कारोबार


दसैंपछि लुम्बिनीमा पर्यटक बढ्ने आशा, सस्तो टुर प्याकेज ल्याए व्यवसायीले

दसैंपछि लुम्बिनीमा पर्यटक बढ्ने आशा, सस्तो टुर प्याकेज ल्याए व्यवसायीले

सुदीप भण्डारी
असोज २८, २०७८ बिहिबार १८:४९, काठमाडौँ

कोरोना महामारीका कारण करिब डेढ वर्षदेखि थलिएको बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन व्यवसाय अब माथि उठ्छ कि भन्ने आशा पलाएको छ। २०७६ साल चैतमा लकडाउन हुनुभन्दा अघि चीनबाट कोरोना संक्रमणको सुरु भएदेखि नै लुम्बिनीको पर्यटन व्यवसाय सुस्ताउन थालेको थियो। लकडाउन पछि त ठप्प नै भयो। 

दसैंपछिको समय लुम्बिनीमा आन्तरिक पर्यटकहरुको चहलपहल हुने समय हो। तर कोरोना महामारीले गर्दा अघिल्लो वर्षको दसैंका बेला पनि लुम्बिनी सुनसान थियो। गतवर्ष दसैंमा समेत मानिसहरुले यात्रा खासै गरेका थिएनन्। शहर बजारमा भएकाहरु कोरोनाका कारण गाउँ जान पाएका थिएनन्। 

तर यो वर्ष दसैंमा मानिसहरु निर्धक्क यात्रा गरेका छन्। दसैं मान्न शहरबजारबाट धेरैजना गाउँ पुगिसकेका छन्। अहिले धेरै जनाले कोरोना विरुद्धको खोप लगाइसकेको तथा कोरोनाको प्रभाव पनि कम देखिएको अवस्था छ। 

यो वर्षको दसैंअघि लुम्बिनीमा चहलपहल देखिन थालेको छ। बाहिरका कम आएपनि  रुपन्देही र छिमेकी जिल्लाका पर्यटकहरु घुम्न आउने गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए। 

‘रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट आइरहनुभएको छ। अन्य जिल्लाबाट आउनेको संख्या निकै कम मात्र छ’ उनले भने, ‘अब दसैंपछि टाढाका जिल्लाबाट पनि आउनुहुन्छ होला।’ 

लुम्बिनीमा तत्काल तेस्रो मुलुकका पर्यटक बढ्ने सम्भावना त छैन। तर दसैंपछि आन्तरिक पर्यटकलाई स्वागत गर्न पाइन्छ कि भन्ने आशा रहेको लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठ बताउँछन्। 

‘पहिले भन्दा केही चहलपहल देखिएको छ। तर अझै पनि बस्ने गरी पाहुनाहरू आउनुभएको छैन’ उनले भने, ‘दसैंपछि मुलुक भित्रबाट घुम्न आउनेको संख्या बढ्छ कि भन्ने आशा गरेका छौं। 
सिमानाका पनि खुलेकाले भारतीय पर्यटक पनि बढ्न सक्छन्। तर तत्काल तेस्रो मुलुकका पर्यटकको आशा गरेका छैनौं।’ 

कोरोना संक्रमण पछि आवत जावतमा कडाइ गरिएको रुपन्देहीको बेलहिया नाका केही दिन अघिबाट सुचारु भएको छ। जसका कारण भारतीय पर्यटक पनि बढ्ने आशा गरिएको छ।  

यसैबीच थला परेको व्यवसायलाई उकास्न लुम्बिनीका होटल व्यवसायीले यसअघि नै टुर प्याकेज घोषणा गरेका छन्। प्याकेज अनुसार लुम्बिनी भ्रमण गर्न विगतमा भन्दा झण्डै आधा सस्तोमा लुम्बिनी लगायतका क्षेत्र घुम्न पाउने छन्।

विश्व पर्यटन दिवसको अवसर पारेर असोज १५ गतेदेखि टुर प्याकेज घोषणा गरिएको हो। जस अनुसार २ हजार २ सय रुपैयाँमा एक जनाको लागि एक रात दुई दिनको प्याकेज रहेको छ। जसमा खाना, बस्ने कोठा विहानको खाजा, लुम्बिनी क्षेत्रको भ्रमण, प्रवेश टिकट बुद्धग्रामको रोबोटिक थिएटर रहेको लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिए। 

‘दुई जना भएमा थप एक जनाको लागि खाना र प्रवेश टिकटमा मात्र अतिरिक्त शुल्क लाग्छ। कोठाको हामी लिँदैनौँ’ उनले भने, ‘अहिले हामीले एकदम सस्तो प्याकेज ल्याएका हौं।’ 

समूहमा आएमा लुम्बिनी बाहेक, तिलौराकोट, रामग्राम, देबदह र भारतको कुशीनगरसम्म सस्तो प्याकेजमा भ्रमण गराउने श्रेष्ठले बताए।  

बुटवलबाट भैरहवा हुँदै लुम्बिनी पुग्न पहिले भन्दा अहिले धेरै सहज भएको छ। बुटवलबाट भैरहवा २२ किलोमिटर सडक छ लेनको फराकिलो बनेको छ। त्यस्तै भैरहवा लुम्बिनी २३ किलोमिटरको सडक पनि चार लेनमा विस्तार भएको छ।

लुम्बिनी पहिले भन्दो निकै सहज तरिकाले यात्रा गर्न सकिन्छ। विगतमा एक लेन रहेको भैरहवा तौलिहवा सडक दुई लेनमा विस्तार भएको छ। सडक फराकिलो भएपछि लुम्बिनीबाट कपिलबस्तुका बुद्धस्थलहरुमा जानको लागि पनि सहज भएको छ। 

कपिलवस्तुमा बुद्धले २९ वर्ष बिताएको तिलौराकोट, गोटिहवा, निग्लिहवा, कुदान जस्ता पर्यटकीय स्थलहरु रहेका छन्। 

बुटवल पूर्वको देवदह बुद्धको मावली स्थल हो। पश्चिम नवलपरासीमा रहेको रामग्राम स्तूपा बुद्धको अस्तुधातु रहको ठाउँ हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .