ad ad

कारोबार


मुख्य पर्यटकीय सहरमा उत्साहप्रद होटल बुकिङ, व्यवसायी भन्छन्- दसैँमा ‘अकुपेन्सी’ ५० प्रतिशत नाघ्छ

मुख्य पर्यटकीय सहरमा उत्साहप्रद होटल बुकिङ, व्यवसायी भन्छन्- दसैँमा ‘अकुपेन्सी’ ५० प्रतिशत नाघ्छ

चन्द्रागिरि रिसाेर्ट। तस्बिर : विक्रम राई


वसन्त अर्याल
असोज २४, २०७८ आइतबार १७:११, काठमाडौँ

दसैँ सुरु भएसँगै आन्तरिक पर्यटकले होटलको बुकिङ बढ्नथालेको छ। 

कोभिड महामारीको कारण बन्द अवस्थामा पुगेका होटलमा बुकिङ बढिरहेको व्यवसायीहरुले बताएका छन्। 

दसैँ तिहारमा लामो विदा हुँदा पर्यटक काठमाडौं उपत्यकाको छेउछाउसँगै पोखरा, चितवन घुम्न जाने धेरै हुन्छन्।  

महामारीको बीच गत वर्ष पनि दसैँमा उपत्यका छेउछाउका होटलको राम्रो बुकिङ भइरहेको थियो। 

होटल व्यवसायीले अहिलेको दसैँमा पनि आन्तरिक पर्यटकले होटल तथा रिसोर्ट बुकिङ हुने विश्वास गरेका छन्। 

काठमाडौं उपत्यका छेउका करिब ५० प्रतिशत होटल बुकिङ भइसकेका छन् भने पोखरा चितवनका ३० देखि ४० प्रतिशत बुकिङ भएका छन्। दैनिक क्वाइरी र बुकिङ बढिरहेको व्यवसायीको भनाइ छ। 

काठमाडौंको चन्द्रागिरि हिल्स एन्ड रिसोर्टका जनरल म्यानेजर अभिशेक विक्रम शाहले ५० प्रतिशत कोठा बुकिङ भइसकेको बताए। 

‘अहिलेसम्म ५० प्रतिशत बुकिङ भएको छ’, शाहले भने, ‘नवमी र दशमीको दिन शतप्रतिशत बुकिङ हुने आकलन छ।’

उनले दसैँको बेला हरेक दिन केबलकार सञ्चालन हुने बताए। 

‘होटल रिसोर्ट मात्रै होइन चन्द्रागिरि घुम्नेको लागि सधैँ केबलकार सञ्चालन हुन्छ’, शाहले भने, ‘दसैँमा एक दिन पनि बन्द हुँदैन।’

काठमाडौं उपत्यकाका चन्द्रागिरिबाहेक नगरकोटमा पनि बढी पर्यटक पुग्ने गरेका छन्। काठमाडौंको नजिकै रहेको चित्लाङमा समेत दसैँ विदामा पर्यटन जाँदै छन्। 

काठमाडौं उपत्यकाबाहिरका पोखरा र चितवनका होटल पनि राम्रो बुकिङ भइरहेको व्यवसायीले बताएका छन्। 

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सूर्य बहादुर भुजेलले ‘अन एक्सपेक्टेड’ रुपमा आन्तरिक पर्यटक पोखरा आएको बताए। 

उनले दसैँको विदाको कारण बढी पर्यटक आएको हुनसक्ने बताए। 

‘होटलहरुको राम्रो बुकिङ भइरहेको जानकारी आएको छ’, भुजेलले भने, ‘केही दिनमै होटलमा ५० प्रतिशत बुकिङ बढेको छ। अझै बुकिङ गर्ने धेरै छन्।’

कोभिडको कारण पोखरा लामो समय सुनसान रह्यो। विदेशीसँगै आन्तरिक पर्यटकले जहिले भरिने पोखरा अहिले आन्तरिक पर्यटक मात्रै रहेका छन्। 

भुजेलले बुकिङ ४–५ दिनकोलागि मात्रै आएको बताए।  

पोखरामा नेपालस्थित विदेशी राजदूतहरु पोखरा घुम्न आउँदा पोखरा घुम्नेको संख्या बढेको हुनसक्ने उनले बताए। 

सरकारले दसैँमा सबैमा कम्तीले ५ दिन विदा दिएको हुँदा घुम्न जाने बढी हुन्छन्। भुजेलले सरकारले १० दिने विदा कार्यक्रम पूर्ण रुपमा कार्यान्वयनमा ल्याए अझै पर्यटक बढ्ने बताउँछन्। 

त्यस्तै क्षेत्रीय होटल एसोसिएसन नेपाल चितवनका अध्यक्ष दिपक भट्टराईले दसैँलक्षित पर्यटक भित्रिएको बताए। उनले दसैँमा टीका नहुने वा नलगाउने धेरै आन्तरिक पर्यटक चितवन घुम्न आउने बताए। 

‘करिब १ हप्तादेखि धमाधम बुकिङ भइरहेको छ। हालसम्म २५ देखि ३० प्रतिशत भएको छ’, अध्यक्ष भट्टराईले भने, ‘दसैँमा ५० प्रतिशत बढी नै अकुपेन्सी हुने हाम्रो अनुमान छ।’

भट्टराईले गत वर्ष कोभिड महामारीको बीच पनि राम्रै बुकिङ भएको बताए। लकडाउनको कारण बाहिर निस्किन नसकेका नेपाली दसैँको बेलामा चितवन घुम्न गएका थिए। 

उनले २–३ दिनको मात्रै बुकिङ गर्ने बढी रहेको बताए। 

देशभरका होटललाई आन्तरिक पर्यटककै भरः विनायक शाह
होटल संघ एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले तत्काल विदेशी पर्यटक नहुँदा आन्तरिक पर्यटककै भर रहेको बताउँछन्। 

उनले अहिले होटलहरुमा बुकिङ बढे पनि तिहारपछि खाली हुनसक्ने बताए। 

‘दसैँले होटलमा राम्रो बुकिङ भइरहेको छ। आन्तरिक पर्यटक निस्केका छन्’, विनायक शाहले भने, ‘तिहारसम्म आन्तरिक पर्यटकले होटल चल्छन्।’

उनले तिहारपछि आन्तरिक पर्यटक बढाउन सरकारले ल्याएको नीति कार्यान्वयन गर्नुपर्ने बताए। सरकारले चालू आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीलाई १० दिने विदा कार्यक्रम ल्याएको थियो। 

संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयले त्यसको मस्यौदा तयार पारे पनि लागू हुनसकेको छैन। 

‘सरकारको नीतिअनुसार हामीले प्याकेज तयार पारेका छौँ। सबै कर्मचारीलाई घुमाउन सक्छौँ’, शाहले भने, ‘सरकारले नीति कार्यान्वयन गर्नुपर्यो। अहिले बजेट छैन भनेर टारिरहेको छ।’

सरकारले बजेटमा १० दिने विदा कार्यक्रम ल्याए पनि कर्मचारीलाई घुम्न जाँदा दिने रकम नभएको बताउँदै आएको छ। 

शाहले तत्काल विदेशी पर्यटक नआउने हुँदा आन्तरिक पर्यटन बढाउन सरकारले सहयोग गर्नुपर्ने बताए।

‘अहिले विदेशी पर्यटक आउने सिजन हो। तर तत्काल आउन सक्दैनन्’, शाहले भने, ‘आगामी चैत वैशाखमा विदेशी ल्याउनको लागि अहिलेबाटै तयारी थाल्नुपर्छ।’

सरकारले विदशी पर्यटकको लागि पूर्ण खोप लगाएकालाई क्वारेन्टिन बस्नु नपर्ने र अनअराइभल भिसा दिने व्यवस्था गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .