कारोबार


समीर–सुलोचना जोडी : विदेशमा बजार खोज्दै, नेपालमा ‘अर्ग्यानिक’ उत्पादन बढाउँदै

समीर–सुलोचना जोडी : विदेशमा बजार खोज्दै, नेपालमा ‘अर्ग्यानिक’ उत्पादन बढाउँदै

यूरोपको बजार घुमेपछि सुलोचना र समीरले निर्क्यौल गरे– केही उत्पादन निर्यात गर्नुपर्छ (तस्बिरः विक्रम राई)


समर्पण श्री
असोज २२ , काठमाडौँ

कोरोनाका कारण अधिकांश व्यवसाय धराशायी बने। कृषि उत्पादन बजारसम्म पुग्न पाएन। निराशापूर्ण त्यो समयमा अधिकांशका लागि अर्थोपार्जनको बाटो बन्द थियो।

तर, सुर्खेतको कालिदमाडस्थित दि अर्ग्यानिक भ्यालीको कारखानामा महामारीको छिटासम्म परेन। कारखाना सधैँझैँ आफ्नै लयमा चलिरहेको थियो। झण्डै ८० हाराहारीका कर्मचारी दैनिक काममा व्यस्त थिए। बरु, अर्ग्यानिक भ्यालीको कारोबार अघिल्लो वर्षभन्दा उकालो लाग्यो। 

भारत र स्थानीय बजारमा अर्गानिक अदुवा निर्यात गर्ने किसानको उत्पादन थन्किनुपर्ने भयो। तर, खेर जान पाएन। ती किसानहरूको टनका टन उत्पादन कारखानामा आइपुग्यो। सुर्खेत, रुकुम, सल्यान लगायत कर्णाली र सुदूरपश्चिमबाट नियमित आउने अदुवा, टिमुर, अलैंचीलगायतका उत्पादन कारखानासम्म आउन अवरोध भएन। 

‘यो लकडाउनमा मात्र हामीले किसानहरूबाट ६ करोडको उत्पादन किन्यौँ। पहिलो पटक यति धेरै किनेका थियौँ,’ कम्पनीका सञ्चालक समीर नेवाले भने। 

समीरलाई पहिलेदेखि नै लाग्थ्यो, गाउँमा उद्योग खोल्न सके सदाबहार चल्छ। र, महामारीमा त्यो कुरा प्रमाणित पनि भयो। 

अर्ग्यानिक भ्यालीको विशेषता हो, अर्ग्यानिक उत्पादन। उनीहरूसँग हजारभन्दा बढी त प्रमाणपत्रधारी किसान नै आबद्ध छन्। ती किसानले उब्जाएका अदुवा, टिम्बुर, बेसार, अलैंचीलगायतका उत्पादन रासायनिक पदार्थरहित हुन्। ती सामग्रीलाई प्रशोधन गरेर अर्ग्यानिक भ्यालीले जापान, जर्मनी, नेदरल्याण्ड्सलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्छ। ​

अर्ग्यानिक भ्याली समीर नेवा र सुलोचना श्रेष्ठले सन् २०१२ मा स्थापना गरेका थिए। उनीहरू चाहन्थे, गाउँ केन्द्रित व्यवसाय गरौँ। अर्ग्यानिक कृषिमै गरौँ। त्यसो गर्दा किसानको उत्थान त हुने नै थियो, थुप्रै विदेश जानबाट पनि रोकिन्थे।

समीर र सुलोचना यही सपना बोकेर सुर्खेत पुगे। तर, गाउँको स्थिति देख्दा उनीहरू चकित भए। 

‘अधिकांश विदेश जाने, गाउँमा भएकाहरू रक्सी खाने, महिलाहरू खेतको काम गर्ने। त्यो भन्दा बाहेक उनीहरूको कुनै मेसो थिएन,’ सुलोचना सम्झिन्छिन्। 

उनीहरूले त्यहाँका किसानलाई तालिम दिए, रोजगारीको सम्भावना देखाए। महिलाहरूलाई आत्मनिर्भर बनाउने सीप सिकाए। 

अहिले उनीहरु कहाँ करिब ८० जना कामदार छन्। जसमा ८० प्रतिशत महिला छन्। जो आफ्नो घरधन्दा भ्याएरै कारखानामा काम गर्न सक्छन्। कोरोनाको बेला विदेशिन तयार भएकालाई समीर र सुलोचनाले आग्रह गरे, ‘विदेशमा पाउने पैसा हामी दिन्छौँ। हाम्रो कम्पनीमा काम गर्न आउनुस्।’

कामदारलाई हरेक वर्ष कम्पनीले भ्रमणमा पठाउँछ। यो पालिको गन्तव्य काठमाडौं थियो। अधिकांश महिलाले पहिलो पटक काठमाडौँमा पाइला टेकेका थिए। आँखाले देखेका धेरै दृश्य उनीहरूको लागि नौला थियो, टीभीमा देखेकोजस्तो। 

दम्पतीको अर्ग्यानिक सपना
समीरले त्यतिबेला अर्ग्यानिक खेतीको सपना देखे, जतिबेला त्यो नेपालमा अभ्यासमै थिएन। जहाँजहाँ योजना लिएर जान्थे, हप्काइ खान्थे। हतोत्साहित भएर फर्किन्थे। अर्ग्यानिक खेतीको सम्भावनाबारे उनले एनजीओमा काम गर्दै गर्दा थाहा पाए।

वातावरणीय विकास क्षेत्रअन्तर्गत उनको काम बाग्लुङ, हुम्ला, जुम्लामा थियो। त्यहाँ सौर्य उर्जाबाट घर, गुम्बा र स्कुलहरूमा बिजुली बाल्ने प्रोजेक्ट थियो। 

एनजीओको विकासे सोच बोकेर गाउँ पसेका उनी त्यहाँबाट बदलिएर फर्किए। 

‘हामी त्यहाँका मानिसलाई परिवर्तन गर्न गएका थियौँ। तर आफैँ परिवर्तित भएर आयौँ,’ उनले रिपोर्टमै लेखेका थिए।

गाउँ एकदम अलग थियो। सहरै पल्टे पनि केही थाहा हुन्न थियो। गाउँले आत्मनिर्भर थिए। बजारमा साग लगेर बेच्न सुझाउँदा उनीहरूको जवाफ हुन्थ्यो, ‘हामी गरिब हौँ, हरिप होइनौँ।’

‘तरकारी, दूध बेच्नु परेपछि त्यो भन्दा ठूलो गरिबी केही होइन भन्ने धारणा थियो,’ उनी सम्झिन्छन्।

त्यतिबेला उनले गाउँमा यसै खेर गइरहेका अर्ग्यानिक उत्पादन देखे, जसले बजारमात्र पाए किसानहरूको जीवनस्तर बदल्न सक्थ्यो। जे थियो गाउँमै थियो, कृषि र उत्पादित सामग्रीले बजार मात्र पाए उलटपुलट हुन्थ्यो। 

एनजीओबाट अर्बौँ रकम खर्च गरे पनि किसानको जीवनस्तरमा परिवर्तन आएको थिएन। त्यसैले आर्थिक विकासको लागि उनले कृषिलाई नै मुख्य विकल्प ठाने। सन् २००३ मा उनले दि अर्ग्यानिक भिलेज प्रालि दर्ता गरे। 

पसल खोलेर अर्ग्यानिक गाउँ नै बनाउने योजना बनाए। र, नार्कमा गएर डा. केदार बुढाथोकीलाई भने। उनले हकार्दै भने, ‘यस्तो नचाहिने काम गरेर हुन्छ? अर्ग्यानिक गर्दा डुब्छौ तिमी।’

जति पनि कृषिविद् थिए, उनीहरूले अर्ग्यानिक अवधारणालाई वाहियात नै भने। विश्वभर अर्ग्यानिक खेतीको अभियान चलिरहेको थियो। तर, नेपालको कृषि मन्त्रालय र विभाग नै गलत बाटोमा हिँडिरहेको समीरले बुझे। 

‘नेपालमा अर्ग्यानिक खेती खतरामा छ। यसलाई जोगाउनुपर्छ,’ उनले आफूले काम गरेको आईएनजीओको हाकिमलाई रिपोर्ट बनाएर बुझाए। 

कम्पनी दर्ता गरेको दुई वर्षपछि उनले यूएनडीपीबाट ५० हजार डलर प्राप्त गरे। अनि आफ्नो अभियान सुरु गरे।  

सुरुमा तिमाल गाउँमा भिलेज बनाए। बालुवाटारमा पसल थियो। त्यहाँ उनले किबी, केरा, सुन्तला लगायतका खेती गरे। प्रोसेसिङ युनिट राखे, फार्म आफैँले चलाए, पात्लेखेतको २० रोपनी जग्गामा पनि खेती गरे। 

त्यतिबेला उनले हुम्लाको सिमी, रातो चामलदेखि लिएर जुनसुकै उत्पादन पनि निर्यात गर्थे। 

यो क्रममा धेरै उतारचढाव आए। अर्ग्यानिक उत्पादनको बजार सोचेजस्तो हुन सकेन। पैसा सकियो। आर्थिक समस्याका कारण किसानको आरोप र घरबेटीको तालासमेत बेहोर्नुपर्यो उनले। 

सुलोचना समीरको साथमै थिइन्। तर, सक्रिय थिइनन्। व्यवसाय जसरी पनि उठाउनु थियो। उनी पनि सक्रिय हुन थालिन्। उनी भित्रिँदा संस्था शून्यमा थियो। ‘समीरले कम्पनी बेचेर जान लाग्यो’ भन्ने टिप्पणी सुनिन थालेका थिए, ‘सक्ने कुरा गर्यो। रासायनिक पदार्थ हालेर बेचेको भए पनि फाइदा हुन्थ्यो।’

उनीहरूसँग पैसा नभएपछि बिचौलियाहरूले कम्पनी हडप्न पनि खोजे। सन् २००९ मा भने उनीहरु अन्तर्राष्ट्रिय बजारको खोजी गर्न थाले। दुवै जापान गए र त्यसपछि जर्मनी।

‘हामीसँग पैसा थिएन, आँट थियाे। हामी जानुको उद्देश्य नै बजार खोज्नु थियो,’ सुलोचना सम्झिन्छिन्। 

सन् २००९ मा विदेश जाँदा उनीहरूलाई आरोप लाग्यो, ‘सबै किसानको पैसा बटुलेर यिनीहरू विदेश घुम्न गए। अब यिनीहरू फर्किन्नन्।’

उनीहरूले घाटा बेहोर्नुमा दुईतीन कारण थिए। एउटा थियो, किसानसँग गरेको सम्झौता किसानले नै तोड्नु। 

काभ्रेमा उनीहरूले किसानलाई गोलभेँडा खेती गर्न लगाएका थिए। त्यहाँ अर्ग्यानिक खेतीका लागि प्रशस्त अनुसन्धान थियो। लगानी थियो। किसानलाई उत्पादन प्रक्रियामा सहयोग गरेका थिए। किसानसँग सामान्य बजारभाउभन्दा उनीहरूले गोलभेँडा किन्ने सम्झौता गरेका थिए। त्यो गोलभेँडा सुकाएर जापान पठाउँदै थिए। तर, एकाएक गोलभेँडाको भाउ आकासियो। किसानहरूले सम्झौता तोडे। गोलभेँडा अन्तै बेच्न थाले। उनीहरूको लगानी खेर गयो।

अर्कोचाहिँ अन्तर्राष्ट्रिय बजारमा नमुनाका रुपमा पठाएका उत्पादनबाट घाटा बेहोर्नु। बजार घुमिसकेपछि सुलोचना र समीरले निर्क्यौल गरे– सबै होइन, केही उत्पादन मात्र निर्यात गर्नुपर्छ। उनीहरू अदुवा, टिमुर, कालोमुसुरो, जुम्लाको सिमीको नमुना लिएर विदेशी बजार पुगे।

‘सुरुमा युरोपियनलाई टिम्बुर सुँघाउँदा नै भाग्थे। आज त्यही युरोपले नेपालबाट करिब ४० टन टिम्बुर किन्छ,’ समीर भन्छन्।

समीरले २०११ मा मुख्य बजार अदुवाको देखे। 

जापानमा एउटा कम्पनीले भनेको थियो, ‘तिम्रो अदुवा मेरो दहीको प्याकेटमा एक मिलिग्राम हाल्ने हो।’  

दहीको प्याकेटमा एक मिलिग्राम भनेको कति पो हो र! उनले सोधे, ‘दही कति निस्कन्छ?’

‘दिनमा १२ लाख कप,’ समीर दंग परे।

अब अदुवा १२ लाख ग्राम चाहिने भयो। दिनको १२ क्विन्टल अदुवा कसरी निर्यात गर्ने त! उनी सोच्न थाले। 

त्यो कम्पनीसँग उनको सहकार्य त भएन। यद्यपि, त्यो योजना भने उनको दिमागमा कायम थियो।

गाउँमा किसानहरूले अदुवा काटेर सुकाउँथे। तर, बेच्ने बजार थिएन। २०१२ मा समीर जर्मनी गए। एउटा कम्पनीले अदुवा किन्ने सम्झौता ग¥यो। 

अब उद्योग खोल्नु थियो। समीर र सुलोचना यही सिलसिलामा सुर्खेत पुगे। र, उनीहरूले त्यहीँ अर्गानिक माउन्टेन फ्लेवर नाम दिएर कारखाना खडा गरे। 

त्यसपछि उनीहरूले किसानलाई विभिन्न किसिमका तालिम दिए। अर्ग्यानिक उत्पादनका लागि अनुसन्धान गरे। पहिलो पटक उनीहरूले १४ टन सुकेको अदुवाको दाना विक्री गरेका थिए। 

यसरी उकालो लाग्दै गयो व्यवसाय।

‘अबको लक्ष्य भनेको वार्षिक १ सय ७० टनको हो,’ सुलोचना भन्छिन्। 

सुलोचना र समीर अनवरत लागिरहेका छन्। उनीहरूलाई आफूसँगै किसानहरूलाई टिकाउनु छ। महिला कृषकहरूलाई एकीकृत गरेर काम गरेको भन्दै नेपाल महिला चेम्बरले सुलोचनालाई प्रशंसासहित सम्मान पनि गर्यो। 

अन्य विभिन्न संस्थाहरूले पनि उनीहरूलाई सम्मान गरे। तर, सुलोचना सम्मानबाट भन्दा पनि बढी खुसी किसानबाट छन्, जसले बारम्बार उनलाई धन्यवाद दिइरहन्छन्। 
 

असोज २२, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad